News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज दिउँसो ३ बजे सभामुखलाई बुझाउने तयारी गरिएको छ।
- मस्यौदा समितिले गत चैत २३ मा गठन भई १२ बजे बैठक बसेर बाँकी विषयमा सहमति जुटाउने योजना बनाएको छ।
- नयाँ नियमावलीले प्रतिनिधिसभा सञ्चालन, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने र कार्यपालिकालाई जवाफदेही बनाउने लक्ष्य राखेको छ।
८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै छ । मस्यौदा समितिले पाएको समयावधि आजबाट सकिने भएकाले आज सभामुखलाई मस्यौदा बुझाउने तयारी गरिएको हो ।
मध्याह्न १२ बजे बस्ने मस्यौदा समितिको बैठकबाट सहमति जुट्न बाँकी विषयमा सहमति जुटाएर दिउँसो ३ बजे सभामुखलाई मस्यौदा बुझाउने तयारी रहेको समिति सदस्य यज्ञमणि न्यौपानेले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।
नयाँ नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने काम भएको जनाइएको छ ।
नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भुमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ । साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने मूल उद्देश्यका साथ मस्यौदा तयार पारिएको छ ।
समितिले आइतवार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी सुझाव लिएको थियो । नियमावलीको मस्यौदा प्रचलित कानुन, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजाने गरी तयार पारिएको जनाइएको छ ।
प्रतिक्रिया 4