News Summary
Generated by OK AI. Editorially reviewed.- सिभिल अस्पतालमा सातामा लगातार दुई दिन बिदाले ओपीडी टिकट लिन गएका बिरामी र आफन्तहरुको लाइन क्यान्टिनभन्दा परसम्म पुगेको छ।
- एक बिरामीले दुई–तीन दिनदेखि अनलाइन टिकट काट्ने प्रयास गरे पनि सफल नभएको र अस्पतालका कर्मचारीले समस्या एक–दुई दिनमै समाधान हुने आश्वासन दिएको बताएका छन्।
- सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन गरेपछि बिरामीहरुको भिड अत्यधिक बढेको र स्वास्थ्य सेवा लिन सास्ती भएको अस्पतालका कर्मचारीहरुले बताएका छन्।
८ वैशाख, काठमाडौं । सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ ।
सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ । लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।
ओपीडी टिकट लिन सिभिल अस्पतालको लाइनमा बसेका एक बिरामीले दुई–तीन दिनदेखि अनलाइन टिकट काट्ने प्रयास गरे पनि सफल नभएको बताए । अस्पतालका एक कर्मचारीले भने एक–दुई दिनमै समस्या समाधान हुने आश्वासन दिए ।
सिभिल अस्पतालमा अनलाइनबाट टिकट काटे पनि ओपीडी टिकट लिन फेरि लाइन लाग्नुपर्ने बाध्यता रहेको बिरामीहरुको गुनासो छ ।
अहिले सिभिल अस्पतालको बहिरङ्ग विभागको प्राय सबैजसो ढोका अगाडि बिरामीहरुको भिड भद्रगोल जस्तो देखिएको छ ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन गरेसँगै त्यसको भोलि र पर्सिपल्टसम्म सेवाग्राहीको चाप अत्यधिक हुने गरेको अस्पतालका चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । भिड व्यवस्थापन हुन नसक्दा स्वास्थ्य उपचार जस्तो अत्यावश्यक सेवा लिन सास्ती खेप्नु परिरहेको छ ।
सातामा दुई दिन बिदाले बीर लगायतका अन्य सरकारी अस्पतालहरुमा पनि ओपीडीमा थेगिनसक्नु बिरामीको भिडले सेवा झनै भद्रगोल अवस्थामा छ ।
नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिलको लामो लाइनले गिज्याएको छ ।



प्रतिक्रिया 4