News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय टेलिभिजन नेटवर्क र अनलाइनखबर डटकमको समूह सम्पादकमा पत्रकार उमेश चौहान नियुक्त भएका छन्।
- समूह सम्पादक चौहानले दुवै संस्थाको साझा सम्पादकीय रणनीति तयार गर्ने र न्यूजरुमबीच समन्वय स्थापित गर्ने जिम्मेवारी पाएका छन्।
- समूहका अध्यक्ष धर्मराज भुसालले 'न्यूजरुम कन्भर्जेन्स' मोडल अँगाल्दै दुवै संस्थाले एउटै सम्पादकीय दिशामा काम गर्ने निर्णय गरेको बताए।
४ वैशाख, काठमाडौं । नेपालको अग्रणी सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क र अनलाइनखबर डटकमको समूह सम्पादकमा पत्रकार उमेश चौहान नियुक्त भएका छन् । यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल अँगाल्दै समूह संरचनामा अघि बढ्ने निर्णय गरेका छन् ।
दुवै संस्थाको सञ्चालक समितिको संयुक्त बैठकले चौहानलाई समूहको सम्पादकीय रणनीति निर्माण र कार्यान्वयनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । समूह सम्पादकका रूपमा चौहानले दुवै संस्थाको साझा सम्पादकीय रणनीति तयार गर्ने, न्यूजरुमबीच समन्वय स्थापित गर्ने, सहकार्य सुदृढ बनाउने तथा कन्टेन्ट इकोसिस्टमलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन् ।
समूहका अध्यक्ष धर्मराज भुसाल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसाल, अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेत र हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीसहित समग्र न्यूजरुमले चौहानलाई शुक्रबार स्वागत गरेका छन् ।
करिब अढाई दशकदेखि पत्रकारितामा सक्रिय चौहान छापा र दृश्य दुवै माध्यममा दख्खल राख्ने सञ्चारकर्मी हुन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका चौहानले यसअघि ‘नयाँ पत्रिका दैनिक’ मा सम्पादक र ‘कान्तिपुर दैनिक’ मा प्रधान सम्पादकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

समूहका अध्यक्ष भुसालले हिमालय टेलिभिजन र अनलाइनखबरले ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल अँगाल्दै एकअर्कासँग योजना, सामग्री र प्रस्तुति साझा गरेर एउटै सम्पादकीय दिशामा काम गर्ने निर्णय गरेको बताए । ‘दुवै संस्थाबीचको यो रणनीतिक सम्पादकीय सहकार्यबाट गुणस्तरीय कन्टेन्ट उत्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यले हामीले यो पहल लिएका हौं’, उनले प्रष्ट्याए, ‘त्यसका लागि चौहानको बृहद् अनुभवले दुवै संस्थाको उत्पादनशीलता र सिर्जनशीलता बढाउने, समयसापेक्ष नयाँ न्यूज प्रोडक्ट विकास गर्ने र डिजिटल भविष्यलाई अझ सुदृढ बनाउनेछ भन्नेमा हामी विश्वस्त छौं ।’
चौहानले समाचारको विषयवस्तु र प्रस्तुतिमा रूपान्तरण ल्याउने अवधारणामा समूहले प्रारम्भिक तयारी गरिसकेको र त्यससम्बन्धी योजना समय र सन्दर्भअनुसार सार्वजनिक गर्दै जाने बताए । उनले भने, ‘न्यूजरुम आफैँमा समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, खासमा सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ हो । पत्रकारिताको प्रभावकारिता नागरिक मुद्दाले मात्र होइन, प्रस्तुति र प्लेटफर्मले पनि निर्धारण गर्छ । विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय हाम्रो लागि महत्वपूर्ण उपक्रम हो, र यसलाई हामी सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं ।’


प्रतिक्रिया 4