News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको ठूलीभेरी नगरपालिकाले दोस्रो नगर बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।
- नगर प्रमुख सुवर्णकुमार बुढाले दुर्गम वडाबस्तीका नागरिकसम्म सहज पहुँच सुनिश्चित गर्न बस थपिएको बताए।
- नयाँ बस निर्माण प्रक्रियामा छ र प्राविधिक तथा व्यवस्थापन पक्ष पूरा भएपछि छिट्टै सञ्चालनमा ल्याइने छ।
९ वैशाख, डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकाले अर्को पनि एउटा नगर बस थप्ने भएको छ ।
नगरबासीको यात्रालाई थप सहज, सुलभ र भरपर्दो बनाउने उद्देश्यसहित दोस्रो पटक नगर बस सञ्चालनमा ल्याउने तयारी गरेको नगरपालिकाले जानकारी दिएको हो ।
यसअघि नै एउटा नगर बसमार्फत नागरिकलाई सहुलियतपूर्ण यातायात सेवा प्रदान गर्दै आएको नगरपालिकाले सेवा विस्तारलाई निरन्तरता दिँदै थप अर्को नयाँ बस सञ्चालनमा ल्याउन लागेको हो ।
नगर प्रमुख सुवर्णकुमार बुढाले दुर्गम वडाबस्तीका नागरिकसम्म सहज पहुँच सुनिश्चित गर्न थप बस सञ्चालन गर्न लागिएको बताए ।
उनले भने ‘नागरिकलाई सुलभ र गुणस्तरीय सेवा दिनु हाम्रो प्राथमिकता हो। दोस्रो बस सञ्चालनसँगै नगरभित्र मात्र नभई अन्तरपालिका आवागमनसमेत सहुलियतपूर्ण दरमा सहज हुनेछ ।’
हाल सञ्चालनमा रहेको बस सेवाले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सेवाबाट वञ्चित नागरिकलाई राहत दिँदै आएको छ। नयाँ बस थपिएपछि यस्तो सेवा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
यसैबीच नगर प्रमुख बुढाले नयाँ बसको प्राविधिक अवस्था, सञ्चालन तयारी तथा व्यवस्थापन पक्षबारे स्थलगत निरीक्षणसमेत गरेका छन् । नगरपालिका अनुसार बस अहिले निर्माण प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापन पक्षका काम सम्पन्न भएपछि छिट्टै डोल्पा ल्याएर सञ्चालनमा ल्याइने छ।
दोस्रो नगर बस सञ्चालनमा आएपछि नगरको यातायात प्रणालीमा नयाँ आयाम थपिने र स्थानीयवासीको दैनिक आवागमनमा सहजता आउने नगरप्रमुख बुढाले जानकारी दिए ।
प्रतिक्रिया 4