News Summary
Generated by OK AI. Editorially reviewed.- लन्डनस्थित डार्टफोर्ड ओपन एयर थिएटर सेन्ट्रल पार्कमा १९ अप्रिलमा नेपाली समुदाय \'लन्डन बिस्का\' जात्रामा उत्साहपूर्वक सहभागी भएका छन् ।
- पासा पुच: गुथी यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरेको जात्रामा झण्डै २८ सय मानिस सहभागी भएका थिए।
- जात्रामा भैरव र भद्रकालीको रथ यात्रा, सिन्दुर जात्रा, भैरव नाच प्रस्तुत गरिएको थियो।
लन्डन । प्राय बेलायतीहरुले भरिने डार्टफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्क आइतबार नेपाली समुदायको नियन्त्रणमा थियो । सो मनोरम पार्क विशेषगरी नेवारी कला संस्कृतिले झकिझकाउ बन्यो ।
हाकुपटासी, न्यापुसिख:, तायो, पछ्यौरा, चाँदीको सिक्री, झुम्का, कल्ली र मखमलको जुत्तामा सजिएका महिलाहरुले बेग्लै आकर्षण थपिरहेका थिए । दौरा सुरुवाल, स्टकोट र कालो टोपीमा ठाँटिएका पुरुषहरुको सौन्दर्य पनि कम थिएन ।
पृष्ठभूमिमा गुन्जिरहेको थियो धिमे, धा: बाजा र बासुरी धुन ।
पासा पुच: गुथी यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा १९ अप्रिल आइतबार गरेको ‘लन्डन बिस्का’ जात्रा भक्तपुरको झझल्को दिने गरी उत्साहपूर्वक सम्पन्न भएको छ ।
२ हजार ५०० क्षमताको उक्त पार्कमा क्षमता बढी झण्डै २८ सय मानिस सहभागी भएको आयोजकले जनाएका छन् । टिकट सकिएपछि धेरैजना फर्कनु परेको थियो ।
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्वको प्रसिद्ध लिच्छविकालीन बिस्का: जात्रा बेलायतमा आयोजना गरिएको यो तेश्रो पटक हो । यस जात्रा सन् २०२२ मा लन्डनमा पहिलोपटक र २०२४ मा दोश्रो संस्करण भएको थियो ।

बेलायतमै बनाइएका भैरव र भद्रकालीको रथ यात्रा गरी अन्तिममा दुई रथ जुधाएर समापन गरिएको थियो भने योसिंद्दो (लिंगो) उठाइएको थियो । गणेशको पूजा गरेपछि बालकुमारी ख:, सिद्दीकाली ख:, विष्णुवीर ख: र दक्षिण बाराही ख: बोकेर परिक्रमा गरिएको थियो ।
जात्राको अर्को आकर्षण थियो सिन्दुर जात्रा ।

भैरव गण नाच, गोर्खाली टाकटुके नाच र धिमे नाच जात्रा पनि थप आकर्षणका केन्द्र रहे । सो अवसरमा नाय् खिं, खिं, पोंगा, मिरध्ंगा लगायत बाजा पनि प्रस्तुत गरिएको थियो ।
जात्रामा सहभागी पोखरा निवासी ‘मिसेस नेपाल यूके २०१७’ आस्था जोशी बाटाजुले नेपाल छँदा देख्न नपाएको कुरा बेलायतमा अवलोकन गर्न पाएको बताइन् । ‘मलाई सबैभन्दा मन परेको अर्को पक्ष जात्रामा बालबालिकासहित गैरनेवार जातीहरु राई, लिम्बु, गुरुङ, क्षेत्री बाहुन झन् बढी उत्साहित देखिनुहुन्थ्यो । उहाँहरुलाई नेवा: कला संस्कृतिप्रति निकै चासो भएको पाएँ’, उनले भनिन् ।

जात्राका प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडीले पासा पुच: गुथी यूकेले नेवा: कला–संस्कृति बेलायतमा संरक्षण, संवर्धन गर्न निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए । उनले यस्ता गतिविधिले आफ्नो मौलिक संस्कृति, परम्परा दोश्रो पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
जात्राका लागि नेपालबाट मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठ, हिटी संरक्षण अभियन्ता यादवलाल कायस्थ, सम्पदा संरक्षण अभियन्ता रवि शाक्य, आर्किटेक्ट सुनिस कुमार लाखे समेत सहभागी थिए ।

मध्यपुर ठिमीका मेयर श्रेष्ठले सात समुद्रपारी आएर पनि बेलायतका नेवार समुदायले आफ्नो कला–संस्कृति, भेषभूषा र रहनसहन जीवन्त राख्नु निकै प्रशंसनीय रहेको बताए ।
आयोजक पासा पुच गुथी यूके बिओटी अध्यक्ष सुशील प्रजापतिले ६ महिनादेखिको गृहकार्यपछि जात्रा सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरे । नेवा: कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित बिस्का: जात्रा गरिएको उनले बताए ।
इभेन्ट संयोजक रहेको पासा पुच गुथी यूके साउथ इष्ट लन्डनका अध्यक्ष सुरोज मास्केले स्वागत मन्तव्य दिएका थिए ।
जात्राका सहभागीहरु विभिन्न नेवारी परिकार तथा व्यापारिक स्टलमा दिनभर रमाइरहे ।

प्रतिक्रिया 4