News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पा अस्पतालका २४ जना चिकित्सक तथा कर्मचारीले लुम्बिनी प्रदेश सरकारबाट तलब नपाएर तीन महिनादेखि तलब पाएका छैनन्।
- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले बजेट अनुमानभन्दा बढी खर्च निस्किएपछि तलब रोकिएको बताउनुभयो।
- स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले बजेट समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो।
११ वैशाख, रोल्पा । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारबाट रकम उपलब्ध नभएपछि कर्मचारीहरुले तलब नपाएका हुन् ।
रोल्पा अस्पतालका निमित्त प्रमुख सुर्यप्रताप रैदासले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तलब उपलब्ध नगराएकाले अस्पतालका चिकित्सकसहित २४ जना कर्मचारीले तीन महिनादेखि तलब पाउन नपाएको जानकारी दिए ।
‘प्रदेश सरकारले तलब नपठाएकाले माघदेखि चैतसम्मको तीन महिनाको तलब अस्पतालमा कार्यरत कर्मचारीले पाएका छैनन्,’ उनले भने, ‘हामीले तलबको बारेमा अस्पतालको लेखा शाखामार्फत लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसम्म पत्र र फोनमार्फत जानकारी गराइसकेका छौं । अबको केही दिनमा मन्त्रालयले तलब उपलब्ध गराउने भनेको छ ।’
करार कर्मचारीहरुलाई भने अस्पताल व्यवस्थापन समितिले आफ्नै आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ ।
किन रोकियो तलब ?
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार यो समस्या रोल्पा जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा देखिएको छ । कार्यालय प्रमुखले बजेट अनुमान गरेभन्दा बढी खर्च निस्किएको र त्यसलाई प्राविधिक रुपमा मिलाउनुपर्ने भएकाले समय लागेको उनले बताइन् ।
रकमान्तर गरेर भए पनि बजेट निकासाको प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले भनिन्, ‘सायद अब सोमबार वा मंगलबारभित्र काम हुन्छ र तलब जान्छ ।’
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवम् प्रवक्ता नोदनारायण चौधरीले गत वर्ष वार्षिक बजेट बनाउने बेलामै कुन पदका कर्मचारीलाई तलब खुवाउँदा कति रकम चाहिन्छ भनेर कार्यालय प्रमुखले अनुमान गर्न नसक्दा अहिले बजेट नपुगेकाले समस्या देखिएको बताए । सो समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग रकमान्तरका लागि छलफल भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4