News Summary
Generated by OK AI. Editorially reviewed.- कन्फ्युसियसले भने, 'याद गर, एउटा अत्याचारी शासक नरभक्षी बाघभन्दा धेरै खतरनाक हुन्छ।'
- २०४६ देखि २०८२ सम्म कांग्रेस, एमाले, राप्रपा र माओवादीले सत्ताको 'म्युजिकल चेयर' खेल्दा जनताको अवस्था सुधारिएन।
- बालेन शाहको नेतृत्वमा बनेको सरकारले परिणाममुखी कार्यशैली, प्रणालीको विकास, पारदर्शिता र आर्थिक क्रान्ति चुनौतीहरू सामना गर्नुपर्छ।
चिनियाँ महान् दार्शनिक कन्फ्युसियस एक दिन यात्राको क्रममा गाउँको बाटोहुँदै अघि बढ्दैथिए। गाउँ नजिकको पहाडको फेदीमा रहेको चिहानघाटमा एक महिला घुँडा टेकी बिलौना गर्दै थिइन्। त्यहाँ तीनवटा चिहानका लस्कर थिए। त्यो हृदयविदारक दृश्य देखेर कन्फ्युसियस अडिए। के भयो ? किन रोएको ? ती महिलालाई सोधे।
महिलाले आँसु पुछ्दै भनिन्– ‘यो गाउँमा एउटा नरभक्षी बाघ छ। त्यसले पहिले मेरो ससुरालाई खायो। त्यसपछि मेरो श्रीमान्लाई खायो। मेरो एउटै छोरा थियो। आज त्यो नरभक्षी बाघले उसलाई नि मार्यो’– चिच्याउँदै–रुँदै भन्न थालिन्।
कन्फ्युसियस स्तब्ध भए। उनले सहानुभूति प्रकट गर्दै भने, ‘यो गाउँ साह्रै भयानक रहेछ, तपाईं यो गाउँ छोडेर अर्को सुरक्षित गाउँमा किन जानुहुन्न?’
महिलाले आँसु पुछिन्, र गम्भीर हुँदै भनिन्, ‘मैले यो गाउँ नछोड्नुको कारण एउटै छ– यहाँको शासक कम्तीमा त्यो परको गाउँको शासक जस्तो अत्याचारी छैन।’
कन्फ्युसियसले आफ्ना चेलातर्फ फर्केर भने– ‘याद गर, एउटा अत्याचारी शासक नरभक्षी बाघभन्दा धेरै खतरनाक हुन्छ।’
सामान्य रूपमा आमजनले नेता कस्तो असल छ कि खराब भनेर सोच्दछन्। तर, कन्फ्युसियस भन्छन्– ‘समस्या नेता या शासक कस्तो छ भन्ने होइन। समस्या भनेको जब नेता, नेता जस्तो हुँदैन; जब शासक, शासक जस्तो बन्दैन। समस्या त्यही हो। जब पदले आफ्नो मर्यादा र कर्तव्य बिर्सिन्छ, तब समाजमा अराजकताको बीउ रोपिन्छ।’
प्रणालीमा परिवर्तन तर प्रवृत्तिको निरन्तरता (२०४६–२०८२)
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको उदय भयो। २०४८ को पहिलो निर्वाचनमा नेपाली कांग्रेसले बहुमतको सरकार बनायो। जनतामा आशा पलायो, तर आन्तरिक कलहले त्यो सरकार ढल्यो। त्यसपछि वर्षौं सत्ताको लुकामारी चल्यो। कांग्रेस, एमाले र राप्रपा पालैपालो सत्तामा रहे। अर्कोतर्फ, बहुदलीय व्यवस्थाप्रति असन्तुष्ट माओवादीले सशस्त्र विद्रोह शुरु गर्यो। यही समयमा दरबार हत्याकाण्ड भयो, जहाँ तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो। मुलुक चरम अस्थिरतामा फस्यो।
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए। संविधानले कल्पना गरेको ‘आलङ्कारिक राजा’को बदला ‘निरङ्कुश राजा’ बन्ने बाटोमा लाग्दा तत्कालीन सात दल र नेकपा माओवादी मिले र दोस्रो जन–आन्दोलनको घोषणा गरे। जनताले साथ दिए। राजतन्त्र ढल्यो, माओवादी मूलधारको राजनीतिमा आयो। २०७२ मा नयाँ संविधान जारी भयो।

२०४६ देखि २०८२ सम्मको ३६ वर्षमा कांग्रेस, एमाले, राप्रपा तथा माओवादीले सत्तालाई ‘म्युजिकल चेयर’ बनाए। सिंहदरबारका भित्तामा २८ वटा प्रधानमन्त्रीका तस्वीर फेरिए। पात्र त फेरिए तर जनताको अवस्था फेरिएन।
जेनजी विद्रोह र निर्वाचन
‘जेनजी’ विद्रोह केका लागि थियो ? ‘जेनजी’ २०६२/६३ को आन्दोलनको वरपर जन्मिएको (१२–२८ वर्ष) समूहको पुस्ता हो। यो शताब्दीको अत्यन्तै शक्तिशाली सञ्चारमाध्यम इन्टरनेट र एआई (कृत्रिम बुद्धिमत्ता) को विकासमा हुर्किएको पुस्ता हो। यो दलगत राजनीतिमा त्यति चासो नराख्ने पुस्ता पनि हो।
जेनजीले देखे– नेताहरूले सत्ता बदले, कुर्सी बदले तर राजकाजको शैली बदलेनन्। सरकारमा आएपिच्छे नारा बदले तर व्यवहार बदलेनन्। सत्तालाई म्युजिकल चियरको कुर्सी जस्तो बनाए। पालै–पालो सत्ताको कुर्सीमा बसे, तर व्यवहार कहिल्यै बदलेनन्। सोच कहिल्यै बदलेनन्।
ऊर्जाशील सोच भएका, नयाँ अनुहारले सरकार चलाऊ भन्दै २०८२ भदौ २३ मा विद्रोह गरे। भदौ २४ गतेको विद्रोहले अराजक रूप लियो। मुलुकले जन–धनको अकल्पनीय क्षति बेहोर्नुपर्यो। कांग्रेस–एमाले गठबन्धनको जगमा उभिएको ओलीको सरकार तासको घर जस्तो गर्ल्याम–गुर्लुम ढल्यो। सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। २०८२ फागुनको २१ मा संसदीय निर्वाचन सम्पन्न भयो।
जेनजी के चाहन्छन् ?
जेनजीले चाहेको व्यक्ति बालेन्द्र (बालेन) शाहको नेतृत्वमा आज एउटा शक्तिशाली सरकार त बनेको छ तर शक्तिशाली हुनु मात्र पर्याप्त होइन; सरकार विश्वसनीय बन्न सक्नुपर्छ। विश्वसनीय हुनका लागि जनताका अपेक्षाहरू पूरा गर्न जरूरी छ। जनताका चाहना स्पष्ट छन्: काम छिटो र सही ढङ्गले होस्, विकास न्यायसङ्गत होस्, नीतिहरू केवल कागजमा मात्र सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन होउन्। भ्रष्टाचारको अन्त्य होस्। आर्थिक समृद्धि र रोजगारीको सुनिश्चितता होस्।
जेनजीले सडकबाट दिएको सन्देश स्पष्ट छ– उनीहरू अब झुटा आश्वासन सुन्न तयार छैनन्। यो पुस्ता ‘किन्तु–परन्तु’ को अल्झन चाहँदैन; उनीहरूलाई हाताहाती परिणाम चाहिन्छ। अबको सरकार पुरानो शैलीमा चल्न हुँदैन। यदि पुराना दलहरूले गरेका गल्तीहरू फेरि दोहोरिए भने, यो पटकको असन्तोष सडकमा मात्र सीमित रहने छैन। यसले सिङ्गो प्रणालीलाई नै हल्लाउनेछ र मुलुकको भविष्यलाई एउटा अनिश्चितताको बाटोमा धकेल्नेछ। त्यसैले, बालेनको अगुवाइमा रहेको यो सरकारका लागि यो अवसर केवल सत्ता प्राप्तिको अवसर होइन, बरु इतिहास लेख्ने एउटा महत्वपूर्ण क्षण हो।
बालेन सरकारका मुख्य चुनौती
बालेन शाहको नेतृत्वमा शक्तिशाली सरकार भए पनि यसका अगाडि फलामका चिउरा चपाउनु सरहका चुनौती छन्। जेनजीले सडकमा रगत बगाएको केवल ‘पात्र’ फेर्नका लागि मात्र होइन, उनीहरू ‘प्रवृत्ति’ फेर्न चाहन्छन्। बालेन सरकारसामु रहेका मुख्य चार चुनौती यस प्रकार छन्:
१. परिणाममुखी कार्यशैली: जेनजी पुस्ता ‘प्रक्रिया’ भन्दा ‘नतिजा’ मा विश्वास गर्छ। उनीहरू फाइल घुमेको होइन, काम फत्ते भएको हेर्न चाहन्छन्। ‘आज होइन भोलि’ भन्ने कर्मचारीतन्त्रको पुरानो रोगलाई चिरेर तत्काल नतिजा दिनु नै यो सरकारको पहिलो परीक्षा हो।
२. प्रणालीको संस्थागत विकास: व्यक्ति लोकप्रिय भएर मात्र देश चल्दैन, पद्धति बलियो हुनुपर्छ। बालेनले आफ्नो व्यक्तिगत ‘क्रेज’लाई संस्थागत प्रणालीमा ढाल्नुपर्नेछ। एउटा यस्तो संयन्त्र निर्माण गर्नुपर्दछ, जहाँ जो व्यक्ति आए पनि सुशासनको गति निरन्तर अघि बढिरहोस्।
३. पारदर्शिताको कसी: पुराना दलहरूलाई ‘अपारदर्शी निर्णय’ र ‘क्रोनी क्यापिटलिज्म’ (आसेपासे पोस्ने नीति) ले सिध्याएको हो। बालेन सरकारले हरेक ठूला निर्णयहरूमा जनतालाई साक्षी राख्नुपर्छ। ‘के र किन भइरहेको छ’ भन्ने प्रश्नको उत्तर जनताले स्पष्ट रूपमा पाउनुपर्छ।
४. आर्थिक क्रान्ति र रोजगारी सिर्जना: सबैभन्दा जटिल चुनौती भनेको विदेश पलायन भइरहेको युवा शक्तिलाई स्वदेशमै रोक्नु हो। केवल राष्ट्रवादको नाराले मात्र पेट भरिंदैन। उत्पादनमुखी अर्थतन्त्रको जग बसाल्नु र सूचनाप्रविधि (आईटी) देखि कृषि र पर्यटनसम्म रोजगारीका ढोकाहरू खोल्नु यो सरकारको अनिवार्य दायित्व हो।
इतिहासको अन्तिम फैसला
बालेन सरकारका लागि यो केवल अवसर होइन, इतिहास लेख्ने एउटा दुर्लभ क्षण पनि हो। यदि यो सरकारले पनि पुरानै शैलीमा– भ्रष्टाचार, कुशासन र अहंकारको बाटो समात्यो भने– असन्तोषको अर्को लहर आउन धेरै समय लाग्ने छैन। र, त्यो लहरले केवल सरकार मात्र होइन, यो सिङ्गो लोकतान्त्रिक व्यवस्थालाई नै जोखिममा पार्न सक्छ।
राजनीतिलाई ‘पेशा’ बाट ‘सेवा’ मा रूपान्तरण गर्ने यो सम्भवत: अन्तिम मौका हो। सत्तालाई जिम्मेवारी ठान्ने कि शक्तिको मात ? यसको निर्णय अब बालेन र उनको टोलीको हातमा छ।
अन्त्यमा, बालेन सरकारप्रति जनताको ठूलो भरोसा छ। विश्वास छ। यो विश्वास केवल ‘मत’ को अंकगणित होइन; यो त दशकौंदेखिको पीडा, अपमान र अभावबाट जन्मिएको एउटा अन्तिम पुकार हो। जनताको आँसुको मूल्य धेरै महँगो हुन्छ, त्यसैले इतिहासको पानामा ‘नायक’ बन्ने कि ‘खलनायक’, त्यो कर्मले नै तय गर्नेछ।
इतिहासको अदालतमा पुनरावेदन हुँदैन– त्यहाँ फैसला एकपटक हुन्छ र सधैंका लागि। अहंकारी, दम्भी शासक बदल्न सडक चाहिएला, तर देश बदल्न केवल सुदृढ संकल्प र स्वच्छ नियत भए पुग्छ।
प्रतिक्रिया 4