+
+
Shares

स्थानीय तहले उत्पादनमूलक क्षेत्रमा पनि काम थालेका छन् : सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १८:१७

१३ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले स्थानीय तहले अनुत्पादक क्षेत्रमा मात्रै लगानी नगर्ने बताउँदै उत्पादनमूलक क्षेत्रमा पनि काम थालेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जुगल क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा ‘जुगल माउण्ट एभरेस्ट भ्यू प्वाइन्ट’ पहिचान गरेर जुगल गाउँपालिकाले त्यसलाई प्रमाणित गरेको बताए ।

स्थानीय तहका बजेट प्राय: अनुत्पादक क्षेत्रमा खर्च भइरहेको आलोचना भइरहँदा जुगल गाउँपालिकाले पर्यटन पूर्वाधारमा लगानी गरेर सकारात्मक सन्देश दिएको उनको भनाइ छ । पर्यटकीय क्षेत्रको पहिचानसँगै त्यस क्षेत्रको पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै उनले बलेफीदेखि तेम्बाथानसम्मको सडक स्तरोन्नती सन्तोषजनक नभएको गुनासो गरे ।

सापकोटाले जुगल हिमालसम्म सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

‘हाम्रा स्थानीय तहका बजेटहरू अनुत्पादक मुलक क्षेत्रहरूमा लगानी भए भनेर टिप्पणी भइराखेको सन्दर्भमा जुगल गाउँपालिकाले महत्त्वपूर्ण क्षेत्रमा लगानी गरेको छ यसको समेत म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । पर्यटन क्षेत्रमा, पर्यटन उद्योगमा लामो व्यावसायिक अनुभव र अभ्यास गर्नुभएका विशिष्ट महानुभावहरूका यहाँ अनुभवहरू आए, सुझावहरू आए, हामी सबैले सुनेका छौं,’ उनले भने, ‘मूलत: हामी राजनीतिक व्यक्तिहरूले यहाँ प्रतिवद्धता व्यक्त गर्नुपर्ने कुरा के छ भने बलेफीसम्म अरनिको लोकमार्ग नै छ । बलेफीदेखि बलेफी, ढाँडे, कात्तिके हुँदै तेम्बाथान सम्मको सडक छ, सहायक राष्ट्रिय राजमार्ग, लामो समयदेखि त्यो भनेजस्तो चित्तबुझ्दो ढङ्गले काम भएको छैन ।’

मानव बस्तीभन्दा माथिल्लो क्षेत्रमा प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्ने सापकोटाको भनाइ थियो । बस्तीसम्म मात्र सडक विस्तार गरेर त्यसपछि पदमार्ग विकास गर्नुपर्ने बताउँदै उनले जुगल ट्रेकमा ३६ करोड रुपैयाँ बराबरको लगानीमा पूर्वाधार बनिसकेको जानकारी दिए ।

‘हामीले भनेको मानव बस्ती भन्दा तलतिर मात्रै जलविद्युत परियोजनाहरू हुँदाखेरी प्रभावकारी हुन्छ । तर अब अहिले त मानव बस्ती भन्दा माथि पनि गएर जलविद्युत परियोजनाहरूले विस्फोटनका विस्फोट गर्ने, अरु वन फँडानी गर्ने लगायतका विवादहरू पनि अहिले आएका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?