+
+
Shares

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, व्यापार र लगानी बढाउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:०६

८ वैशाख, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस. पल कपुर र  परराष्ट्रमन्त्री शिशिर खनालबीच मंगलबार शिष्टाचार भेट भएको छ । भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको छ ।

पराराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुरा भएको छ ।

कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन् । सोमबारबाट सुरू भएको उनको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि हेरिएको छ ।

उनले सोमबार सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन् ।

‘काठमाडौंमा भेट्न पाउँदा खुशी लाग्यो । नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्राथमिकताहरू बुझ्ने र अमेरिका–नेपाल सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने अवसर मिल्यो’ कपुरले रविसँगको भेटपछि भनेका थिए ।

कपुरले सोबार दिउँसो अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आइसिटी क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।

उक्त छलफलमा डिजिटल पूर्वाधार सुदृढ बनाउने, एआईको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत पार्ने र अमेरिकी प्रविधिगत दक्षता आदानप्रदान गर्ने उपायहरूबारे कुराकानी भएको दक्षिण तथा मध्य एसिया ब्यूरोले जनाएको छ ।

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।

तीन दिने भ्रमणका लागि आएका कपुरले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?