७ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा झालमुडी (चटपटे जस्तै खाजा) खाएको भिडियो भाइरल भएको छ ।
आइतबार पश्चिम बंगालको चुनावी सभापछि उनले स्थानीय स्ट्रीट फूड झालमुडी चाखेका हुन् । त्यसको जानकारी दिन उनले आइतबार साँझ आफ्नो आधिकारिक एक्स (ट्विटर) प्लेटफर्ममा भिडियो र फोटो पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘व्यस्त आइतबारका चारवटा सभाबीच झारग्राममा स्वादिलो झालमुडी खाने मौका पाएँ ।’
उनले पोस्ट गरेको भिडियोमा ११ मिलियनभन्दा बढी र फोटोमा ६ मिलियन भन्दा बढी रिच देखिन्छ । अन्य सोसल मडिया प्लेटफर्महरुमा पनि मोदीको चटपटे चखाइ भाइरल भइरहेको देखिन्छ ।
मोदी र पसलेबीचको रमाइलो सम्वाद
भिडियोमा उनले पसलेलाई झालमुडी बनाउन आग्रह गर्दै भनेका छन्, ‘भाइ, हामीलाई आफ्नो झालमुडी खुवाऊ ।’
त्यसपछि उनले मूल्य सोध्दै भन्छन्, ‘राम्रो झालमुडी कति पर्छ ?’ विक्रेताले जवाफ दिन्छन्, ‘१० वा २० रुपैयाँ, बस यति नै ।’
मोदी मुस्कुराउँदै भन्छन्, ‘जे होस्, बनाइदिनुहोस् ।’
उनी उनले खल्तीबाट पैसा निकालेर पसलेलाई दिन खोज्छन् । भुक्तानी गर्न खोज्दा सुरुमा विक्रेताले अस्वीकार गर्छन् । तर मोदीको आग्रहपछि पैसा लिन्छन् ।
रमाइलो संवादमा विक्रेताले प्याज हाल्ने कि नहाल्ने भनेर सोध्दा मोदीले भनेका छन्, ‘हुन्छ, खाऔं । बस दिमाग नखाऔं ।’
Jhalmuri break in Jhargram! pic.twitter.com/LJNjEojAW4
— Narendra Modi (@narendramodi) April 19, 2026
झालमुडी के हो ?
झालमुडी नेपालमा पनि एक लोकप्रिय खाजा हो । यो विशेषगरी भारतको पश्चिम बंगाल, बिहार र झारखण्ड क्षेत्रमा अझ लोकप्रिय छ ।
यसको मुख्य सामग्री भुजा हो, जसमा भुटेका बदाम, टमाटर, उसिनेको आलु, काँक्रो, प्याज र चाट मसला, जिरा, कागतीको रस जस्ता मसलासँग मिसाएर तयार गरिन्छ । यो प्राय: कागजको कोनमा राखेर बेचिन्छ ।
प्रतिक्रिया 4