३ वैशाख, काठमाडौं । रास्वपाको चुनाव अभियान क्रममा खाना खाने बेला वरिष्ठ नेता बालेन शाह अबेरसम्म सभापति रवि लामिछानेलाई पर्खने गर्थे । रवि पनि टिमले खाइसक्दा आफूचाहिँ प्रधानमन्त्रीका उम्मेदवार बालेनलाई कुरेर बस्थे ।
१२ फागुनमा इटहरीको चुनाव सभाका दिन यस्तै भएको थियो । कोशीटप्पूमा चरा हेरेर बालेन फर्कंदा रवि भोकै थिए । रास्वपा उच्च स्रोतका अनुसार भान्छाको शिष्टाचारले निर्धारण गरेको छ रवि–बालेन सम्बन्ध, जो अहिलेसम्म कायम छ ।
संसारैभरिको साझा यथार्थ हो, राजनीतिका सबै सम्बन्धहरु राजनीतिशास्त्रले भन्दा बढ्ता मनोविज्ञानले निर्धारण गर्छन् । उसोभए रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीचको सम्बन्ध कस्तो होला ? विगतमा ओली–प्रचण्ड, गिरिजा–देउवा, माधव–ओली जस्ता सम्बन्धहरुमा रुचि राख्नेहरुको लागि नयाँ जिज्ञासा थपेको छ, ताजा जनादेशले । अनि विगतका सम्बन्धहरुका गतिविधि चाहिँ कम चासोमा पर्न थालेका छन् ।
गत पुस–माघका सांगीतिक साँझहरुबाट सुरु रवि–बालेन सम्बन्धको आफ्नै कथा छ । रास्वपा एकता अभियान अघि नबढ्दा देशविकास पार्टी खोल्ने रातारात तयारी थालेका तत्कालीन काठमाडौं मेयर बालेनलाई नै प्रधानमन्त्री उम्मेदवार सकार्न जब रवि तयार भए, नेपालको राजनीतिक इतिहासमा त्यसै दिनबाट नयाँ अध्याय थपियो ।

पछिल्लो फागुनको आम चुनावमा रविले बालेनलाई अघि सारेर दुई तिहाई निकटको नतिजा दिलाए ।
सरकारले लगभग तीन सातायता गरेका कामसँग रवि सन्तुष्ट र असन्तुष्ट दुवै छैनन् । उनी पार्टी सभापतिको ‘अभिभावकीय भूमिका’ बाट सरकारी कामलाई नियालिरहेका छन् । बालेनले एकलौटी रुपमा हाँक्न खोजेको प्रारम्भिक बुझाइ भए पनि त्यसलाई उनको सर्वाधिकार नभई अग्राधिकार मानिनुपर्ने रविको बुझाई छ ।
यसको आफ्नै पृष्ठभूमि छ । उपसभामुख चुनावअघि रविले राप्रपालाई उक्त पदमा बचन दिएका थिए । संसदीय फाँटमा रविले, सरकारी फाँटमा बालेनले निर्णय अग्रसरता लिने भनिएको थियो । यस निर्णयमा भने बालेन पक्ष हाबी भएर श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरका पक्षमा लबिङ गरेपछि दुई नेताबीचको तनाव सतहमै आएको थियो । तर यसमा रविको उदारताले काम गरेपछि त्यो तुरुन्तै मत्थर भयो ।
त्यसअघि मन्त्री छान्ने क्रममा रवि कुनै पनि हालतमा डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहन्थे । तर उच्च स्रोतहरुले अनलाइनखबरसँग गरेको दाबी अनुसार नेपाली सेना समेतको रुचिमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले सुदन गुरुङलाई गृहमन्त्री बनाउन गरेको जोडबलमा बालेनको साथ मिलेपछि रवि पछि हटेका थिए ।
बालेन टिमलाई मज्जाले काम गर्न दिनुपर्ने, केही तलवितल देखिए सम्झाइबुझाइ गर्नुपर्ने रविको मत छ । सानातिना गुनासा गर्न पुग्ने केही मन्त्री र नेताहरूलाई रविले भन्ने गरेका छन्, ‘बलियो सरकार हो, प्रधानमन्त्रीलाई काम गर्न दिउँ ।’
र, प्रधानमन्त्री बालेनले आफ्ना निर्णयहरूमा सभापति रविसँग सल्लाह गर्ने गरेका छन् । खासगरी उनले रविलाई भेटमा वा फोनमा रिपोर्टिङ गर्ने गरेको उनको निकटस्थ स्रोत बताउँछ ।

‘निर्णय चाहिँ बालेनले नै गर्नुहुन्छ, तर रवि दाइसँग समझदारीमै सबै कुरा भइरहेको भनेर हामीले बुझ्नुपर्छ,’ सचिवालयका एक सदस्यले भने, ‘पार्टी रवि दाइले चलाउने, सरकार बालेनले चलाउने, संसद् डिपी अर्याल दाइले चलाउने हाम्रो समझदारी हो ।’
रविसँग विगतदेखि जोडिँदै आएका केही नेताले मन्त्री नियुक्ति, संसदीय दलका विभिन्न नियुक्ति आदिमा बालेन एकलौटी हाबी देखिएको गुनासो गर्न थालेका छन् । उनीहरुले सभापति रविलाई सरकारका कतिपय काममा निगरानी गर्न भन्न थालेका पनि छन् । तर, रविले अहिले त्यस्तो धारणा बनाउन उचित नहुने भन्दै आएका छन् ।
‘प्रधानमन्त्री नै मैले बनाएको हुँ, मन्त्रीहरु बनाउँदा पनि बालेनलाई सजिलो हुनेगरी मैले राय दिएको छु,’ रविको भनाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘विगतमा पार्टीले सरकारलाई अंकुश लगाउन खोज्दा दरार आयो, यसपल्ट त्यस्तो हुँदैन । समस्या आएछ भने त्यति बेलै कुरा गरौंला ।’
बालेन प्रधानमन्त्री भएपछि सबैजसो काम सिंहदरबारबाट गरिरहेका छन् । रविसँग उनको प्रायशः भेट कि त सिंहदरबारमा, कि त बूढानीलकण्ठस्थित रविको नयाँ निवासमा हुने गर्छ । सरकारी निवासमा बालेनले मुख्य सल्लाहकार कुमार बेनबाहेक कसैलाई भेट्दैनन् ।
‘बालुवाटार, सिंहदरबार, पार्टी कार्यालयतिर गफ गर्नुभन्दा घरमा गफ गर्नु सजिलो मान्नुहुन्छ प्रधानमन्त्रीले, त्यसैकारण रवि दाइको घरमै कुरा गर्न सहज हुन्छ,’ कुमार बेनले भने, ‘उहाँको घरमा तीनपल्ट जति भेट भएको छ । सम्बन्ध एकदम सुमधुर छ ।’
तर, रविका एक विश्वासपात्रको दाबी अनुसार बालेन चारपल्ट रवि निवास गएका छन्, रवि भने एकपल्ट पनि बालुवाटार गएका छैनन् ।
सिंहदरबारमा अनावश्यक कडिकडाउ गरिएको छ । पत्रकारले त सामान्य विरोध समेत जनाइसकेका छन् । तर सचिवालय भन्छ– सिंहदरबार स्वयं प्रधानमन्त्रीका लागि समेत जेलजस्तो हो । ‘बालुवाटार निस्कने बेला प्रधानमन्त्री भन्नुहुन्छ– ल, म हिँडे है एउटा जेलबाट अर्को जेलतिर,’ बालेन टिमले सुनायो ।
कुमार बेन उनका सर्वाधिक निकट साथी, मुख्य रणनीतिकार हुन्, जो बालेन प्रधानमन्त्री भएपछि मूख्य सल्लाहकारको अवैतनिक पदमा छन् । बेनले आफूलाई तलब, गाडी आदि सुविधा नचाहिएको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएका छन् ।
प्रधानमन्त्री बनेलगत्तै बालेनले आफ्नो रफ्तार बढाएका छन्, जसलाई रविले ‘खिल निकाल्ने वर्ष’ को उपमा दिएका छन् । केही मन्त्रीहरुले रविसँग आफ्नो मन्त्रालयका विषयमा बालेनको सचिवालय अनावश्यक रुपमा प्रवेश गरेको भन्दै असन्तोष जनाएका छन् ।

तर रविले त्यसलाई सामान्य रुपमा लिनुपर्ने भन्दै सम्झाएको केही मन्त्रीले अनौपचारिक कुराकानीमा अनलाइनखबरसँग भने ।
‘परराष्ट्र र अर्थ मन्त्रालयबाहेक सबै मन्त्रालयमा प्रधानमन्त्रीको सचिवालयको सिधा हस्तक्षेप हुन्छ, मन्त्रीले आफ्नो निर्णय गर्न सक्ने अवस्थै छैन,’ एक मन्त्रीले गुनासो पोखे, ‘जनताले निर्वाचित गराएका मन्त्रीहरुलाई अनिर्वाचित टिमले चलाउने कुरा सही भएन ।’
तर बालेन सचिवालयको बुझाईमा पछिल्लो मतादेश नै बालेनका प्रतिज्ञाहरुका लागि आएकाले उनको सोच अनुसार सबै मन्त्रालय र राज्यका सबै अंगहरुले सघाउनुपर्ने छ । ‘हामीलाई थाहै छ नि, धेरैजसो मन्त्रीहरुको छुट्टै व्यक्तित्व र कार्यक्षमता निर्माण भइसकेको छैन, अहिले हामी सबै बालेन हो । हामी एक हो, हामी अलग–अलग होइन ।’
अर्का एक मन्त्रीले भने प्रधानमन्त्री कार्यालयले सोध्नु सामान्य भएको भन्दै आफूले उल्टै काम सघाउन सजिलो होस् भनेर प्रमुख स्वकीय सचिव नै प्रधानमन्त्री कार्यालयसँग मागेको अनुभव सुनाए ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीका स्वकीय सचिवलाई बुधबार सिंहदरबारमा छुट्टै बैठक राखेर कसरी काम गर्ने भन्ने अभिमुखीकरण दियो । बालेनले समानुपातिक सांसदहरुसँग छलफल चलाउँदैगर्दा यता उनको टिमका केही सदस्यहरुले मन्त्रीका स्वकीयहरुलाई कार्यदक्षता बढाउने उपाय सिकाउँदै थिए ।
यसअघिका प्रधानमन्त्रीलाई सिधै सांसदहरुले, नेता कार्यकर्ताले भेट्दै आएकामा बालेनले यो प्रचलन बदलेका छन् । उनले पार्टीसम्बन्धी कुनै विषय भए रविसँग कुरा गर्छन् । संसदीय दलसम्बन्धी विषयमा यसअघि उपसभापतिहरु स्वर्णिम वाग्ले र डिपी अर्यालसँग कुरा गर्थे । यसबीचमा वाग्ले अर्थमन्त्री, अनि डिपी सभामुख बनेका छन् । अब बालेनसँग संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकहरु क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले समन्वय गर्नुपर्ने छ ।
‘उहाँले पार्टीका विषयमा रवि दाइबाहेक अरुसँग कुरा गर्नुहुन्न, सांसदहरुलाई भेट्नुपर्ने आवश्यकता अहिले छैन, बरु कुनै पनि विधेयक, गुनासो, ध्यानाकर्षण कहाँ पुगेको छ भनेर डिजिटल्ली एक्सेस गर्ने, प्रधानमन्त्री आफैंले डिजिटल मनिटरिङ गर्ने क्रम छ,’ सचिवालयका सदस्यले भने ।
श्रममन्त्री दीपक साहलाई बर्खास्त गर्ने निर्णयमा पनि बालेनको सचिवालय नै हाबी भएको गुनासो पार्टीभित्रैबाट आएको थियो । तर बालेनका मुख्य सल्लाहकार कुमार बेनले आएका उजुरी उपर सुरुमा सामान्य रुपमै अध्ययन चले पनि विषय गम्भीर रहेका कारण सिसिटिभी फुटेजसमेत अध्ययन भएको, त्यसपछि बर्खास्त गर्ने निर्णयमा पुगेको स्वीकार गरे ।
‘सुशासनको अभियानमा कतै पनि ब्रेक नलागोस् भन्ने चाहना हो, उच्च पदमा बसेका व्यक्तिहरुले सही जवाफ दिनुपर्छ, झुट बोल्नुहुँदैन,’ बेनले भने, ‘हामीले कुनै पनि मन्त्री वा उच्च पदमा बसेको व्यक्तिबाट त्यो पारदर्शिता अपेक्षा गरेका छौं । श्रममन्त्रीको बर्खास्ती त्यसै मान्यताको कार्यान्वयनमात्रै हो ।’
प्रतिक्रिया 4