News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले तीन दशकपछि आशा गर्न लायक सरकार पाएको छ र जनस्वास्थ्यलाई सबैभन्दा ठूलो प्राथमिकता दिनुपर्ने बताइएको छ।
- गर्भवती महिलाको स्वास्थ्य सुधारका लागि मिडवाइफ प्रोग्राम सञ्चालन गरी आवश्यक सल्लाह र उपचार व्यवस्था गर्नुपर्ने उल्लेख छ।
- प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग रोकथाम केन्द्र स्थापना गरी रोग रोकथाम र आकस्मिक सेवा सुनिश्चित गर्नुपर्ने सुझाव दिइएको छ।
तीन दशकभन्दा लामो नैराश्यपछि नेपालले आशा गर्न लायक सरकार पाएको छ । सरकारका प्राथमिकताका विषय धेरै हुनसक्छन् तैपनि सबैभन्दा ठूलो प्राथमिकताको विषयमध्ये जनस्वास्थ्य र स्वास्थ्य प्रणाली रहोस् भन्ने कामना गर्दछु ।
धेरै समय हामी नेपाली धनी र गरिबको छलफलमा व्यस्त रह्यौं । वास्तवमै धनी बन्नुको अर्थ के हो ? अगाडि भए–गरेका छलफलहरूमा धेरैजसो बाटोघाटो बन्नु, बिजुली बत्ती आउनु जस्ता कुराहरूलाई हामी समृद्ध भएको अथवा धनी, विकसित भएको मान्दै आइरहेका छौं । सामान्यतया धनी राष्ट्रहरू भन्नाले विकसित राष्ट्रहरूको उदाहरण दिने गर्दछौं । तर ती देशहरूको प्रणालीलाई अवलोकन गर्ने हो भने देशको भौतिक बनावट, सेवा–सुविधा, बाटोघाटो भन्दा पनि शिक्षा, स्वास्थ्य र सामाजिक प्रणाली कस्तो छ भन्ने कुराले देश धनी छ कि गरिब भन्ने दर्साउँछ ।
यी तीनैवटा प्रणाली एकअर्काका परिपूरक हुन् । जबसम्म शिक्षा प्रणाली राम्रो हुँदैन, राम्रो शिक्षा प्राप्त गर्न सकिंदैन । शिक्षा जति राम्रो छ त्यही आधारमा नागरिकले आत्मनिर्भर बन्न सक्ने क्षमता प्राप्त गर्छ भने आफ्नो स्वास्थ्यको लागि पनि चेतना वृद्धि गर्ने काम गर्छ । सामाजिक सुरक्षा प्रणाली भन्नाले हामीले समाजमा निर्धक्क भएर स्वतन्त्र र सम्मानित रूपमा जिउने अधिकारको ग्यारेन्टी गर्न सक्नु र आवश्यक परेको बेला सरकारले आर्थिक, भौतिक तथा मनोवैज्ञानिक सहयोग गर्न सकौं भन्ने बुझ्नुपर्छ । जस्तो रोजगारी सृजना गरिदिनु, अपाङ्ग तथा अनाथ र काम गर्न नसक्ने व्यक्तिहरूलाई सरकारले आवश्यक आर्थिक सहयोग गर्नु जस्ता कुराहरू सामाजिक प्रणालीभित्र पर्ने गर्दछन् ।
अघिल्ला अनुसन्धानहरूले सामाजिक प्रणालीको न्यून स्तर र सामाजिक असुरक्षाका कारण मानिसको मानसिक तथा शारीरिक स्वास्थ्य कमजोर हुने गर्दछ । आर्थिक अवस्था कमजोर भएर यहाँ काम नपाएर बेरोजगारी भएकै कारण धेरैलाई डिप्रेसन हुने र आत्महत्या गर्ने गरेको कुराहरू हामीले सुनिरहेका हुन्छौं ।
दीर्घकालीन सोच किन ?
गएका दुई दशकभित्र डिजिटल क्षेत्रमा भएको प्रविधि विकास, विशेषगरी जेनेरेटिभ एआईले ल्याएको चमत्कारका कारण अबको ३०–४० वर्षमा हुनसक्ने परिवर्तनलाई औंल्याउँदै र त्यसले जनस्वास्थ्यमा पार्न सक्ने प्रभावलाई विचार गरी अहिलेदेखि नै नागरिकहरूलाई स्वस्थ राख्न सक्ने समाज र देशको परिकल्पना गर्न आवश्यक देखिन्छ । विशेषगरी नसर्ने रोगहरूको बढ्दो प्रकोप, न्यून शारीरिक व्यायाम र अभ्यासका साथै अस्वस्थ खानपिनको कारणले र असन्तुलित जीवनशैलीको क्रियाकलापले गर्दा अहिले पश्चिमी मुलुकहरूमा भए जस्तै नेपालमा बढिरहेको मुटु तथा मधुमेह जस्ता रोगहरूको कारणले गर्दा अहिले नै मानिसहरूलाई धेरै अस्वस्थ र दीर्घरोगीको साथै मृत्यु भइरहेको अवस्थामा भविष्यमा यो अवस्था झनै विकराल हुने देखिन्छ ।
चिन्ताको विषय आज स–साना बालबालिका समेतको जीवनशैली परिवर्तन भएको देखिन्छ । सरकारले अहिले बिरामी भएका मान्छेहरूको उपचार कसरी गराउने भन्ने सोच्नुको साथै आउने जेनेरेसनको स्वास्थ्य स्थिति कस्तो हुन सक्छ भनेर रोगको रोगथाम र स्वास्थ्य प्रवर्द्धन गर्नको लागि दीर्घकालीन कार्यतालिका प्रस्तुत गर्नुपर्ने देखिन्छ नै ।
जनस्वास्थ्य प्रवर्द्धन कति आवश्यक छ ? के के कदमहरू हुन सक्छन् ?
गर्भवती महिलाको लागि स्वास्थ्य प्रवर्द्धन योजना
एउटा स्वस्थ बालक जन्माउनको लागि स्वस्थ महिला र स्वस्थ गर्भ हुन आवश्यक छ । नेपालमा हेर्दा, महिलाको स्वास्थ्यको लागि, विशेष गरेर गर्भवती भएको बेलादेखि बच्चा जन्माउने बेलासम्मको हेरविचारमा त्यति धेरै ध्यान नपुगेको देखिन्छ । पुराना संस्कृति, रीतिरिवाज, भए–नभएका अनेकन् अवैज्ञानिक अन्धविश्वासको कारणले पनि महिलाहरूको गर्भदेखि बच्चा जन्मने बेलासम्म विभिन्न समस्या निम्त्याउने गरेको पाइन्छ । त्यसैले महिलाहरू गर्भवती हुने बित्तिकै नजिकै स्वास्थ्य चौकीमा प्राथमिक उपचार केन्द्रमा उनीहरूको स्वास्थ्य जाँच गर्ने र गर्भवती अवस्थामा अपनाउनुपर्ने स्वास्थ्य प्रवर्धनका विषयहरूको बारेमा स्वास्थ्यकर्मीहरूले उनीहरूलाई शिक्षादीक्षा दिने र आवश्यक परेको बेलामा उपचारको पनि व्यवस्था गर्ने गरेमा महिला र गर्भमा रहेको बालक बच्चा पनि स्वस्थ रहने र स्वस्थ जन्मिन सक्ने स्थिति हुन्छ ।
सरकारले प्राथमिक उपचार केन्द्रमा एक जना मिडवाइफ रहनै पर्ने व्यवस्था राख्न जरूरी देखिन्छ । त्यही भएर देशैभरिका विश्वविद्यालयबाट मिडवाइफ प्रोग्राम सञ्चालन गरी प्रशस्त मात्रामा उत्पादन गर्न जरूरी छ । महिलाहरूलाई गर्भवती रहुन्जेल सल्लाह प्रदान गर्ने र बालबालिका जन्मिइसकेपछिदेखि २–३ वर्षसम्मको नहँुदासम्म मिडवाइवसहरूले स्वास्थ्य जाँच र स्वास्थ्य सल्लाह प्रदान गर्न सक्नेछन् । विशेषत: कुपोषण लगायत सानो छँदा संक्रमित पार्ने इन्फेक्सनहरूबाट बालबालिकालाई जोगाउन र सही पोषणयुक्त र भिटामिनयुक्त खानपिनबाट रोग प्रतिरोधात्मक शक्ति बढाउने माध्यम मिडवाइफहरू बन्न सक्छन् ।
बालबालिकाको खेल्ने, शारीरिक व्यायाम तथा सही जीवनशैली सुनिश्चित गर्ने
बालबालिकाको क्षमता वृद्धि गर्ने मुख्य माध्यम खेल हो । बालबालिकाको खेल खेल्न पाउने अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व हो । आजभोलि बालबालिकाहरू सानो उमेरदेखि नै घरभित्रको वातावरणमा बस्न या प्रदूषित हावापानीमा रहन र सानै उमेरदेखि स्कूल पढ्न बाध्य पारिनुले उनीहरूको खेल्ने नैसर्गिक अधिकार र खेलेर सिक्ने अधिकारबाट वञ्चित छन् । बालबालिका विद्यालय पठाउने उमेर ६ वर्ष तोकिनुपर्छ जुन अन्तर्राष्ट्रिय बालअधिकारको मापदण्डभित्र पर्दछ र किन्डरगार्डेनमा बालबालिकाले खेलेर मात्र सिक्ने र गृहकार्य दिन नपाइने अभ्यास लागू गर्न आवश्यक देखिन्छ ।
बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य तथा बौद्धिक विकासमा खेलको महत्वपूर्ण भूमिका रहन्छ त्यही भएर हरेक वडा र गाउँमा २–४ वटा खुला खेल्ने पार्क तयार गरी बालबालिकाले नि:शुल्क खेल्न मिल्ने खेलपार्क बनाइन आवश्यक छ । गाउँ–गाउँ, वडा–वडामा खुला फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट जस्ता खेलमैदान निर्माण गरी सबै बालबालिका र युवा वर्गलाई खेलमा आकर्षित गरी एक्टिभ जीवनशैली अपनाउन प्रोत्साहन गर्नुपर्दछ ।
विद्यालयको पाठ्यक्रममै शारीरिक शिक्षा (अभ्यास) कक्षा १ देखि नै व्यवस्थित खेलहरू समेटी हरेक दिन शारीरिक अभ्यासलाई समय छुट्याउन आवश्यक देखिन्छ । अनुसन्धानले शारीरिक व्यायाम गर्ने र खेलकुदमा बढी लाग्ने विद्यार्थीको स्वास्थ्य मात्र नभई पढाइमा पनि राम्रो हुने पाइएको छ । स्वास्थ्य शिक्षा पनि कक्षा ३ देखि नै अध्यापन गर्न सुरुआत गरे बालबालिकाको लागि सकारात्मक प्रभाव पर्ने देखिन्छ । विद्यालयमा खेलपार्क र विभिन्न खेलको खेलमैदान अनिवार्य गरिन आवश्यक छ ।
हरेक विद्यालयमा विशेषज्ञ तालिम या शैक्षिकस्तर पाएका नर्सहरू राख्ने प्रावधान अनिवार्य गरिनुपर्दछ ।
जीवनशैलीमा परिवर्तन हुन अति आवश्यक
बालबालिकाहरू अभिभावक र समाजका अन्य मानिसहरूको क्रियाकलापदेखि प्रभावित हुने गर्दछन् । अनुसन्धानले के देखाएको छ भने; अभिभावक या अन्य समाजका मानिसहरू मादकपदार्थ या लागूपदार्थ सेवनतिर लागेका छन् भने धेरै बालबालिका त्यस्तै दुर्व्यसनतिर लाग्ने डर हुन्छ । यो कुरा खेलकुद, अभ्यास, व्यायाम र खानेकुरामा पनि लागू हुन्छ । अत: अभिभावक र अन्य व्यक्तिको जीवनशैली उदाहरणीय हुन आवश्यक छ ।
अहिले धेरै जनमानसमा कम शारीरिक व्यायाम गर्ने र अति धेरै क्यालोरी भएको जङ्कफुड र चिनीजन्य पदार्थ अत्यधिक सेवन गर्नुले मुटु (उच्च रक्तचाप, हर्ट अट्याक, स्ट्रोक) र मधुमेह जस्ता रोगहरूले धेरैको अकालमा मृत्यु भइरहेको र नसर्ने रोगको चपेटाले देशभरि नै भयावह स्थिति देखिरहेको छ भने यो क्रम तुरुन्तै बन्द नगरे भयावह स्थिति आउने देखिन्छ । शारीरिक व्यायाम बढाउन सुरक्षित पैदल मार्ग, साइकल मार्ग निर्माण गर्नुको साथै साइकल किन्ने कुरामा, शहरी क्षेत्रमा जिम जान, छुटको व्यवस्था गर्ने जस्ता प्रोत्साहित प्रोग्राम ल्याउन आवश्यक देखिन्छ ।
गाउँघरमा उत्पादन गरिने मादक पदार्थलाई व्यवसायीकरण गरी नियन्त्रित र व्यवसायिक उत्पदनशीलतालाई जोड दिन आवश्यक छ । मादक पदार्थ सेवन, धूम्रपान तथा लागूऔषधको बारेमा र स्वास्थ्य–शिक्षा स्तर बढाउन अनौपचारिक शिक्षाको व्यवस्था गर्न आवश्यक देखिन्छ ।
बालबालिका सानै उमेरदेखि जंकफुड, अत्यधिक चिनीयुक्त पदार्थ जस्तो– कोक, फ्यान्टा, गुलियो पदार्थ आदिको सेवनमा बानी परेको देखिन्छ । यो कार्य रोक्न यस्ता पेयपदार्थ र गुलिया पदार्थमा धेरै कर लगाउने प्रणाली लागू गर्न आवश्यक देखिन्छ । जुन कुराहरू स्वास्थ्यको लागि हानिकारक छ ती कुराहरूमा त्यति नै बढी कर लगाए बिक्री–वितरणमा कमि आउने सम्भावना हुन्छ ।
त्यस्तै मादकपदार्थ, खैनी, बिंडी चुरोटमा १८ वर्ष मुनिका बालबालिकालाई किन्न र सेवन गर्न पूर्ण निषेध गरी बिक्री–वितरणमा सरकारी नियन्त्रण हुन आवश्यक देखिन्छ । त्यसको लागि जुनसुकै पसलबाट पनि बिक्री–वितरण गर्न नपाइने र लाइसेन्स प्राप्त डिलरबाट मात्र नियन्त्रित बिक्री–वितरण शुरु गर्नुपर्दछ । बालबालिकालाई शारीरिक अभ्यास र व्यायामको लागि प्रेरित गर्ने वातावरण निर्माण गर्न आवश्यक देखिन्छ ।
नसर्ने रोगहरूको रोकथाम प्राथमिक उपचार केन्द्रहरूमा र इमर्जेन्सी सर्भिस हरेक पालिकाभित्र सम्भव हुन आवश्यक
अहिले बढिरहेका प्राय:जसो धेरै नसर्ने मुटु, फोक्सो, मधुमेह, क्यान्सर जस्ता रोगहरूको रोकथाम गर्नको लागि हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग रोकथाम केन्द्रहरू स्थापित गर्न सक्नुपर्दछ । यस्ता केन्द्रहरूले स्वस्थ रहेका अथवा केही रिस्क भएका र रोग सुरुआत भइसकेका तीनवटै समूहका मानिसहरूलाई आवश्यक स्वास्थ्य सल्लाह, व्यायाम तथा जीवनशैली सुधार आदि विषयमा काम गर्न सक्नेछ । जसले भविष्यमा माथि उल्लिखित रोगहरू कम पार्न मद्दत गर्ने देखिन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको आकस्मिक सेवाका विषयहरू हुन् । जसमा सडक तथा अन्य दुर्घटनाका कुरा लगायत सुत्केरी हुने र मुटु रोकिएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने अवस्थाका कुराहरू पर्दछन् । हरेक अस्पतालमा यस्ता आकस्मिक सेवाको पूर्ण ग्यारेन्टी हुनुपर्दछ ताकि मानिसहरू लामो यात्रा गरेर काठमाडौं नै आउनुपर्ने बाध्यताबाट बच्नुको साथै अकालमा जीवन गुमाउनबाट जोगिने छन् ।
हरेक जिल्लामा (७७ जिल्लामै) राष्ट्रियस्तरको सम्पूर्ण विशेषज्ञताले भरिएको कम्तीमा एउटा अस्पताल हुनै पर्ने अवस्था देखिन्छ । यदि सरकारले यो ग्यारेन्टी गर्न सकेन भने फेरि पहिलेकै अवस्थामा देश फर्किने अवस्था आइपर्न सक्छ अर्थात् फेरि सबै मानिस काठमाडौं उपचारमा जानुपर्ने बाध्यता नहोस् ।
सुरक्षित सडक निर्माण, चालकहरूको लागि विशेष तालिम अनि सुरक्षित सवारी साधन प्रयोग गर्न नयाँ सडक सुरक्षा संरचना खडा गर्न त्यतिकै आवश्यक देखिन्छ ।
वातावरणीय स्वास्थ्य
अन्त्यमा सबैभन्दा महत्वपूर्ण विषयलाई सरकारले महत्वपूर्ण प्राथमिकतामा राख्न जरूरी छ । वातावरण प्रदूषण रोकी, हरेक गाउँ र शहरलाई सफा, स्वच्छ र प्रदूषणरहित बनाउन सरकारले विशेष ध्यान पुर्याउन आवश्यक देखिन्छ । यसको लागि रिसाइक्लिङ कम्पनीहरू खोली धेरै जस्तो प्लास्टिक, कागज अनि सिसाको सहित रिसाइक्लिङ गर्ने व्यवस्था र हरियाली गाउँ र शहर निर्माण, पार्क निर्माणमा जोड दिन सके प्रदूषणले निम्त्याउन सक्ने रोगहरूको नियन्त्रण गर्न र वातावरणीय स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्नेछ ।
(प्रा.डा. थापा, स्वीडेनस्थित दुई विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता हुन् । उनी नेपालस्थित निरी नेपाल भन्ने अनुसन्धानात्मक संस्थाका बोर्ड मेम्बर र युरोपस्थित सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपका उपाध्यक्ष हुन् ।)
प्रतिक्रिया 4