News Summary
Generated by OK AI. Editorially reviewed.- २० वर्षीया आङ फुर्बा शेर्पाले मञ्जुश्री ट्रेल रेस १०० माइल महिलातर्फ ३३ घण्टा १३ मिनेट ०६ सेकेन्डमा जितिन्।
- आङ फुर्बाले अल्ट्रा ट्रेलमा चार वर्ष बिताउँदै नेपाल र विदेशका विभिन्न रेसहरूमा उत्कृष्ट प्रदर्शन गरिन्।
- उनले स्पोन्सर नहुँदा सबै खर्च आफैं व्यहोरेकी छिन् र अन्तर्राष्ट्रिय रेसमा भाग लिन सहयोगको आवश्यकता बताइन्।
११ वैशाख, काठमाडौं । २० वर्षीया आङ फुर्बा शेर्पाले भर्खरै सम्पन्न नेपालकै चर्चित मञ्जुश्री ट्रेल रेस (एमटीआर) मा १०० माइल अर्थात् करिब १६० किलोमिटर लामो दूरीको रेस जितिन् ।
एमटीआरमा ‘मल्टी डे’ दौडनुपर्ने १०० माइलको महिलातर्फ उनले निर्धारित दूरी ३३ घण्टा १३ मिनेट ०६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारेकी हुन् । उनले विदेशी खेलाडी तथा पूर्वविजेता अनिता राईलाई पछि पारिन् ।
नेदरल्यान्ड्सकी अन्ने माई बान ३३ घण्टा ५१ मिनेट ४१ सेकेन्डसहित दोस्रो र नेपालकै अनिता राई तेस्रो भइन् । अनिताले ३८ घण्टा १८ मिनेट २३ सेकेन्ड समय लगाइन् ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–२ फेराकी आङ फुर्बा यसअघि अल्ट्रा ट्रेलमा धेरै उपलब्धि हासिल गरे पनि त्यति चर्चामा थिइनन् । काठमाडौं उपत्यकामै हुने मञ्जुश्रीमा लामो दूरीको रेस जितेपछि भने आङ फुर्बाको चर्चा केही बढेको छ ।
सानो उमेरमै आङ फुर्बाले लामो दूरीको रेस जितेर आफूलाई प्रमाणित गरिसकेकी छिन् । उनी लङ रेसकी च्याम्पियन र यस विधामा उदाउँदी स्टार हुन् ।
फूर्बा आफूलाई अल्ट्रा र हाई अल्टिच्युड रनर भन्न रुचाउँछिन् । यसले पनि उनी कस्तो किसिमकी धावक हुन् र कति शक्तिशाली छिन् भन्ने प्रमाणित गर्छ ।

उनले १८ वर्षको हुँदा पहिलोपटक मञ्जुश्री दौडेकी थिइन् । मञ्जुश्रीमा तेस्रो सहभागितामा उनी च्याम्पियन बनिन् । यसअघि दुईपटक दौडँदा उनी तेस्रो भइन् । गत वर्ष दौड पूरा गर्न सकिनन् । ती दुवैपटक निर्मला राई च्याम्पियन बनेकी थिइन् ।
यसपटक निर्मला सोही समयमा एटीमएमकै क्वालिफायरका रूपमा रहेको फिलिपिन्सको दौडमा गएकी थिइन् । त्यहाँ उनी १०० किलोमिटरमा दोस्रो भइन् ।
निर्मला नहुनु र यसअघिका दुई प्रयासमा सफल नहुनुको पीडा त छँदै थियो, आङ फुर्बामा ‘जित्न सक्छु र मञ्जुश्री जित्छु’ भन्ने भोक पनि थियो । त्यसैले उनलाई सफल बनायो । ‘पहिलोपटक मञ्जुश्रीको च्याम्पियन बन्दा एकदमै खुसी लाग्यो,’ अनलाइनखबरलाई उनले आफ्नो अनुभव सुनाइन् ।
सामान्यतया ‘अर्ली ट्वेन्टिज’ मा अल्ट्रा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्छन् । तर आङ फुर्बा भने उमेरले दुई दशक पुग्दानपुग्दै अल्ट्रा रनिङमा स्टारका रूपमा उदाइसकेकी छिन् ।
उनले विश्वकै कठिन क्षेत्र मानिने एभरेस्ट, मुस्ताङजस्ता क्षेत्रमा १०० माइलभन्दा बढी दूरीको रेस सफलतापूर्वक पूरा गर्ने युवा रनरको पहिचानसमेत बनाइसकेकी छिन् ।
चौँरीगोठबाट उदाएकी रनर
फुर्बा हिमालको काखमा जन्मिइन् । चौँरीगोठमै बाल्यकाल बित्यो । हिमालमा उकालो, ओरालो, पातलो हावा र कठोर मौसम हुन्थ्यो । यही परिवेशबाट माथि उठ्दै आङ फुर्बा अहिले ट्रेल रनिङमा नयाँ कथा लेखिरहेकी छिन् ।
आङ फुर्बाको रनिङको सुरुवात चौँरीगोठबाटै भएको थियो । चौँरीगोठमा अर्गानिक खानेकुरा खाएर हुर्केकी उनी स्कुल पढ्न जाँदा नै दैनिक २-३ घण्टा हिँड्नुपर्थ्यो ।
गाउँमा फुर्बाले कुनै औपचारिक प्रशिक्षण पाउने कुरै थिएन । पहाडका गोरेटो, चिसो हावा र लामो हिँडाइबीच नै उनी हुर्किइन् । विद्यालय जान पनि घण्टौँ उकालो–ओरालो गर्नुपर्थ्यो । त्यो दैनिक सङ्घर्ष नै अहिलेकी स्टार आङ फुर्बाको पहिलो ‘ट्रेनिङ’ बन्यो ।
‘म सानैदेखि बुवा-आमासँग चौँरीगोठमा बस्थेँ । स्कुल जान उकालो-ओरालो गर्नुपर्थ्यो । उकालोमा २ घण्टा, ओरालो चाहिँ १ घण्टा,’ उनले भनिन्, ‘मेरो पहिलो अभ्यास नै त्यही बन्यो ।’
चौँरीगोठमा बस्दा स्थानीय अर्गानिक खाना खाएर हुर्केकी उनको शरीर पनि त्यहीअनुसार बलियो थियो । जसले गर्दा सानो उमेरमै उनलाई अल्ट्रा रनिङमा दौडन सहज भयो ।
आङ फुर्बाले सन् २०२२ मा एभरेस्ट ट्रेल रेसमार्फत यात्रा सुरु गरेकी थिइन् । सुरुमा उनलाई यो अल्ट्रा ट्रेलबारे थाहा थिएन । तर आफ्नै दाइ निमा टेन्डी शेर्पाले रेसबारे जानकारी गराएपछि उनलाई पनि रुचि बढ्यो ।
१६ वर्षको उमेरमै १८६ किमी लामो रेस दौडने त्यो साहस जुटाउनु पनि चानचुने कुरा थिएन । ‘दाइले इन्टरनेटमा हेरेर यो रेसबारे मलाई भन्नुभएको थियो । त्यसपछि मलाई पनि ट्राइ गर्न मन लाग्यो,’ पहिलो रेसको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘तर सुरुमा मलाई डर लागिरा’थ्यो । दर्ता शुल्कदेखि सामानहरू जुटाउनुपर्ने, महँगो हुने । ८० हजार त दर्ता शुल्क नै तिरेको । काठमाडौं आएर जुत्तादेखि विभिन्न सामानहरू किनेँ ।’ त्यो बेला आयोजकले नै काठमाडौं बोलाएको थियो ।

‘पहिलोपटक दौडँदा कौतुहलता र डर भयो, तर पछि जित्दा रमाइलो लाग्यो । पहिलोपटक भएकोले सबै कुरा नयाँ थियो,’ उनले सुनाइन् । तर सबैलाई अचम्म पार्दै उनले त्यो ‘डेब्यु’ रेसमै पहिलो स्थान हात पारिन्, जुन उनको लागि पनि नौलो अनुभव थियो ।
‘एकदमै खुसी लाग्यो । जित्दा परिवार पनि धेरै खुसी हुनुभयो । लामो डिस्टेन्स, महँगो फि, सामानहरू नै महँगो थियो । जितेपछि राम्रो भयो,’ उनले भनिन् ।
पहिलो रेस नै जितेपछि उनलाई अब यही क्षेत्रमा लाग्ने र दौडने निर्णय गर्न गाह्रो भएन । परिवारको पनि साथ भयो । अनि उनले अन्य रेसहरू दौडन थालिन् । ‘पहिलो रेस जितेपछि मैले आफूसँग भएको स्टामिना थाहा पाएँ । मसँग भएको ऊर्जा थाहा भयो । त्यसपछि मैले यसमै निरन्तरता दिने निर्णय गरेँ ।’
अल्ट्रा ट्रेलमा उपलब्धि
आङ फुर्बाले अल्ट्रा ट्रेलमा चार वर्ष बिताउँदा सोलुखुम्बुदेखि काठमाडौंसम्म, मनास्लुदेखि जुम्लासम्म विभिन्न रेसहरूमा भाग लिइसकेकी छिन् । यस्तै उनले मलेसियामा भएको एसिया ट्रेल मास्टर र भारतको लद्दाखमा भएको फ्रोजन लेक म्याराथन पनि दौडेकी छिन् ।
देशभित्र धेरै रेस जितेकी उनले प्रायः सबैमा पोडियम फिनिस गरेकी छिन् । मलेसियामा भने उनले रेस मात्र पूरा गरिन् ।
उनले सुरुका दुई रेस (एभरेस्ट ट्रेल रेस) मा दुवैको उपाधि जितेकी थिइन् । यस्तै २०२३ मा भएको स्काई विके पिक अल्ट्रा ५५ किमीमा उनी दोस्रो भइन् ।
सन् २०२४ देखि भने उनको दौडको सहभागिताको रफ्तार पनि बढ्यो । सन् २०२४ मा शैलुङ अल्ट्रा ५५ किमीमा तेस्रो, मञ्जुश्री ट्रेल रेस १०० माइलमा तेस्रो, जुम्ला-रारा अल्ट्रा म्याराथनमा नवौँ, एसिया ट्रेल मास्टरमा सहभागी, फिस्टेल रेसमा दोस्रो भइन् । सन् २०२४ मा १२ दिनको सोलुखुम्बु ट्रेल रेसमा पनि उनले जित हात पारिन् । पातले थ्री पास ताक्सिन्दोसम्म ३१० किमी दूरी थियो ।
यस्तै सन् २०२५ मा उनले लामो दूरीका देशभित्र हुने मुख्य रेसहरूमा प्रतिस्पर्धा गरिन् । सागा दावा म्याराथनअन्तर्गत हाफ म्याराथनमा तेस्रो भइन् । सन् २०२५ को सुरुमा भएको मञ्जुश्री ट्रेल रेस उनले चोटका कारण पूरा गर्न सकिनन् । तर मुस्ताङ ट्रेल रेस १६८ किमीमा पहिलो भइन् भने मनास्लु ट्रेल रेस १३९ किमीमा दोस्रो भइन् । एभरेस्ट स्काई रेस (२०२५ नोभेम्बर) मा उनी विजेता बनिन् ।
त्यसपछि २०२६ मा उनले सुरुमै मञ्जुश्री ट्रेल रेस १०० माइलको उपाधि जित्दै सानदार सुरुवात गरिसकेकी छिन् ।
यस्तै आङ फुर्बाले २०२६ फेब्रुअरीमा भारतमा भएको पानगोङ फ्रोजन लेक ४२ किमी म्याराथनमा दोस्रो हुँदै रजत जितिन् । माइनस २१ डिग्रीको बरफमा भएको उक्त रेसमा भारतकै स्कोर्मा इदोङ पहिलो र दकाई काइन्दइत तेस्रो भए ।

यो रेसले ‘गिनिज वर्ल्ड रेकर्ड’ बाट ‘वर्ल्ड हाइएस्ट फ्रोजन लेक म्याराथन’ को सर्टिफिकेटसमेत पाएको थियो । आङ फुर्बाले उक्त म्याराथन ५ घण्टा ११ मिनेट ०१ सेकेन्डमा पूरा गरेकी थिइन् । ‘जमेको तालमाथि दौडँदा निकै रमाइलो अनुभव भएको थियो । त्यसमा पनि दोस्रो हुँदा खुसी लाग्यो ।’
वर्ल्ड च्याम्पियनसिप, युटीएमबीमा जाने लक्ष्य
नेपालभित्र लामो दूरीमा च्याम्पियन बनिसकेकी आङ फुर्बाको लक्ष्य अब विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय रेसहरूमा दौडने छ ।
‘मेरो पनि लक्ष्य भनेको त विदेशमा गएर अन्तर्राष्ट्रिय इभेन्टहरू, वर्ल्ड च्याम्पियनसिप खेल्ने नै हो । वर्ल्ड च्याम्पियनसिप ‘युटीएमबी’ मुख्य सिरिजहरूमा दौडन मन छ,’ उनले आफ्नो लक्ष्य सुनाइन्, ‘नेपालमा त लामो दूरी धेरै जितेँ । बाहिर पनि कस्तो हुनेरै’छ, आफूलाई परीक्षण गर्न पनि मन छ ।’
तर त्यसका लागि धेरै खर्च लाग्ने र स्पोन्सरहरू नहुँदा नेपालीहरूलाई गाह्रो हुने फुर्बाले बताइन् । ‘स्पोन्सर छैन भने हामीलाई गाह्रो हुन्छ । राम्रो स्पोन्सर पायो भने अन्तर्राष्ट्रिय रनहरूमा भाग लिन सजिलो हुन्छ ।’
नेपालमा धेरै राम्रा धावकहरू भए पनि सरकार र निजी क्षेत्रबाट खासै सहयोग हुन सकेको छैन । स्थानीय सरकारलाई सहयोगका लागि भन्दा पनि खासै सहयोग नपाएको आङ फुर्बाको गुनासो छ ।
‘स्पोन्सर अहिलेसम्म पाएको छैन । गाउँ/वडाका कुरा गर्यो भने पनि बजेट छैन भन्छन् । अहिलेसम्म सबै व्यक्तिगत खर्चमै दौडिरहेकी छु,’ उनले भनिन्, ‘स्थानीय सरकारले हेर्थ्यो भने पनि सहज हुन्थ्यो हामी खेलाडीलाई । अझ यो ट्रेलका खेलाडीलाई खासै सहयोग छैन । स्पोन्सरहरू भयो भने सजिलो हुन्छ ।’
धेरै अघिसम्म अल्ट्रा ट्रेल रेसबारे नेपालमा खासै चर्चा हुन्थेन । तर पछिल्लो समय नेपाली धावकहरूले विदेशमा सफलता हात पार्न थालेपछि पछिल्ला वर्षहरूमा बिस्तारै यसको चर्चा पनि बढिरहेको छ ।
‘ट्रेल रनिङ खासै चर्चामा थिएन । एक-दुई जना दिदीहरूले राम्रो गर्दै चर्चा भएपछि अहिले पछिल्लो समय यसको चर्चा बिस्तारै हुन थालेको हो । अहिले खेलाडीहरू पनि अलि बढेका छन्,’ फुर्बा भन्छिन्, ‘अल्ट्रा ट्रेल अरूभन्दा महँगो खेल हो । ‘कि उकालो-ओरालो कुदेको होला, खुस्क्यो कि क्या हो’ भन्छन् । अरूले बुझ्दैनन् । धेरैले नकारात्मक कुरा पनि गर्छन् । तर रेस जितेपछि मज्जा आउँछ ।’

आङ फुर्बाले अहिलेसम्म जति रेस दौडिइन्, सबै आफ्नै खर्चमा व्यवस्थापन गरेकी छिन् । उनको छुट्टै स्पोन्सर छैन । त्यसैले स्पोन्सर पाए अझ राम्रो गर्न सक्ने उनमा विश्वास छ ।
‘स्पोन्सर छैन । घरबाटै मिलाइरा’को छु सबै । गोठमा ६०-६५ चौँरी छन् । त्यसबाट घिउ, छुर्पीहरू उत्पादन हुन्छ । त्यही बेच्ने अनि लगानी गर्ने गरिरहेकी छु,’ उनी भन्छिन्, ‘सोलुखुम्बुमै बिक्छ सबै । सामानहरू खुम्बुतिर बिक्छ । बाहिरबाट अर्डरहरू आयो (युकेबाट) भने जान्छ ।’
त्यही चौँरीगोठबाट उत्पादन भएका सामानहरू बिक्री गरेर उनको परिवार चलिरहेको छ र उनी पनि दौडिरहेकी छिन् । उनको घरमा बुवा-आमा, दिदी, दाइ, दुई भाइ र उनी गरी ७ जना छन् ।
बुवा-आमा गोठमा बस्छन् भने अरू सबै पढाइमा छन् । उनको दाइले ब्याचलर सकाएका छन् भने दिदी ब्याचलर तेस्रो वर्ष पढ्दै छिन् । उनी आफैँ पनि पब्लिक युथ क्याम्पसमा ‘ट्राभल एन्ड टुरिजम’ विषयमा पाँचौँ सेमेस्टरमा अध्ययन गरिरहेकी छिन् । भाइ एसईई दिएको र अर्को कक्षा ३ मा पढ्छन् ।
फुर्बाले रनिङसँगै पढाइलाई पनि अघि बढाइरहेकी छिन् । रनिङ एउटा निश्चित समयसम्म मात्र हुने भएकोले राम्रो पढ्न सके त्यसले पछिसम्म फाइदा पुग्ने उनले बताइन् ।
‘रनिङ भन्ने कुरा सपना मात्र हो । भविष्यचाहिँ शिक्षामै मात्र देखिन्छ । त्यही भएर ट्रेकिङ गाइड पनि गर्छु । आफैँ सिक्दै जाने, कुद्दै जाने । सधैँ शरीरले साथ दिँदै गए पछि गएर आफैँ अर्गनाइज गर्ने लक्ष्य छ,’ उनले आफैँ केही गर्ने सोच पनि बनाइसकेकी सुनाइन्।
‘नेपालको कन्डिसनमा रनिङ कुदेर/जितेर मात्र पनि हुँदैन । त्यही भएर मैले अध्ययनपछि यो रेस गर्ने सोचेकी हुँ र त्यही भएर पनि यो विषय पढ्दै छु । कोर्स रिलेटेड छ, भविष्यका लागि ।’
‘माइन्डसेट र स्टामिना चाहिन्छ‘
यति सानो उमेरमै अल्ट्रा रनिङजस्तो लामो दूरी र उच्च स्थानमा हुने दौडमा नियमित सफलता ! यो सामान्य विषय होइन, त्यो पनि २० वर्षको उमेरमा ।
कसरी यो सम्भव भयो त ? के छ यसमा चुनौती ? आङ फुर्बा भन्छिन्– बलियो मानसिकता र स्टामिना हुनुपर्छ ।

उनले ‘हाई अल्टिच्युड’ मा हुने लगभग सबै रेस जितेकी हुन् । ‘चुनौती नै हुन्छ । तर त्यहाँको मौसम/वातावरणमा भने इन्जोय हुन्छ,’ उनी भन्छिन्, ‘यसका लागि पहिलो कुरा माइन्डसेट बलियो हुनुपर्छ । आफूसँग स्टामिना हुनुपर्छ, स्टामिना नभए काम छैन ।’
फुर्बा सफलताको सुत्र सुनाउँछिन्, ‘प्लस ट्रेनिङ गर्नुपर्छ । उकालो-ओरालोमा ट्रेनिङ चाहिन्छ । म चाहिँ बलियो नै छु जस्तो लाग्छ । किनभने म सुरुदेखि नै स्थानीय अर्गानिक खानेकुरा खाएर हुर्किएँ ।’
अन्य खेलहरू निश्चित समयमा खेलिने र चाँडै नतिजा आउने भए पनि अल्ट्रा ट्रेल रनमा लामो दूरी दौडनुपर्ने, त्यो पनि उच्च स्थानमा । कुनै रेस त एक दिन मात्र नभई २-२ दिनसम्म निरन्तर दौडनुपर्ने हुन्छ ।
उच्च स्थानमा हुने अल्ट्रा र हाई अल्टिच्युड रेसहरूमा सहभागी हुन्छु भन्न पनि ठूलो आँट चाहिन्छ । त्यसलाई नै आफ्नो जीवनशैली बनाएर कुदिरहेकी आङ फुर्बा जस्ता बलियो मानसिकता भएका खेलाडीहरू नेपालमा धेरै छन् । उनीहरूले सरोकारवाला निकायबाट उचित साथ र सहयोग पाएमा अन्तर्राष्ट्रिय स्तरमै ठूलो उपलब्धि हासिल गर्न सक्छन् ।
प्रतिक्रिया 4