News Summary
Generated by OK AI. Editorially reviewed.- दार्जिलिङका प्रसिद्ध गायक पवन गोले १४ वर्षपछि पुनः 'पलेँटी' कार्यक्रममा अप्रिल २४ र २५ गते काठमाडौंमा प्रस्तुति दिने भएका छन्।
- पवनले 'पलेँटी'मा पुराना गीतसहित नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन्, जसमा सङ्गीतकार रमेश गुरुङले धुन भरेका छन्।
- 'पलेँटी' कार्यक्रम २१ वर्षदेखि नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिँदै सञ्चालन हुँदै आएको छ र यसपाली अनलाइन प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ।
काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको ‘पलेंटी’मा यसपाली दार्जिलिङ्का प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले १४ वर्ष पहिले पनि प्रस्तुति दिएका थिए ।
उनले यसपालीको ‘पलेँटी’मा पुरानासहित नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीत समेटिएका छन् । जसका निम्ति हार्मोनियम समातेर रमेश गुरुङ र माइक समातेर पवन गोले अभ्यासमा जुटिरहेका देखिन्छन् । ‘पलेँटी’ का कलाकारले उनीहरूलाई साथ दिइरहेका छन् ।
‘पलेँटी’ कार्यक्रम नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिँदै शुरू भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको हो ।
गोले नेपाली साङ्गीतिक जगतका नेपालीभाषी श्रोता बीच परिचित नाम हो । खासगरी- ‘हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ’ उनको स्वरमा सर्वाधिक लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।
दार्जिलिङमा उहिले ‘सङ्ग एण्ट ड्रामा युनिट’ नामको संस्था हुने गथ्र्यो । उतिबेला पश्चिम बंगाल सरकारको मातहतको त्यो संस्था पछि गएर जिटिए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) अन्तरगत समायोजन भयो । जसको नाम ‘इन्फरमेसन एण्ड कल्चर डिपार्टमेन्ट’ रह्यो । पवन गोलेले त्यही संस्थामा कलाकारको रुपमा सेवारत रहेर सन् २०२१ मा अवकास प्राप्त गरे । तर सङ्गीतको मोहबाट उनी अहिले पनि अवकास लिन रुचाउदैनन् । त्यसैले गायनमा क्रियाशील रहिरहेका छन् ।
सङ्गीतकार सुवर्ण लिम्बूको धुनमा सजिएको गीत ‘हावासँग बगूँ भन्छ’ गीतबाट नेपाली सङ्गीत जगतमा चिनिएका पवनले अनगिन्ति गीत गाएका छन् तर उनको गायन, आम नेपाली श्रोतामाझ मनग्य हुनेगरि प्रस्तुत भएका छैनन् । त्यही यथार्थलाई अनुभूत गरेर पलेँटीले यसपाली उनलाई दोहोर्याएर काठमाडौं निम्त्याएको हो ।

पवनले यसपाली सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेर, बसन्त छेत्री, प्रदीप छेत्री र रमेश गुरुङले सङ्गीत भरेका गीत प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी छन् ।
गोले सन् २०१२ मा पनि पलेँटी कसिसकेका गायक हुन् । उतिबेला उनले विभिन्न सङ्गीतकारका धुनहरूमा सजिएका गीत सुनाएका थिए । यसपालीको पलेँटीमा आधा पुराना र आधा नयाँ सङ्गीत समेटेका छन् । नयाँ धुनमा सङ्गीतकार रमेश गुरुङको साथ रहनेछ ।
पहिलोपल्ट सन् २०१२ मा पलेँटी कसेको सम्झना गर्दै पवन गोले भन्छन्, ‘यसभन्दा पहिले पलेँटीमा आउँदाको सुन्दर अनुभूति मनबाट नमेटिँदै फेरि पनि यो मञ्चमा आएको छु । झन् यसपाली साथमा सङ्गीतकार रमेश गुरुङ भाइ छन् । आशा छ मेरो सृजनाकर्ममा नयाँ पुराना दर्शक, श्रोताको मनग्य माया पाउनेछु ।’ खुल्ला हाँसोमा देखिन्छन् उनी ।
छेउमा हार्मोनियम खेलाइरहेका सङ्गीतकार रमेश गुरुङको पनि पलेँटीमा यो दोस्रो सहभागिता हो । उनी भन्दै हुन्छन्, ’सन २००६ को पलेँटीमा दावा ग्याल्मो दिदीलाई हार्मोनियममा साथ दिन आएको थिएँ । यसपाली त सङ्गीतकारको भूमिका निभाउन पाएको छु । त्यो पनि अग्रज पवन दाजुसँग । साह्रै खुशी छु ।’
पलेँटी कार्यक्रम यही अप्रिल महिनाको अन्तिम शुक्रबार २४ तारिख; र २५ तारिख; शनिवारका दिन आयोजना हुनेछ । टिकट पलेटकीको वेबसाइटबाट लिन सकिने जनाइएको छ । ‘आर’शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्नको लागि व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया 4