News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्सले वैशाख १३ देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा कर्पोरेट टी–१० लिग आयोजना गर्ने तयारी पूरा भएको जानकारी दिएको छ ।
- प्रतियोगितामा एनसेल, क्लाउडफ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेजका ६ कर्पोरेट टोली सहभागी हुनेछन् ।
१२ वैशाख, काठमाडौं । काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्सद्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिगको तयारी पूरा भएको छ ।
आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख १३ देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । कर्पोरेट टी–१० लिगमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ६ टोलीहरूः एनसेल, क्लाउडफ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेजको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक टेक्स्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले कर्पोरेट टी–१० को आयोजनालाई कलेजका लागि गर्वको विषय भएको बताएका छन् । उनले कर्पोरेट क्षेत्र र खेलकुदबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।
पोखरेलले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै युवाहरूलाई खेलकुदप्रति प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कर्पोरेट टी–१० का टेक्निकल डाइरेक्टर रविन्द्र गुप्ताले प्रतियोगितालाई प्राविधिक रूपमा उत्कृष्ट, व्यवस्थित र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गुप्ताले खेल मैदानको तयारीदेखि लिएर अम्पायरिङ, स्कोरिङ तथा समग्र खेल सञ्चालनलाई व्यवस्थित ढंगले अगाडि बढाइने जानकारी दिए । कर्पोरेट टी–१० ले कर्पोरेट क्षेत्रमा खेलकुदको स्तर उकास्नुका साथै खेलाडीहरूमा अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कर्पोरेट टी–१० का टुर्नामेन्ट डाइरेक्टर ज्योति भण्डारीले प्रतियोगितालाई सफल, व्यवस्थित र स्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले कर्पोरेट क्षेत्रलाई एउटै मञ्चमा ल्याउँदै खेलकुदमार्फत सहकार्य र सम्बन्ध विस्तार गर्ने लक्ष्य रहेको बताए । भण्डारीले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनलाई प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिँदै खेलाडी, दर्शक तथा साझेदार सबैलाई उच्चस्तरीय अनुभव प्रदान गरिने बताए । उनले सहभागी सबै टोलीहरूलाई शुभकामना दिँदै प्रतियोगिताको सफलताका लागि सम्पूर्ण सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा लिगको फेस अफ कर्पोरेट टी–१० महिला राष्ट्रिय क्रिकेटर खुसी डंगोलले खेलप्रतिको लगाव र सहभागिता बढाउन यस्ता प्लेटफर्म अत्यन्त महत्वपूर्ण रहेको र यसले महिला तथा पुरुष दुवैलाई प्रेरणा दिने धारणा व्यक्त गरेकी थिइन् ।
यस प्रतियोगितालाई टेक्स्पायर कलेजले मुख्य प्रायोजन गरेको छ भने इनर्जी पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, बैंकिङ पार्टनर आईसीएफसी फाइनान्स, इन्टरनेट पार्टनर सुबिसु, हस्पिटालिटी पार्टनर अनमोल बैंक्वेट, मेडिकल पार्टनर होप हस्पिटल, ब्रोडकास्ट पार्टनर काष्ठमण्डप टेलिभिजन, ट्राभल पार्टनर बुद्ध इन्टरनेशनल र सपोर्टेड बाई माया ग्रुप, नेपाली राइनोज, द वन्डरल्यान्ड रहेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा टिम जर्सी तथा ट्रफी समेत सार्वजनिक गरिएको थियो । कर्पोरेट टी–१० लिग वैशाख १३ देखि १६ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4