News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत र युवा पत्रकार नायक पौडेललाई सम्मानित गरेको छ ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मञ्चको २१औं साधारण सभामा दुवै पत्रकारलाई सम्मानपत्र प्रदान गरेका थिए ।
१३ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान २०८३’ बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन्।
मञ्चको २१औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे । अग्रज सम्मान पाएका राउतले सम्मान पत्र सहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।
हाल लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशन सिंह राउतले झन्डै ३ दशक खेलकुद पत्रकारितामा बिताएका छन् । सो क्रममा उनले श्री सगरमाथा र एभरेस्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए । साथै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए ।
यस क्रममा उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता देखि एसियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफी सम्मको फिल्ड रिपोर्टिङ गरेका छन् ।
रोशनले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् ।
सम्मान प्राप्त गरेपछि रोशन सिंह राउतले भने, ‘मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु । तर यो सम्मान मेरो लागि अति विशेष छ । किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ ।’
यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै द काठमान्डु पोस्ट अंग्रेजी दैनिकमा काम गरेका छन् ।
कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक अनि अंग्रेजीमा स्नाकत्तोर गरेका उनले गत वर्ष एएफसी महिला एसियन कप छनोट कप र टी-२० क्रिकेट विश्वकपमा उत्कृष्ट समाचार सम्प्रेषण गरेका थिए ।
पुरस्कार प्राप्त गरेपछि उनले भने, ‘अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा म यो पुरस्कारको हकदार हुन सकें । यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ ।’
समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारण सभाको सफलताको कामना गरेका थिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन समारोहको सभापति नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रममा उपस्थित अतिथिहरूलाई धन्यवाद दिएका थिए।
प्रतिक्रिया 4