३ वैशाख, तेह्रथुम । पछिल्लो समय ग्रामीण भेगका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल तीव्र बन्दै गएको छ ।
यस्तै तेह्रथुमको छथर गाउँपालिका-६, सुदापमा रहेको चाङलुङ गुफा पनि विभिन्न कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धनको केन्द्र बन्दै गएको छ ।
स्थानीय प्रदेश सरकारको लगानिमा भौतिक संरचनाहरु निमार्ण सँगै पर्यटकीय गन्तव्यको बन्दै गएको हो । विगत वर्षहरूदेखि नयाँ वर्षको अवसर पारेर यहाँ निरन्तर रूपमा आयोजना हुँदै आएका कार्यक्रमहरूको परम्परालाई यस वर्ष पनि निरन्तरता दिँदै “स्वर्गीय गोद्रिलाल स्मृति कप भलिबल प्रतियोगिता तथा बृहत् सांगीतिक कार्यक्रम २०८३” सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको महोत्सवले मनोरञ्जन मात्र नभई चाङलुङ गुफाको पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । टाढाटाढाबाट आएका दर्शक, खेलाडी तथा पर्यटकहरूको उल्लेख्य उपस्थितिले यस क्षेत्रको पर्यटन सम्भावनालाई थप उजागर गरेको छ ।
कार्यक्रममा धामी–झाँक्री नाच, केलाङ च्याब्रुङ नाच र धान नाचजस्ता मौलिक सांस्कृतिक झलकहरूले लिम्बू समुदायको जीवनशैली र परम्परागत पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए । यहाँका सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको प्रवर्द्धनमा गरिएको खर्चले किनिन्न नसकिने मौलिक संस्कृति जोगिने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको भनाइ छ ।
सांगीतिक कार्यक्रममा गायक इन्द्र सुशील चोङबाङ र गायिका निरन्ता नेम्बाङसहित स्थानीय कलाकारहरूको प्रस्तुति आकर्षणको केन्द्र बन्यो भने ‘टाट्नो गीत यात्रा’को पनि प्रस्तुति रहेको थियो ।
यसैगरी, नृत्य प्रतियोगिताले स्थानीय कला र सृजनशीलतालाई मञ्च प्रदान गर्दै सांस्कृतिक विविधताको सुन्दर प्रस्तुति गरेको देखियो । मौलिक भेषभूषासहित प्रस्तुत नृत्यहरूले दर्शकमा सांस्कृतिक अनुभूति गराएका थिए ।
चाङलुङ गुफा मेलाबजार व्यवस्थापन समितिका अध्यक्ष सन्तकुविर आंखेवाका अनुसार पर्यटन प्रवर्द्धनका निम्ति खेलकुद तथा सांस्कृतिक, सांगीतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको बताए ।
पहुँच विस्तार, पूर्वाधार विकास र दीर्घकालीन योजना कार्यान्वयन गर्न सकिएमा यो क्षेत्र पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिन्छ ।
प्रतिक्रिया 4