+
+
Shares
टिप्पणी :

प्रधानमन्त्री बालेनले काठमाडौं मोडल देशभर लागू गर्लान् ?

नयाँ नेपालको बहस कुनै व्यक्तिको लोकप्रियतामा मात्र टिक्ने विषय होइन। यो एक समग्र रूपान्तरणको प्रक्रिया हो, जसका लागि बहुआयामिक सुधार आवश्यक पर्छ। निम्न प्रमुख आधारहरूलाई प्राथमिकतामा राख्न सकेमा बालेन सरकार सफलतातर्फ अघि बढ्न सक्छ ।

सरोज बानियाँ सरोज बानियाँ
२०८३ वैशाख ७ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन्द्र शाहको मेयर पदको विजयले स्थापित राजनीतिक सिन्डिकेट विरुद्ध बलियो विद्रोहको रूपमा नयाँ दिशातर्फ देशलाई लम्काएको छ।
  • उनले काठमाडौंमा फुटपाथ व्यवस्थापन, डिजिटल हाजिरी प्रणाली र जनमुखी छात्रवृत्ति वितरण जस्ता सुधारका कदम चालेका छन्।
  • नयाँ नेपाल तब मात्र सम्भव हुन्छ जब नेतृत्वले बलियो संस्थागत संरचना निर्माण गर्न सक्छ; जहाँ नियम, पारदर्शिता र जवाफदेहिता व्यक्तिभन्दा माथि हुन्छ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले देश नयाँ दिशातर्फ लम्कियो। दशकौंदेखि एउटै अनुहार र एउटै कार्यशैली देखिरहेका जनताका लागि बालेन्द्र (बालेन) शाहको उदय केवल एक मेयरको चुनावी विजयी मात्र थिएन, स्थापित राजनीतिक सिन्डिकेट विरुद्धको एउटा बलियो विद्रोह थियो। तर के बालेनको यो लोकप्रियताले वास्तवमै नयाँ नेपालको खाका कोर्न सक्छ ?

काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेपछि बालेनले चालेका कतिपय कदमहरू शुरुमा विवादास्पद जस्तो देखिए पनि दीर्घकालीन दृष्टिले प्रणाली सुधारतर्फ उन्मुख थियो। फुटपाथ व्यवस्थापन, टुकुचा खोलाको उत्खनन, सरकारी कार्यालयमा डिजिटल हाजिरी प्रणालीको सुरुआत, शिक्षा क्षेत्रमा सुधारका पहल र जनमुखी छात्रवृत्ति वितरण आदिले राजनीतिक इच्छाशक्ति भए परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ। जनताले बालेनसँग ठूलो अपेक्षा गर्नुको एउटा कारण त्यही हो।

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद गर्ने शैलीले उनीप्रति युवा पुस्ताको आकर्षण झन् बढाएको छ। पारदर्शी, जवाफदेही र परिणाममुखी निर्णय गर्ने विशेषताले नै बालेनलाई ‘सिस्टम ब्रेकर’को रूपमा स्थापित गरेको हो। जुन पुराना राजनैतिक दलबाट सम्भव थिएन र भएन पनि।

प्रश्न यहींबाट उब्जिन्छ, के काठमाडौंमा सफल देखिएको यो मोडेल सिङ्गो देशमा लागू गर्न सक्लान् ? स्थानीय सरकार र संघीय सरकार शासन बीचको जटिलता फरक छ।

नयाँ नेपालको बहस कुनै व्यक्तिको लोकप्रियतामा मात्र टिक्ने विषय होइन। यो एक समग्र रूपान्तरणको प्रक्रिया हो, जसका लागि बहुआयामिक सुधार आवश्यक पर्छ। निम्न प्रमुख आधारहरूलाई प्राथमिकतामा राख्न सकेमा बालेन सरकार सफलतातर्फ अघि बढ्न सक्छ।

सुशासन र प्रविधिः डिजिटल गभर्नेन्सको विस्तारले सेवामा पारदर्शिता ल्याउन सक्छ। बिचौलिया संस्कृतिको अन्त्य गर्दै, नागरिकले सिधा र छिटो सेवा पाउने वातावरण बनाउनु आजको आवश्यकता हो। यो गर्न सक्नु भनेको नै बालेन सरकार नतिजातर्फ उन्मुख हुनु हो।

प्रश्न केवल बालेन्द्र शाहले सक्छन् कि सक्दैनन् भन्ने होइन। प्रश्न हो, के हामी नागरिक अनुशासन, इमानदारी र जिम्मेवारी सहित नयाँ प्रणाली स्वीकार गर्न तयार छौं ? यदि नेतृत्वको दूरदृष्टि र नागरिकको प्रतिबद्धता एकसाथ अघि बढे भने नयाँ नेपाल केवल एउटा सपना मात्र होइन एक यथार्थ बन्न सक्दछ

शिक्षा र स्वास्थ्यः शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी, सीपमूलक र प्रविधिमुखी बनाउनु जरूरी छ। महानगरको मेयर हुँदा शिक्षामा गरेको पहलकदमीले बालेनलाई बालेन बनाएको हो। बालेन सबै जेनजीको मन र मुखमा बस्न सफल भएको हो। स्वास्थ्य सेवा राज्यको दायित्वका रूपमा सुनिश्चित गर्नुपर्छ, जहाँ प्रत्येक नागरिकको पहुँच बराबर होस्। स्वास्थ्य बीमालाई विशेष प्राथमिकतामा राखी कार्यान्वयन गर्नु नै बालेन सरकारको अर्को सफलताको कडी हो।

आर्थिक रूपान्तरणः रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई उत्पादन, उद्योग र उद्यमशीलतामा आधारित बनाउनु अपरिहार्य छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्नेछ। रोजगारी पनि विशेषगरी प्रविधिमुखी बनाउनु आजको आवश्यकता हो।

कृषि र पूर्वाधारः आधुनिक प्रविधिमा आधारित कृषि प्रणाली र गुणस्तरीय सडक, ऊर्जा तथा शहरी पूर्वाधारले आर्थिक गतिशीलता बढाउँछ। वीरगञ्ज कृषि औजार कारखाना जस्तो सम्भावना बोकेको उद्योगहरूमा विशेष लगानी गरी राष्ट्रिय उत्पादनसँग जोड्ने खालको योजना बनाउन सके राम्रो हुन्छ।

पर्यटन, ऊर्जा र वातावरणः नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै दिगो पर्यटन विकास गर्न सकिन्छ, जसले दीर्घकालीन आम्दानीको स्रोत सुनिश्चित गर्छ। सन् २०४० सम्म ६ मिलियन पर्यटक आगमन गराउने नीति लिंदै पूर्वाधार विकासतर्फ अगाडि गई पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ।

बालेन नेतृत्वको सरकारले नेपालमा काम गर्न जति सम्भावना छन्, त्यति नै गहिरा चुनौती पनि छन्। ती चुनौतीलाई बालेन नेतृत्वले के कसरी योजनाबद्ध तवरले काम गर्न सक्छ त्यसैमा भर पर्छ।

प्रणालीगत अवरोधः पुरानो राजनीतिक संरचना, कर्मचारीतन्त्र र दलीय स्वार्थले नयाँ सोचलाई सहजै स्वीकार गर्ने सम्भावना कम हुन्छ। सुधारका प्रयासहरू प्रायः आन्तरिक प्रतिरोधमा ठोक्किन्छन् र यसलाई कार्यान्वयनमा ल्याउन निकै गाह्रो हुन्छ।

संयमता र कूटनीतिः महानगरमा देखिएको एक्सन–ओरिएन्टेड नेतृत्व राष्ट्रियस्तरमा पर्याप्त नहुन सक्छ। यहाँ दीर्घकालीन रणनीति, सहमति निर्माण र कूटनीतिक सन्तुलन आवश्यक हुन्छ। भारत र चीन साथै अमेरिकासँग सन्तुलित तवरले कार्य गर्न सक्नुपर्दछ।

अपेक्षाको चापः जेनजी आन्दोलनपश्चात् जनतामा उत्पन्न उच्च आशालाई नतिजामा रूपान्तरण गर्न नसके, यही बालेन क्रेज निराशामा परिणत हुन सक्छ। अपेक्षा व्यवस्थापन पनि नेतृत्वको महत्वपूर्ण परीक्षा हो। जुन कुरा बालेनले आगामी दिनमा रणनैतिक तरिकाबाट कार्यान्वयनमा ल्याउँछन्।

बालेन शाह कुनै एक व्यक्तिको नाम मात्र होइनन् उनी परिवर्तनको प्रतीक हो। तर इतिहासले देखाएको छ— व्यक्तिगत लोकप्रियता क्षणिक हुन सक्छ, प्रणालीगत सुधार दीर्घकालीन हुन्छ।

नयाँ नेपाल तब मात्र सम्भव हुन्छ जब नेतृत्वले बलियो संस्थागत संरचना निर्माण गर्न सक्छ; जहाँ नियम, पारदर्शिता र जवाफदेहिता व्यक्तिभन्दा माथि हुन्छ।

प्रश्न केवल बालेन्द्र शाहले सक्छन् कि सक्दैनन् भन्ने होइन। प्रश्न हो, के हामी नागरिक अनुशासन, इमानदारी र जिम्मेवारी सहित नयाँ प्रणाली स्वीकार गर्न तयार छौं ? यदि नेतृत्वको दूरदृष्टि र नागरिकको प्रतिबद्धता एकसाथ अघि बढे भने नयाँ नेपाल केवल एउटा सपना मात्र होइन एक यथार्थ बन्न सक्दछ।

(बानियाँ, नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?