+
+
Shares

बालेन-रवि नीति : प्रश्न उठेपछि बहिर्गमन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक ओहोदा बस्नेको आर्थिक पारदर्शितामा प्रश्न उठेसँगै पदमुक्त गर्ने नीति अख्तियार गरेको छ । त्यसैअनुसार प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले गृहमन्त्रीबाट सुधन गुरूङलाई हटाउने निर्णय लिए ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ वैशाख ९ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङलाई राजीनामा दिन निर्देशन दिएका छन्।
  • सुधन गुरूङमाथि दुई माइक्रो इन्सुरेन्सको लगानी शंकास्पद देखिएपछि उनलाई हटाउने निर्णय भएको हो।
  • गुरूङले राजीनामा दिँदा ‘‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्’’ भनेका छन्।

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले पद छोड्न निर्देशन दिएपछि गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन् । आफूमाथि उठेका प्रश्नहरूको सार्वजनिक स्पष्टिकरण दिँदै बसेका गुरूङको दुईटा माइक्रो इन्सुरेन्सको लगानी शंकास्पद देखिएपछि उनलाई हटाउन प्रधानमन्त्री र सभापति लामिछाने सहमत भएका थिए ।

सुरूमा पार्टीभित्र स्पष्टिकरणको प्रक्रिया मात्र अपनाएर गृहमन्त्री पद चाहिँ सुरक्षित गरिराख्न प्रयत्नमा गुरूङ थिए । तर सार्वजनिक रुपमा सरकार र रास्वपाको नीतिगत प्रतिबद्धतामै प्रश्न उठ्न थालेपछि सुधनको बहिर्गमनको बाटो तय गरिएको हो । राजीनामा नदिए हटाउनेसम्मको तयारी भएपछि सुधनले बुधबार दिउँसो प्रधानमन्त्री कार्यालय गएर राजीनामा बुझाएका थिए ।

गुरूङले सम्पत्ति विवरणमा माइक्रो इन्सुरेन्सको शेयरलाई नदेखाउनु र विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्धका विषयमा समेत उनले प्रतिवाद गरेका थिए ।

‘सेयर किन्नु भनेको कसैसँग साझेदारी गर्नु होइन । यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रुपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन,’ गुरुङले प्रतिवाद गर्दै भनेका थिए ।

सुरूमा आफ्नो बचाउमा उत्रिएका गुरुङ पार्टीले संरक्षण नगर्ने छनक पाएपछि निर्णय स्विकार्ने भन्दै राजीनामाको निष्कर्षमा पुगे । उनले भनेका छन्,‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

विगतमा विवादित व्यक्तिसँगको सम्बन्ध र उनको ‘अपारदर्शी आर्थिक स्रोत’ का विषयमा सञ्चार माध्यममा गत आइतबारदेखि समाचारहरु प्रकाशित हुन थालेका थिए । सञ्चार माध्यम निरन्तर समाचार आइसकेपछि नागरिक तहबाट मन्त्री र स्वयं रास्वपालाई सुशासनलाई जोडेर प्रश्न उठ्न थाले ।

सोमबार भएको केन्द्रीय समितिको बैठकमा गुरुङ विषय छलफलको एजेण्डा बनेन । तथापी, पार्टीले यस प्रकरणले गहन रुपमा लिएको स्वयं सभापति रवि लामिछानेले बताएका थिए ।

केन्द्रीय समितिको बैठकपछि सभापति लामिछानेले भनेका थिए,‘उहाँ (सुधन) ले एउटा स्पष्टीकरण दिनुभएको छ । अध्ययन हुँदैछ । गर्दैछौं, पार्टीले पनि हेर्छ । जे हुन्छ । विधिसम्मत् हुन्छ । गलत हुन दिइँदैन । पार्टीले हेर्दैछ । यसमा केही चिन्ता गर्न पर्दैन ।’

सभापति लामिछानेले प्रश्न उठेका गुरुङमाथि अध्ययन गरिरहेको भनिरहँदा बर्खास्तमा परेका पूर्वमन्त्री दीपककुमार साहको प्रसंग जोडेर रास्वपातिर प्रश्न उठे ।

पार्टी, गृहमन्त्री गुरुङ र सरकारलाई यही प्रकरणबाट चौतर्फी प्रहार हुन थालेपछि सभापति लामिछानेलाई भेट्न गुरुङ पटक-पटक भेट्न गए । रास्वपा नेताहरुका अनुसार सभापति लामिछाने गृहमन्त्री गुरुङको राजीनामा गराउने पक्षमा सुरु देखि नै थिए ।

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्रीले राजीनामा गराउने पक्षमा सुरुमा थिएनन् । गृहमन्त्री गुरुङसँग जोडेर सरकारले लिएको सुशासनको मुद्दालाई असर पर्न नदिन प्रधानमन्त्री शाह उनलाई हटाउने निचोडमा पुगेको रास्वपाका एक नेताले जानकारी दिए ।

उनी भन्छन्,‘हिजो श्रममन्त्री दीपक साहलाई एउटा व्यवहार गर्ने र आज सुधनलाई अर्को व्यवहार गर्न मिल्दैन । सुशासनको मुद्दामा हामी निर्मम छौं भन्ने यो अर्को उदाहरण हो ।’

पूर्वश्रममन्त्री साहलाई द्रुतगतिमा निर्णय लिएर उनलाई पदमुक्त गरेको थियो । पूर्वमन्त्री साहले स्पष्टीकरण दिन समेत नपाएको गुनासो गरेका थिए ।

स्वास्थ्य बीमा बोर्डको सदस्यमा श्रीमतीलाई नियुक्त गरेपछि साह विवादमा परेका थिए । साहलाई पदबाट मुक्त गरिएको थियो भने स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत बनाइएको थियो ।

शक्तिशाली मन्त्रालयको रुपमा परिचित गृह मन्त्रालय सम्हालेका गुरुङले पनि अन्तत पद छोड्नु परेको छ । साहले पद सम्हालेको १३ दिनमा छोडेका थिए भने गुरुङले २६ दिन मन्त्रालय सम्हालेर बाहिरिए ।

पूर्वमन्त्री साहका लागि रास्वपाले तत्काल एक्सन लिएको थियो भने गुरुङको हकमा प्रधानमन्त्री शाह र सभापति लामिछानेले राजीनामा दिन निर्देशन दिएका थिए । पार्टी स्रोतका अनुसार प्रश्न उठेपछि पदमुक्त हुनुपर्नेमा सभापति लामिछानेको विशेष जोड थियो ।

पूर्वश्रममन्त्री साहलाई अनुशासन आयोगको पत्रको आधारमा सभापति लामिछानले प्रधानमन्त्री शाहलाई उनलाई हटाउन सिफारिस पत्र लेखेका थिए । गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको/नसोधेको बारेमा रास्वपाले सार्वजनिक जानकारी गराएको छैन ।

आफूमाथि चौतर्फी प्रश्न उठेपछि सभापति लामिछानले भेट्न गुरुङ पटक पटक बूढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्री शाह र सभापति लामिछानेसँग पटक पटकको भेटपछि गुरुङले राजीनामा दिने निर्णय लिएका थिए । पार्टीका उच्च तहका एक नेताले भने,‘पार्टीका कोही कुनै अरु नेताहरुमा छलफल भएको होइन । सभापति र प्रधानमन्त्रीको संवादपछि सुधनले राजीनामा दिनुभएको हो ।’

प्रधानमन्त्री शाह र सभापति लामिछानेले बुधबार बिहान राजीनामा गर्न निर्देशन दिएपछि गुरुङ पद छोड्न बाध्य भएका थिए । आफूसँग जोडिएको मुद्दामा छानबिन गर्न अवरोध नहोस् भन्ने मनसायले पदबाट राजीनामा दिएको गुरुङले लेखेका छन् ।

आफ्नो राजीनामाबारे सुधनले भनेका छन्,‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्धन्द्ध नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’

पार्टीको विधानमा भएको व्यवस्था ‘राइट टु रिकल’ देखाउँदै सभापति लामिछानेले यसअघि पूर्व श्रममन्त्री साहलाई फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र लेखेका थिए ।

यसपटक प्रधानमन्त्रीलाई पत्र नलेखेपनि सबैप्रति समान व्यवहार हुने सभापति लामिछानेले छनक दिएका थिए । पार्टी बैठकपछि सभापति लामिछानेले सोमबार भनेका थिए,‘राइट टु रिकल एउटा दुईटाका लागि होइन । सबैको लागि हो ।’

नागरिकलाई रास्वपाले सुशासनका लागि मत दिएको हुँदा मतदाताको अपेक्षाप्रति प्रतिबद्द रहेको रास्वपाका एक सचिवालय सदस्य सुनाउँछन् । उनी भन्छन्,‘गृहमन्त्री सुधनका बारेमा हामीले अध्ययन गरिरहेका छौं भन्दै गर्दा पनि जनता ३/४ दिन पनि पनि प्रतिक्षा गर्न तयार हुनु भएन । हामीले वाचा गरे अनुसार जनताको अपेक्षा पुरा गर्‍यौं ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?