+
+
Shares

सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द

स्वास्थ्यकर्मीको दबाबपछि सरकार दियो दुई दिन बिदा

आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई दिन बिदा भएपछि बिरामीको चाप घटाउन आकस्मिक कक्षको क्षमता विस्तार गर्ने मन्त्रालय योजना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १९:३०

३ वैशाख, काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ ।  तर, आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले यो निर्णयमा लचकता देखाएको हो ।

मन्त्रालयका स्रोतका साताको दुई दिन बिदा गर्ने सहमति भइसकेको छ । ‘स्वास्थ्य मन्त्रालय र पेशा संगठनबीच भएको सहमतिमा शनिबार र आइतबार बिदा गर्ने सहमति भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालय  प्रेस विज्ञप्ति नै निकाल्न लागेको छ । केही समयमा औपचारिक निर्णय बाहिर आउँछ ।’

दुई दिन ओपिडी सेवा बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप विस्तार गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मी पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदाको हकदार हुनुपर्ने माग गर्दै आएको थियो । उनीहरूले बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै आन्दोलनको चेतावनीसमेत दिएका थिए ।

यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका थिए ।

मन्त्रालयको उक्त अडानविरुद्ध स्वास्थ्यकर्मीहरूले संयुक्त आन्दोलनको चेतावनी दिएपछि अन्तत: सरकारले अस्पतालहरूमा पनि दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?