News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अस्पताल सल्यानमा विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेदेखि बन्द शल्यक्रिया सेवा पुनः सुरु भएको छ।
- स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले मेडिकल अधिकृत डा. सुमन यादव अस्पतालमा आएसँगै सेवा सुचारु भएको जानकारी दिए ।
- शल्यक्रिया सेवा बन्द हुँदा बिरामीहरूले आर्थिक, मानसिक तनाव र ज्यानको जोखिम भोग्नु परेको थियो।
९ वैशाख, सल्यान । जिल्ला अस्पताल सल्यानमा बन्द भएको शल्यक्रिया सेवा पुन: सुचारु भएको छ । विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेबाट रोकिएको शल्यक्रिया सेवा दश दिन पछि मंगलबारबाट सुरु भएको हो ।
मेडिकल अधिकृत डा. सुमन यादव अस्पतालमा आएसँगै रोकिएको शल्यक्रिया सेवा सुचारु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले जानकारी दिए । ‘मेडिकल अफिसरको व्यवस्थापन भएसँगै शल्यक्रिया सुरु भएको छ, यो बिचमा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गाइनोकोलाजिस्ट पोष्टिङ भएको भन्ने पत्र आएको छ, सम्भवत उहाँ पनि आउनुहुन्छ, त्यसो हुँदा सेवा प्रवाहलाई थप सहज बन्नेछ,’ उनले भने ।
शल्यक्रिया सेवा बन्द हुँदा जिल्लाका बिरामीहरूले निकै सास्ती खेप्नुपरेको थियो । सामान्य अवस्थाका बिरामीहरू पनि उपचारका लागि दाङ, सुर्खेत र नेपालगञ्जजस्ता टाढाका अस्पताल धाउन बाध्य भएका थिए । यसले उनीहरूलाई आर्थिक र मानसिक तनाव मात्र बढाएको थिएन, ज्यानको जोखिम पनि उत्तिकै थियो ।
प्रतिक्रिया 4