News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको रुपनी गाउँपालिका-१ का भ्रष्टाचार विरोधी अभियन्ता किरणकुमार जयसवाललाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेको छ।
- रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जयसवालमाथि सामाजिक सञ्जालमा भ्रम फैलाएको उजुरी दिएका थिए र सोही आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
- जयसवालले वडाध्यक्ष लीला यादवमाथि घरधुरी नभएको जग्गा झुटो सिफारिस गरेर राजस्व छली गरेको आरोप लगाउँदै आएका थिए।
९ वैशाख, सप्तरी । आफूलाई भ्रष्टाचारी विरोधी अभियन्ता बताउने सप्तरीको रुपनी गाउँपालिका- १ का राजु भनिने किरणकुमार जयसवाल पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत जयसवालले आफू विरुद्ध भ्रम फैलाएको भन्दै रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा जयसवाललाई बुधबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय रुपनीले गत मंगलबार पत्र थमाउँदै जयसवाललाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनेको थियो । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जयसवाल विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध कसुर गरेको अभियोगमा ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
पछिल्लो समय जयसवालले सप्तरीको रुपनी गाउँपालिका–१ की वडाध्यक्ष लीला यादवमाथि घर भएको जग्गालाई ‘घरधुरी नभएको’ भन्दै झुटो सिफारिस गरेर राजस्व छली गरेको भन्दै उनी विरूद्ध आवाज उठाउँदै आइरहेका थिए ।
प्रतिक्रिया 4