News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियन्त्रणमा लिइएका कैदीमाथि कानुनी प्रक्रिया अघि बढाइने बताए।
- सिरहा कारागारमा गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटनाहरू बारम्बार भइरहेका छन् ।
८ वैशाख, सिरहा । सिरहा कारागार पुन: विवादको केन्द्र बनेको छ । कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयास गरेका थिए । उक्त घटनापछि थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने अनुमान गर्दै २३ जना कैदीहरुलाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायको निर्देशनअनुसार अघि बढाइनेछ । ‘हामीले विभागसँग अनुमति मागेका छौँ । अनुमति आएपछि कुन कैदीलाई कहाँ पठाउने भन्ने निर्णय गरेर सारिने छ,’ उनले भने ।
सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना हुँदै आएका छन् । व्यवस्थापनमा कमजोरी र सुरक्षाकर्मीको मिलेमतोका आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ ।
यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो । उक्त हतियार आन्तरिक प्रभाव जमाएका कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीले जनाएको थियो । सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा सारिएको थियो ।
इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए । पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।
प्रतिक्रिया 4