+
+
Shares

दक्षिण अफ्रिकामा भेटिए १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पाइला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाको दक्षिणी तटीय क्षेत्रमा १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पाइलाहरू फेला परेका छन्।
  • नेल्सन मन्डेला विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले वेस्टर्न केपमा दुई दर्जनभन्दा बढी पाइलाहरू भेटेका छन्।
  • यी पाइलाहरू थेरोपोड्स, अर्निथोपड्स र सौरोपड्स प्रजातिका डाइनोसरहरूले छोडेका हुन् भन्ने अनुसन्धानले देखाएको छ।

११ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी तटीय क्षेत्रमा डाइनोसरका १३ करोड २० लाख वर्ष पुराना पाइलाहरू फेला परेका छन् ।

नाइस्ना नजिकैको एउटा सानो चट्टानी क्षेत्रमा फेला परेका यी पदचिह्नहरू दक्षिण अफ्रिकामा अहिलेसम्म फेला परेका सबैभन्दा कम उमेरका (योङ्गेस्ट) डाइनोसरका अवशेष हुन् ।

यसअघि, वैज्ञानिकहरूले १८ करोड २० लाख वर्षअघि भएको विशाल ज्वालामुखी विस्फोट र त्यसबाट निस्किएको लाभाले यस क्षेत्रका सबै डाइनोसरका प्रमाणहरू मेटाइदिएको विश्वास गर्थे ।

तर, यो नयाँ खोजले उक्त भयानक प्राकृतिक विपत्तिपछि पनि यस क्षेत्रमा डाइनोसरहरू अस्तित्वमा रहेको र निकै पछिसम्म घुमफिर गर्ने गरेको प्रमाणित गरेको छ ।

नेल्सन मन्डेला विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले वेस्टर्न केपको समुद्री तटमा करिब ४० मिटर लामो र ५ मिटर चौडा सानो चट्टानी भागमा दुई दर्जनभन्दा बढी पाइलाहरू फेला पारेका हुन् ।

यो क्षेत्र ज्वारभाटाको समयमा समुद्रमुनि डुब्ने गर्दछ । यति सानो ठाउँमा यति धेरै सङ्ख्यामा पाइलाहरू भेटिनुले त्यस समयमा यहाँ डाइनोसरहरूको बाक्लो उपस्थिति रहेको सङ्केत गर्दछ ।

अनुसन्धानका अनुसार, यी पाइलाहरू विभिन्न प्रकारका डाइनोसरहरूले छोडेका हुन्; जसमा ‘थेरोपोड्स’ प्रजातिका दुई खुट्टाले हिँड्ने मांसाहारी डाइनोसर, ‘अर्निथोपड्स’ प्रजातिका दुई खुट्टाले हिँड्ने शाकाहारी डाइनोसर र लामो घाँटी एवं पुच्छर भएका चार खुट्टाले हिँड्ने विशालकाय शाकाहारी ‘सौरोपड्स’ डाइनोसरहरू सामेल छन् ।

आजभन्दा १३ करोड २० लाख वर्षअघि यो क्षेत्र अहिलेको जस्तो समुद्री तट नभई नदीका किनारहरू र घना वनस्पतिले ढाकिएको दलदले क्षेत्र रहेको वैज्ञानिकहरूको अनुमान छ ।

यसअघि सन् २०१७ मा एक १३ वर्षीय बालकले सोही क्षेत्रमा डाइनोसरको दाँत फेला पारेका थिए । अहिले भेटिएका पाइलाहरूले हड्डीका अवशेषभन्दा पदचिह्नको अध्ययनबाट बढी जानकारी पाउन सकिने देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार वेस्टर्न केप र इस्टर्न केपका अन्य क्षेत्रहरूमा अझै धेरै यस्ता अवशेषहरू लुकेका हुन सक्छन् । यस खोजले दक्षिणी गोलार्धमा डाइनोसरको विकास र तिनीहरूको अन्त्य कसरी भयो भन्ने बुझ्न नयाँ आयाम थपेको छ ।

(स्रोत: साइन्स डेली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?