News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन्।
- पुरातत्व विभागले उत्खनन् गर्दा कलात्मक शीला, मूर्ति, शिखरका अर्धभाग, ढुङ्गेधारा र सिंह आकृतिका पत्थरका अवयवहरू भेटिएको छ।
- उकु महल क्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटन विकासका लागि महत्वपूर्ण रहेको र विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने योजना अघि बढाइएको छ।
६, वैशाख, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा मन्दिरसम्बन्धी अवशेषहरू भेटिएका हुन् ।
वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उकु क्षेत्रमा उत्खनन् गरिरहेको छ । पुरातत्व अधिकृत हरिप्रसाद भुसालका अनुसार उत्खनन्का क्रममा ठूलो संख्यामा कलात्मक शीला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्धभाग, ढुङ्गेधारा, बसाहा तथा सिंह आकृतिका पत्थरका अवयवहरू फेला परेका हुन् ।
मध्ययुगीन समयमा निर्माण भएका शिव मन्दिर जस्ता संरचनाका अवशेष प्रशस्त मात्रामा भेटिएको भुसालले बताए । उनका अनुसार उत्खनन्बाट प्राप्त संरचनाको स्वरूप हेर्दा यो क्षेत्र राजा बस्ने महलभन्दा पनि मन्दिर भएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ ।
‘यहाँ शिखर वास्तुशैलीका जग र ढुङ्गा भेटिएका छन् । त्यसैले यो क्षेत्र मन्दिर परिसर हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेका छौँ,’ उनले भने । पिपलबोट क्षेत्र आसपास उत्खनन् गर्दा मन्दिरको जग भेटिएको र महल वा मन्दिर भन्ने विषयमा थप अध्ययन जारी रहेको उनको भनाइ छ । उत्खनन्पछि ढुङ्गाहरू नापजाँच गरी नम्बरिङ गर्ने काम भइरहेको छ ।

उत्खनन्का क्रममा भेटिएका केही महत्वपूर्ण मूर्तिहरू काठमाडौंस्थित छाउनी संग्रहालयमा संरक्षणका लागि लैजाने तयारी भइरहेको पुरातत्व विभागले जनाएको छ । ‘विश्वभरिका पर्यटकहरू संग्रहालय अवलोकन गर्न आउने भएकाले यहाँ भेटिएका उत्कृष्ट मूर्तिहरूको प्रचारप्रसारमा सहयोग पुग्नेछ,’ भुसालले भने ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष थप मूर्तिहरू फेला परेका छन् । उत्खनन्स्थलमा शीलालेख अंकित चट्टानहरू समेत देखिएका छन् । ढुङ्गा कुँदेर बनाइएका आकर्षक मूर्ति तथा संरचनात्मक अवशेषहरू भेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
मालिकार्जुन गाउँपालिका–६ का वडाध्यक्ष गोकर्णसिंह धामीले उत्खनन् कार्य सकारात्मक भए पनि पर्याप्त बजेटको अभाव रहेको बताए । ‘एक महिनाको छोटो उत्खनन्ले मात्रै यसको पुनर्निर्माण सम्भव छैन । निरन्तर अध्ययन र पर्याप्त बजेट आवश्यक छ,’ उनले भने ।
धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उकु महल क्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटन विकासका लागि महत्वपूर्ण रहेको बताए ।
‘पर्याप्त बजेट विनियोजन गरी संरचनागत विकास गर्न सके यस क्षेत्रको ऐतिहासिक महत्व अझ उजागर गर्न सकिन्छ,’ उनले भने, ‘अध्ययन, अनुसन्धान र संरक्षणको कार्यमा राज्यले लगानी बढाउनुपर्छ ।’
गाउँपालिका अध्यक्ष हिरासिंह धामीका अनुसार गाउँपालिकाको समन्वयमा पुरातत्व विभागले पछिल्लो दुई वर्षदेखि निरन्तर उत्खनन् तथा अनुसन्धान गरिरहेको छ ।

क्षेत्रलाई दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उनले बताए ।
उनका अनुसार यस क्षेत्रको पुनर्निर्माण गरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य सहित काम भइरहेको छ । यसको इतिहास शैल्यमालिकार्जुनसँग जोडिएको भन्दै पुनर्निर्माणपछि यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बढ्ने उनको भनाइ छ ।
के हो उकु महलको इतिहास ?
उकु महल र उकु क्षेत्र मध्यकालीन कत्युरी राजाहरूको राजधानीको रूपमा वैभवको केन्द्र थियो भन्ने एक प्रमाण उकु महलको भग्नावशेषलाई लिन सकिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरूले अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।
उकु महलको भग्नावशेषस्थलमा विभिन्न शीलालेखका चट्टानहरू रहेका छन् । मध्यकालीन कत्युरी राजाहरूको राजधानी रहेको उकुमा कत्युरी राजाहरूले नै महल निर्माण गरेको इतिहासका जानकार बताउँछन् । सर्वप्रथम रजवार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास इतिहासकारहरूको भनाइ छ ।
इतिहासका जानकारहरूका अनुसार नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति तथा शीलालेखहरू जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शीलालेखहरू हेर्दा दरबार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइ पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहासमा उल्लेख गरिएको छ ।
उकु ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका मजबुत किल्ला, ढुगांमा कुँदिएका भगवानका मूर्ति, विभिन्न आकृतिका ढुगांहरूबाट प्रष्ट हुन्छ ।

दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरूले पुष्टि गरेको छ । उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभय पालले वरपरका विभिन्न अस्सी कोटको एकीकरण गरेर अस्कोट नामकरण गरेको इतिहासमा उल्लेख छ ।
निरै पालको ऐतिहासिक अभिलेख डोटी, डडेल्धुरा, पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेखअनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरै पाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर इतिहासका जानकारहरू बताउँछन् ।
यी सबै ऐतिहासिक काल क्रमहरू समान देखिएकोले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरू बताउँछन् । निरै पाललाई उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाउँहरूमा पाइएका ऐतिहासिक अभिलेखहरूले निरै पाल शक्तिशाली राजा भएको संकेत गर्छ ।

उकुको इतिहाससम्बन्धी एउटा लेखअनुसार उकु कोटको खण्डहरूमा रहेको हरिहर मन्दिर नाग पालका तीन जना रानीले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । डोटीको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो ।
नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकालमा बनेको अनुमान गर्न सकिन्छ । मन्दिर स्थापनाको स्पष्ट तिथि मिति भने भेटिएको भने छैन ।
तर, पाल वंशको भारतीय शोधकर्ताहरूले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेको उल्लेख गरेका छन् । यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ । आचार्य शिवप्रसाद डवरालको ‘उत्तराखण्डका इतिहास’ भन्ने पुस्तकमा १०८० देखि १०९० ईसा पूर्वमा उकुको दरबार निर्माण भएको उल्लेख छ ।
१६औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरू देखिन्छन् । अहिले भग्नावशेष महलको उत्खनन् र खोजी नीति अनुसन्धानमै भइरहेको हँुदा यसको अन्तिम निचोड के आउँछ समयक्रममा पुष्टि हुँदै जानेछ ।
प्रतिक्रिया 4