News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना सुदूरपश्चिममा स्वास्थ्य शिक्षा र सेवामा रूपान्तरणको बलियो आधार बनेको छ।
- विश्वविद्यालयले स्थानीय स्वास्थ्य चुनौतीहरू जस्तै सिकलसेल एनिमिया र मातृ–शिशु स्वास्थ्यमा केन्द्रित पाठ्यक्रम विकास गरी व्यावहारिक अभ्यासलाई पाठ्यक्रममा समावेश गरेको छ।
- डिजिटल स्वास्थ्य प्रणालीको प्रयोगले सुदूरपश्चिमका दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा र स्वास्थ्य पहुँच विस्तार गर्ने सम्भावना बढाएको छ।
मुलुकको सुदूरपश्चिम क्षेत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु शैक्षिक संरचना थपिनु मात्र होइन यो नेपालको स्वास्थ्य प्रणालीलाई रूपान्तरण एवं सहयोग गर्ने बलियो ऐतिहासिक टेको पनि हो । वर्ल्ड फेडेरेशन फर मेडिकल एजुकेशन २०१२ र वर्ल्ड हेल्थ अर्गनाइजेशन २०१० का अध्ययनले देखाएको मान्यता अनुरुप चिकित्सा शिक्षाको अन्तिम उद्देश्य भनेको नागरिकको स्वास्थ्य स्तरमा सुधार ल्याउनु हो ।
त्यसैले यो विश्वविद्यालयको सफलता जनशक्ति उत्पादन मात्र नभएर समुदायमा देखिने स्वास्थ्य सुधार, पहुँचयोग्य सेवा र जनविश्वासको सकारात्मक मापनमा आधारित हुनुपर्छ । नेपालको भौगोलिक संरचनाको विविधता र सामाजिक असमानतामा सुदूरपश्चिम लामो समयदेखि पछाडि परेको क्षेत्रको रूपमा चिनिंदै आएको छ । तर अब यो क्षेत्रमा विश्वविद्यालयको स्थापनाले स्वास्थ्य शिक्षा र सेवाको नमूना केन्द्र बन्ने सम्भावनातर्फ उन्मुख हुँदैछ ।
सुदूरपश्चिम प्रदेश: भौगोलिक संरचना
सुदूरपश्चिम प्रदेश ९ जिल्लाहरू; कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला समेटेर बनेको प्रदेश हो । यहाँको भौगोलिक संरचना तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको कारण स्वास्थ्य सेवाको पहुँचलाई जनस्तरमा चुनौतीपूर्ण बनाएको छ ।
मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडीआई) को आधारमा अछाम, बाजुरा बझाङ्ग, डोटी र दार्चुला तुलनात्मक हिसाबले पछाडि परेका जिल्लाहरू जहाँ स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधार कमजोर रही राष्ट्रिय प्रवाहमा आफूलाई सबल भन्दा पनि मानव विकास सूचकांकको न्यून तथ्यको तालिकामा सधैं पछाडि भन्ने अनुभूतिको सामना वर्षौंदेखि गर्दै आएका छन् ।
कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला भारतसँग सिधा सीमा जोडिएका जिल्लाहरू भएका हुनाले सीमापार आवागमन र आपतकालीन स्वास्थ्य सेवामा रणनीतिक महत्व राख्छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रदत्त ऐन मुताविक यसको व्यवस्थापकीय संरचना बनिसकेको छ ।
विधागत कार्ययोजना निर्माणमा आन्तरिक एवं बाह्य सहयोग तथा परामर्शलाई एकीकृत गर्दै प्राज्ञिक र स्वास्थ्य सेवाको थालनी वा सम्पन्न गर्ने दिशामा विश्वविद्यालयले आफ्नो गृहकार्यलाई तीव्र बनाउने कार्यको आरम्भ गरिसकेकोे यकिन गर्न सकिन्छ ।
जनशक्ति उत्पादन हुनुपूर्व जनशक्तिको अभ्यासलाई मध्यनजर गर्दै विषय र विधाभित्र कस्तो पाठ्यसंरचना र पाठ्यक्रमले शैक्षिक एवं समुदायको मर्म र भावनालाई आत्मसात् गरी व्यावहारिक र सैद्घान्तिक शिक्षालाई समानान्तर तादात्म्यता कायम गर्न सकिन्छ त्यसैको सेरोफेरोमा यो लेख केन्द्रित छ ।
समुदायकेन्द्रित शैक्षिक दृष्टिकोण
यस विश्वविद्यालयको शिक्षण विधि अब परम्परागत कक्षा केन्द्रित ढाँचामा सीमित रहनुहुँदैन । समुदायमा आधारित सिकाइ शिक्षा, समस्यामा आधारित सिकाइ र अन्तर विषयक वा अन्तरविधात्मक दृष्टिकोण यसको शैक्षिक मेरुदण्ड हुनुपर्छ । चिकित्सा शिक्षासँग सामाजिक विज्ञान, जनस्वास्थ्य र मेडिकल ह्युमानिटीको एकीकृत संरचनाले मात्र आजको अवस्थामा विद्यार्थीलाई प्रतिस्पर्धी र पूर्ण चिकित्सक बनाउँछ ।
स्थानीय स्वास्थ्य चुनौती सम्बोधन गर्ने पाठ्यक्रम
मातृ तथा शिशु स्वास्थ्य, कुपोषण, सरुवा रोग, मानसिक स्वास्थ्य समस्या र सिकलसेल एनिमिया जस्ता चुनौती यो भेगका प्रमुख स्वास्थ्य समस्या हुन् । विशेषगरी थारू समुदायमा देखिने सिकल सेल एनिमियाले दीर्घकालीन रूपमा नै स्वास्थ्य चुनौती सिर्जना गरेको छ, जसको अध्ययन, स्क्रिनिङ्ग र उपचार विश्वविद्यालयको प्राथकितामा हुनुपर्छ ।
यो विश्वविद्यालयले सुदूरपश्चिमका अस्पतालहरूलाई स्याटलाइट अस्पतालको सञ्जाल निर्माण तथा अध्ययनरत चिकित्सा कार्यक्रमका स्नातक र स्नातकोत्तर तहका विधार्थीलाई ती अस्पतालहरूमा व्यावहारिक अभ्यास गराउन शैक्षिक सत्रको अन्तिम वर्षमा कम्तीमा ६ महिना संलग्न गराउन पाठ्यक्रममा नै समावेश गर्न सके झनै प्रभावकारी हुने देखिन्छ ।
ग्रामीणकेन्द्रित स्वास्थ्य जनशक्ति विकास
विश्व स्वास्थ्य संगठनका अनुसार राजधानी बाहिरका स्वास्थ्य शिक्षण संस्थाबाट उत्पादित चिकित्सा जनशक्तिहरू ग्रामीण क्षेत्रमा सेवा दिन इच्छुक हुन्छन् । यसको अर्थ सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय स्थापना हुनुले ग्रामीण स्वास्थ्य सुधारको रणनीतिक कदमलाई अझ सबलीकरण बनाउनु हो । नेपालमा विगतका वर्षदेखि चिकित्सा शिक्षा आयोग मार्फत एकीकृत प्रवेश परीक्षा सञ्चालन र केन्द्रीकृत भर्ना प्रणालीको प्रभावकारी कार्यान्वयन प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र निष्पक्ष बनाएको छ । यसले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षामा केन्द्रित हुन थप सहयोग पुर्याउने देखिन्छ ।
डिजिटल स्वास्थ्य प्रणाली : नवप्रवर्तनको आधार
सूदूरपश्चिम जस्तो भौगोलिक रूपले चुनौतीपूर्ण क्षेत्र जहाँ पहुँचको समुचित विस्तारमा डिजिटल स्वास्थ्य प्रणाली अत्यन्त महत्वपूर्ण छ । टेलिमेडिसिन, इलेक्ट्रोनिक्स हेल्थ रेकर्ड र मोबाइल हेल्थ सेवाले दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा र परामर्श पुर्याउन मद्दत गर्छ । यस सन्दर्भमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालमा डिजिटल स्वास्थ्य प्रणाली र समुदायमा आधारित सेवाको अग्रगामी अभ्यास र कार्यान्वयन सम्पन्न गरी उदाहरण प्रस्तुत गरिसकेको छ ।
विशेषगरी ग्रामीण स्वास्थ्य केन्द्र र सेवाग्राहीसँगको डिजिटल कनेक्टिभिटी डेटामा आधारित स्वास्थ्य सेवा व्यवस्थापनमा यो प्रतिष्ठानको योगदान अनुकरणीय छ । यस मोडल अनुरुप प्रविधिको सही प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रको स्वास्थ्य सेवा पहुँचलाई गुणात्मक हिसाबले परिवर्तन गर्न सक्षम बनाउन सक्छ । यही अनुभवलाई अनुकरण गर्दै सुदूरपश्चिमको यो विश्वविद्यालयले सुदूरपश्चिममा अझ व्यवस्थित, विस्तारयोग्य र समुदायमा केन्द्रित डिजिटल स्वास्थ्य प्रणालीको विकास गर्न स्वास्थ्य सूचनाप्रविधिको मूल प्रवाह आफूमा केन्द्रित गर्न सक्छ ।
अनुसन्धान, नवप्रवर्तन, दिगोपन र रोजगारीको अवसर
अनुसन्धान जस्तो गहन विधालाई स्थानीय स्वास्थ्य समस्यामा आधारित भई विश्वविद्यालयबाट गरिएको अनुसन्धानले नीति निर्माणलाई प्रत्यक्ष रूपमा सहयोग प्रदान गर्दछ । विश्वविद्यालयलार्ई शिक्षण संस्था मात्र होइन ज्ञान उत्पादन र नवप्रवर्तन केन्द्रको रूपमा विकास गरी परिवर्तित विश्वको समानान्तर पदचापमा सँगसँगै हिंडाउनु पनि हो । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्य सेवा, प्राज्ञिक सेवा सँगसँगै रोजगारी सिर्जना, पूर्वाधार विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण एवं सबलीकरण र सामाजिक सचेतनामा समेत दीर्घकालीन प्रभावको प्रत्याभूति दिलाउन सामर्थ्य प्रदान गर्नेछ ।
विश्वविद्यालयको परिकल्पना : गुणस्तर, मान्यता र अन्तर्राष्ट्रिय सहकार्य
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिकल्पना गर्नुहुने सुदूरपश्चिम क्षेत्रका विद्वान, विशेषज्ञ र प्रबुद्घ व्यक्तिहरूले यसको सुरुआती सन्सेप्ट पेपर तयारी गर्दा यो विश्वविद्यालयको गुणस्तर, मान्यता र अन्तर्राष्ट्रिय सहकार्य जस्तो आदर्शलाई प्रमुख दृष्टिकोणमा राखी विश्वविद्यालय स्थापनामा संलग्न हुनुभएको स्मरण गर्नैपर्छ । स्थापनाकालमा उहाँहरूले गर्नुभएको विगतको काम कारबाही पक्कै पनि ऐतिहासिक साक्षी बन्नेछन् वा हुनेछन् ।
WFME र WHO का मापदण्ड अनुसार गुणस्तर सुधारमा निरन्तरता, मूल्यांकन र अन्तर्राष्ट्रिय सहकार्य विश्वविद्यालयलाई भावी दिनमा आवश्यक छ । यसले विश्वविद्यालयलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिस्तरमा पनि विश्वसनीय र प्रतिस्पर्धी बनाउँछ ।
निष्कर्ष: “झिक्कै झिक्कै” बाट रूपान्तरणको यथार्थतर्फ
सुदूरपश्चिममा पहिले पहिलेको प्रचलित भनाइ र आज संगीतमय सूदूर पश्चिमेली भाकामा गुञ्जने “सुदूर अब दूर नै, झिक्कै झिक्कै” त्यो दूरीको अभिव्यक्ति मात्र थिएन त्यो सेवा, अवसर र राज्यको पहुँचसँग गहिरो सामाजिक अनुभूति थियो । तर अहिले परिस्थिति फेरिंदैछ । सडक, शिक्षा, स्वास्थ्य संस्था विशेषगरी डिजिटल स्वास्थ्य प्रणालीको विस्तारले त्यो दूरी क्रमश: घटाउँदै छ । प्रविधि र संस्थागत विकासले “झिक्कै झिक्कैै” लाई अब सुदूरपश्चिमले यथार्थमै सावित गराउँदैछ ।
अन्त्यमा, शिक्षा जब समुदायमा पुग्छ, सेवा गाउँ–गाउँमा विस्तार हुन्छ र डिजिटल स्वास्थ्य प्रणालीले भौगोलिक दूरीलाई छोट्याउँछ, त्यसपछि सूदूरपश्चिम नाम मात्र होइन नेपालको स्वास्थ्य क्रान्तिको वास्तविक बिम्ब बन्नेछ ।
(खड्का, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)
प्रतिक्रिया 4