News Summary
Generated by OK AI. Editorially reviewed.- रेडबुल दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा शनिबार नेपाल पुलिस क्लबका दुवै टोलीले लगातार दोस्रो जित हात पारेका छन् ।
- पुरुषतर्फ नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई तथा महिलातर्फ सुदूरपश्चिमलाई पराजित गरेको हो ।
- लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
१२ वैशाख, काठमाडौं । रेडबुल दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत शनिबार विभागीय टोली नेपाल पुलिस क्लबको दुवै टोली विजयी भएका छन् ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले विभागीय भिडन्तमा नेपाल एपीएफ क्लबलाई सोझो सेटमा हरायो । पुलिसको यो दोस्रो जित हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा पुलिसे एपीएफलाई २५-२३, २५-२०, २५-१४ ले हरायो । पुलिसले पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गरेको थियो ।
पहिलो खेलमै रुकुम पश्चिम भलिबल क्लबलाई पराजित भएको एपीएफको पुरुषतर्फ यो लगातार दोस्रो हार हो ।
यस्तै महिलातर्फ पुलिसले सुदूरपश्चिलमँई हराउँदै लगातार दोस्रो जित हात पारेको छ । पुलिसे सुदूरपश्चिमलाई २५-१२, २५-६, २५-१८ ले हरायो ।
पुलिसले यसअघि पहिलो दिन एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।
महिलातर्फकै अर्को खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यु डायमण्ड सोझो सेटमा विजयी भएपनि दुई सेट ट्राई ब्रेकमा पुगेको थियो । न्यु डायमण्डले एभरेष्टलाई २८-२६, २६-२४, २५-१४ ले पराजित गरेको हो । न्यु डायमण्डले यसअघि सुदूरपश्चिमलाई पराजित गरेको थियो ।
महिलातर्फ पुलिस र न्यु डायमण्डले लगातार दुई खेल जित्दे ६ अंक जोडेका छन् ।
हेल्प नेपाल स्पोर्ट्स क्लबले खिल्जी युवा क्लबलाई पराजित गरेको छ । हेल्प नेपालले खिल्जीलाई २५-१९, २५-२०, ३१-२९ ले पराजित गरेको हो ।
हेल्प नेपालको यो लगातार दोस्रो जित हो । हेल्प नेपालले पहिलो खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई पराजित गरेको थियो ।
यस्तै रुकुम पश्चिमले कोशी प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा रुकुम पश्चिमले एपीएफलाई पराजित गरेको हो ।
पुरुषतर्फ नेपाल पुलिस क्लब, हेल्प नेपाल र रुकुम पश्चिमसँगै त्रिभुवन आर्मी क्लबले पनि लगातार दुई खेल जित्दै समान ६ अंक जोडेको छ ।
एनभीए लिगमा आइतवार पनि पुरुषतर्फ ३ र महिलातर्फ २ गरी कूल ५ खेल हुनेछ ।
महिलातर्फ बिहान ९ बजे एपीएफ र सुदूरपश्चिम तथा बिहान ११ बजे न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच दिउँसो १ बजे खेल हुनेछ भने रुकुमु पश्चिम र खिल्जी युवा क्लबबीच दिउँसो ३ बजे तथा हेल्प नेपाल र कोशी प्रदेशबबीच साँझ ५ बजे खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा भइरहेको लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ । ९ दिनसम्म सञ्चालन हुने लिगमा पुरुष र महिलातर्फ गरी कूल ४५ खेल हुनेछ । सिंगल राउण्ड रोविन लिगपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । दुवैको विजेताले समान १० लाख पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4