News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले गैरव्यवसायिक आचरणप्रति शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।
- पौडेलले अनुशासन, चेन अफ कमाण्ड र संस्थागत निष्ठा संगठनको आधारशिला भएको उल्लेख गर्दै भ्रष्टाचारजन्य क्रियाकलापप्रति कडाइका साथ कार्यान्वयन गरिने बताए।
- सशस्त्र प्रहरी बललाई विपद् प्रतिकार्यमा प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, तालिम र स्वयंसेवक प्रणाली विस्तार गरी आवश्यक स्रोतसाधन उपलब्ध गराइने उनले निर्देशन दिए।
२१ वैशाख, काठमाडौं । गैरव्यवसायिक आचरणप्रति शून्य सहनशीलताको नीति अपनाइने सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी (महानिरीक्षक) नारायणदत्त पौडेलले बताएका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पदवहालीपछि निर्देशन सम्बोधन दिँदै नवनियुक्त आईजीपी पौडेलले उक्त कुरा बताएका हुन् ।
निर्देशन सम्बोधनको क्रममा अग्रजहरूले देखाएको त्याग, समर्पण, व्यवसायिकता र बलिदानीप्रति उच्च सम्मान गर्दै संगठनको श्रीवृद्धिका खातिर अमर शहीदहरूले देखाएको बाटोमा समर्पित भइ कर्तव्य पालना गर्न दृढ संकल्पकासाथ लाग्न निर्देशन दिए ।
‘संगठनले हाँसिल गरेका उपलब्धीहरू हाम्रो आधार हुन तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन, सुधार एकपटक गरिने कार्य होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो, जसलाई संस्थागत संस्कारकै रूपमा विकास गरिनुपर्छ,’ पौडेलले भने ।
पौडेलले अनुशासन, चेन अफ कमाण्ड र संस्थागत निष्ठा नै संगठनको आधारशिला रहेको उल्लेख गर्दै गैरव्यवसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीति न्यूनतम शर्तको रुपमा अवलम्बन गरी कडाइका साथ कार्यान्वयन गरिने बताए ।
उनले सांगठनिक हित र व्यवसायिकतामा कुनै सम्झौता नगरी पुरस्कार र दण्डको सिद्धान्तलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा लागू गरिँदै लगिने उल्लेख गरे । सशस्त्रको ऐन तथा नियमावली समयसापेक्ष परिमार्जनको कामहरू अगाडि बढाइने तथा संगठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताको लागि आवश्यक पहल गरिने समेत बताए ।
बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, विशेष तालिम, उच्च पर्वतीय उद्धार क्षमता र समुदायमा आधारित स्वयंसेवक तालिम तथा पूर्वतयारी प्रणालीलाई विस्तार गरी अझ प्रभावकारी विपद् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गरिने बताए ।
मनसुनको समयमा हुने विपद्जन्य घटना दुर्घटनामा उद्धारको लागि पूर्वतयारी गरी तत्काल परिचालन हुनसक्ने अवस्थामा रहन निर्देशन दिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
सो समारोह लाइभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको सञ्चारमार्फत सम्पूर्ण इकाईहरूमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4