+
+
Shares

दलहरूलाई पत्र : सांसद्लाई स्वकीय चाहिए लिखित माग गर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दललाई पत्र लेखेर सांसदहरूलाई स्वकीय चाहिएको हो भने माग गर्न भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद् सचिवालयले सांसद्का लागि स्वकीय सचिवको सुविधा चाहिएको खण्डमा संसदीय दलले लिखित माग गर्नुपर्ने व्यवस्था गरेको छ।
  • प्रतिनिधिसभाका ६ दल र स्वतन्त्र सांसदलाई स्वकीय सचिव माग गर्न पत्र लेखिएको छ, तर अहिलेसम्म कुनै दलले माग गरेको छैन।
  • सांसद्का स्वकीय सचिवको सुविधा दिन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो, तर प्रधानमन्त्रीको तहबाट चासो व्यक्त भएपछि निर्णय हुन सकेको छैन।

१९ वैशाख, काठमाडौं । सांसद्का लागि स्वकीय सचिवको सुविधा चाहिएको छ भने सम्बन्धित दलले लिखित माग गर्नुपर्ने भएको छ । संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व पार्टीका संसदीय दललाई पत्र लेखेर स्वकीय चाहिए माग गर्न भनेको हो ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले यही वैशाख १४ गते संसदीय दलहरू र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेका हुन् ।

‘स्वकीय सचिवको व्यवस्थापनको सम्बन्धमा’ शीर्षक राखेर पठाइएको पत्रमा ‘माननीय सदस्यहरुको लागि स्वकीय सचिवको व्यवस्था गर्नको लागि प्रक्रिया अगापडि बढाउन सबै दलहरू र स्वतन्त्र समेतको तर्फबाट लिखित माग प्राप्त गर्न निर्देशन भएअनुसार’ पत्राचार गरिएको उल्लेख छ ।

प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दललाई पत्र लेखेर सांसदहरूलाई स्वकीय चाहिएको हो भने माग गर्न भनिएको छ ।

प्रतिनिधिसभामा एक जना महवीर पुन स्वतन्त्र सांसद् छन् । उनलाई पनि यही व्यहोराको पत्र लेखिएको छ । शनिबारसम्म कुनै पनि दलले सांसद्का लागि स्वकीय सचिव माग गरेर संसद् सचिवालयमा निवेदन दिएका छैनन् ।

संसद् सचिवालयका अनुसार दलहरूबाट माग भएको खण्डमा त्यसलाई समावेश गरेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान्छ ।

यसअघि यस्तै प्रक्रिया अनुसार यो विषय अगाडि बढेको थियो । तर, त्यसले पुर्णता पाउन सकेन ।

संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको यही वैशाख १ गतेको बैठकले सांसद्हरूलाई स्वकीय सचिवको सुसिवधा दिने प्रक्रिया अघि बढाएको थियो ।

उक्त बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । लगत्तै संघीय संसद् सचिवालयले सांसद्का स्वकीय सचिव ब्युँताउने गरी भएको निर्णयको जानकारी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठायो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले थप प्रक्रिया अगाडि बढाएको थियो । तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)कै तहबाट यो विषयमा चासो व्यक्त भएपछि निर्णय हुन सकेन ।

‘सांसद्का स्वकीय सचिव ब्युँताउने हो भने प्रतिनिधिसभाका २७५ जना सांसदले हस्ताक्षरसहित माग गर्नुपर्ने विषय प्रधानमन्त्रीको तहबाट आयो । त्यसपछि यो विषय नै अलमलमा पर्‍यो,’ एक नेताले भने ।

यो विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा छलफल समेत भएको छ । उक्त छलफलमा विपक्षी दलहरूले सांसद्लाई स्वकीय सचिवको सुविधा दिने विषय सरकारको जिम्मेवारीको विषय भएकाले सरकारले नै निर्णय गर्नुपर्ने र सांसद्हरूले माग गर्ने विषय स्वीकार गर्न नसकिने अडान राखे ।

प्रत्येक सांसदले माग गर्नुपर्ने विषय अगाडि बढाउन गाह्रो हुने भएपछि विकल्पको रुपमा संसदीय दलले माग गर्ने र त्यसआधारमा थप प्रक्रिया अगाडि बढाउन लागिएको हो । यस अन्तर्गत संसद् सचिवालयले संसदीय दलहरू र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर स्वकीय सचिवको सुविधा चाहिए माग गर्न भनेको हो ।

सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसद्का स्वकीय सचिवको पद खारेज गरेको थियो । त्यसबेला सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा खोसेको थियो ।

खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो । तर, यो निर्णयप्रति त्यसबेलै संघीय संसद्का तत्कालीन पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए ।

गत कातिक १८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर तत्कालीन सभामुख देवराज घिमिरेसहितका संसद्का पदाधिकारीले असन्तुष्टि जनाएका थिए ।

गत ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । जसमा अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ ।

यसैका आधारमा सांसद्हरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको हो ।

संंघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।

यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची–२ को क्रमसंख्या २ र ३ मा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो ।

यसप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला सांसद्का स्वकीय सचिवको पद ब्युताउँने प्रक्रिया अगाडि बढेको हो । तर, प्रधानमन्त्रीकै तहबाट चासो व्यक्त भएर माग गर्नुपर्ने विषय अगाडि आएपछि यो विषय टुंगोमा पुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?