+
+
Shares
विचार :

आलोचना भन्दा नागरिक आत्मसमीक्षाको खाँचो

देश परिवर्तनको सँघारमा छ। सकारात्मक सोचका साथ सबै नागरिकले इमानदारीपूर्वक जिम्मेवारी निभाए वर्षौंदेखिको निराशाको बादल चाँडै फाट्ने छ। तर, नागरिक इमानदार नबने जति नै बलियो सरकार बने पनि सुशासनयुक्त मुलुक बन्ने छैन।

सीमा बन सीमा बन
२०८३ वैशाख २२ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आलोचना गर्ने तरिका र उद्देश्यमा कमजोरी छ र प्रायः तथ्यभन्दा भावनामा आधारित आलोचना हुन्छ।
  • नागरिक दलको कार्यकर्ताभन्दा माथि उठेर नीति, योजना र कार्यक्रमको समीक्षा गर्नुपर्ने अवस्था छ।
  • देशको विकासका लागि नेतृत्वसँगै नागरिकमा बलियो इमानदारी आवश्यक छ र प्रणाली सुधार गर्नुपर्नेछ।
  • नीतिभन्दा व्यक्तिकेन्द्रित टिप्पणी गर्ने आचरणले स्वस्थ राजनीतिक बहसलाई कमजोर बनाउँछ र मुद्दाभन्दा व्यक्तिलाई प्रभावशाली देखाउँछ।
  • हरेक प्रयासलाई नकारात्मक नजरले मात्र हेर्ने हो भने सुधार गर्ने प्रेरणा हराउँदै जान्छ। त्यसले नवप्रवर्तन र सिर्जनशीलता रोक्छ।

‘मलाई आलोचना मन पर्छ, किनभने आलोचनाले बलियो बनाउँछ।’

लिब्रन जेम्स

लोकतन्त्रमा नागरिकले सरकारलाई प्रश्न वा आलोचना गर्नु स्वाभाविक र आवश्यक मानिन्छ। लोकतन्त्रको सुन्दरता नै यही हो जहाँ नागरिकले सरकारलाई प्रश्न गर्न, सुझाव दिन र आलोचना गर्न पाउँछन्।

सरकारका कामहरूको मूल्यांकन गर्नु, नेताहरूको निर्णयमाथि टिप्पणी गर्नु यी सबैले शासन प्रणालीलाई उत्तरदायी बनाउँछ। तर नेपालमा आलोचना गर्ने तरिका र उद्देश्य दुवैमा कमजोरी देखिन्छ। हामी प्राय: तथ्यभन्दा भावनामा आधारित आलोचना गर्छौं। कुनै निर्णय आयो भने त्यसको पृष्ठभूमि, चुनौती र सम्भावित प्रभाव बुझ्नुभन्दा पहिले नै सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिन थाल्छौं। यसले न त सत्यलाई स्पष्ट बनाउँछ, न त समाधानतर्फ लैजान्छ बरु समाजमा अनावश्यक भ्रम र दूरी बढाउँछ।

नेपालको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिवेशलाई नजिकबाट हेर्दा हामीले बारम्बार ठूला भ्रष्टाचार, अनियमितता र बेथितिको कुरा गर्छौं। तर सतहमा देखिने यथार्थ अलिक फरक पनि छ। नेपालमा नागरिक भन्दा कार्यकर्ताको बाहुल्य देखिन्छ। हाम्रो सोच प्राय: आफ्नो पक्षलाई सही र विपक्षलाई गलत ठान्ने छ। विपक्षले गरेको राम्रो काम पनि स्वीकार गर्न गाह्रो मानिन्छ। यसले सही कामको पनि अवमूल्यन गर्छ। यहाँ समाधान खोज्ने भन्दा दोष देखाउने प्रवृत्ति हावी छ। यही कारणले गर्दा लिब्रन जेम्सले भने जस्तो आलोचनाले नेतृत्वलाई बलियो बनाउन सकेको देखिंदैन।

नागरिक यतिसम्म दलका कार्यकर्ता बन्छन् कि आफ्नै घर अगाडिको बाटो पिच गर्न पनि आफ्नो दलको स्थानीय प्रमुख छैन भने विरोध गर्ने, बखेडा झिक्ने अनि बाटोका खाडल देखाएर आलोचना गर्छन्। नेता–कार्यकर्ता र नागरिक राज्यका नभई दलविशेषका देखिन्छन्। यहाँ नीति, योजना र कार्यक्रमको समीक्षा गर्नुको सट्टा व्यक्तिको चरित्र, बोली र व्यक्तिगत जीवनमाथि टिप्पणी गर्ने बढी देखिन्छन्। यसले स्वस्थ राजनीतिक बहसलाई कमजोर बनाउँछ र मुद्दाभन्दा व्यक्ति ठूलो देखिन्छ।

जब हरेक कुरा गलत मात्र देखाइन्छ तब मानिसहरूमा ‘केही राम्रो हुँदैन’ भन्ने धारणा बन्छ। यो धारणा देशको विकासका लागि सबैभन्दा ठूलो बाधा हो। अहिले युवा पुस्ताले नेपालमा केही नयाँपन खोजिरहेका छन्। सिस्टम र नीतिमा परिमार्जन खोजेका छन्। तर हामी परिवर्तनलाई स्वीकार गर्न र पर्खन सकिरहेका छैनौं। हामीलाई सिस्टम र नीतिभन्दा पर बसेर काम गर्ने आदत परिसकेको छ। तर यसैगरी हामीले हरेक प्रयासलाई नकारात्मक नजरले मात्र हेर्ने हो भने सुधार गर्ने प्रेरणा नै हराउँदै जान्छ। जसले नवप्रवर्तन र सिर्जनशीलतालाई रोक्छ। अनि, राजनीति निरन्तर आलोचना र नकारात्मकताको केन्द्र बन्दा नवप्रवेशीको खडेरी पर्न थाल्छ।

पद, पावर र पहुँचले बनाएको कृत्रिम प्रतिष्ठामा रमाएको समाजमा कहिलेकाहीं इमान एक्लिन्छ।

नेपाल जस्तो विकासोन्मुख देशमा सानो सुधार पनि ठूलो उपलब्धि हुनसक्छ। तर त्यसका लागि नेतृत्वसँगै नागरिक पनि सचेत र इमानदार हुनुपर्छ अझ भनौं नागरिक दलको कार्यकर्ताभन्दा माथि उठ्नुपर्छ। वास्तवमा समाजको आधार नै व्यक्तिगत व्यवहारमा अडेको हुन्छ र त्यो आधारमा नै दरारहरू देखा पर्न थाल्छन् भने ठूलो संरचना कमजोर हुनु स्वाभाविक मानिन्छ। एकपटक प्रश्न हामी आफैंलाई गरौं। के हामी दैनिक जीवनमा पूर्ण रूपमा इमानदार छौं ?

मानिसले दैनिक जीवनमा गर्ने साना बेइमानीका उदाहरण खोज्न कतै जानै पर्दैन। कतिपयले बसभाडा तिर्न छल्छन्। कोही लाइन मिचेर अघि बढ्छन्। कसैले सिफारिसको भरमा काम गराउँछन्। कसैले आम्दानीमा कर छल्छन्, विद्यार्थीले नक्कल गरेर पास हुन्छन्। कर्मचारीले समयको दुरुपयोग गर्छन्। सकेसम्म कामबाट पन्छिन खोज्छन्। व्यापारीले तौलमा तल–माथि गर्छन्, ट्याक्सीले मिटरमा छलछाम गर्छन्, परिवारले नाफाघाटाको हिसाब खोज्छन्।

मान्छेहरू लेनदेनमा छलकपट गर्छन्। यी सबै व्यवहारलाई हामी नजिकबाट नियालिरहेका हुन्छौं तर यस्ता कुरालाई सामान्य मानी बेवास्ता गरिरहेका हुन्छौं, गम्भीरताका साथ लिंदैनौं। यिनै साना बेइमानीहरूले हाम्रो सोच र संस्कारलाई विस्तारै दूषित बनाइरहेका हुन्छन्।

हामीले दैनिक जीवनमा गरिने यस्ता बेइमानीहरू प्राय: नयाँपनका लागि गरिएका जस्ता लाग्छन्। सरकारी कार्यालयमा छिटो काम गराउन कसैले चिनजान प्रयोग गर्छ, कसैले चिया–खाजा खर्च दिन्छ। कतिपय अवस्थामा नियम पालना गर्दा भन्दा नियम तोड्दा काम सजिलै हुन्छ। यस्तो अवस्थामा धेरैले सोच्छन् म एक्लैले इमानदार भएर के फरक पर्छ र ? हाम्रो प्रणालीमा कमजोरीहरू छन् जस्तो ढिलासुस्ती, पारदर्शिताको कमी र जिम्मवार प्राप्त पदाधिकारीको जिम्मेवारीको अभाव। यिनै कारणले मानिसहरू सानो बेइमानी गर्न बाध्य भएको जस्तो महसुस गर्छन्। तर, त्यही व्यवहारले फेरि प्रणालीलाई अझ कमजोर बनाइरहेको हुन्छ।

राजनीति निरन्तर आलोचना र नकारात्मकताको केन्द्र बन्दा नवप्रवेशीको खडेरी पर्न थाल्छ।

यहाँ प्रणालीभन्दा पनि व्यक्तिगत सम्बन्ध र पहुँचलाई प्राथमिकता दिने चलन अझै पनि बलियो छ। चिनजान भए काम सजिलो हुन्छ भन्ने सोचले नियम र विधिलाई कमजोर बनाइरहेको छ। जब नियम पालना गर्नेभन्दा उल्लङ्घन गर्नेले फाइदा पाउँछ, तब इमानदार व्यक्ति निरुत्साहित हुन्छ। अन्तत: समाजमा इमानदारी कमजोर र बेइमानी बलियो बन्न थाल्छ।

पद, पावर र पहुँचले बनाएको कृत्रिम प्रतिष्ठामा रमाएको समाजमा कहिलेकाहीं इमानदारी एक्लिन्छ। हामीले नियम पालना गर्दा अरूले सर्टकर्ट लिएर अघि बढेको देख्दा निराशा महसुस हुन्छ। तर इमानदारीले आत्मसम्मान बढाउँछ। सही बाटोमा अडिग रहँदा मन शान्त हुन्छ, आत्मविश्वास बलियो हुन्छ। वास्तवमा जीवनमा साँचो खुसी बाहिरी सफलताबाट होइन मनभित्रको सन्तुष्टिबाट आउँछ र त्यो सन्तुष्टि इमानदारीबाटै सम्भव हुन्छ। यसले व्यक्तिगत जीवनमा मात्रै होइन कार्यालयको कार्य सम्पादनमा पारदर्शिता, व्यापारमा विश्वास बढ्छ, शिक्षाको गुणस्तरमा सुधार हुन्छ र समाजमा सम्बन्धहरू मजबुत बन्छन्, मिहिनेतको कदर र न्यायको अनुभूति हुन्छ।

हामीले बारम्बार देश बदलिनुपर्छ भन्यौं तर देश कसले बनाएको हो ? हामीले नै होइन ? हामी विकास, सुशासन र समृद्धिको कुरा गर्छौं। तर यी सबै केवल नीतिले मात्र पूरा हुँदैनन्। यसका लागि नेतृत्वसँगै नागरिकमा बलियो इमानदारी पनि आवश्यक हुन्छ। आज समाजमा काम निकाल्न सिपालु व्यक्तिलाई प्रशंसा गरिन्छ, चाहे उसले नियम तोडेरै किन नहोस्। उसैलाई हामी चलाख भनेर गर्व गर्छौं।

चलाखी होइन इमानदारी नै गर्वको विषय बन्नुपर्छ। यसका लागि केही व्यावहारिक कदमहरू अपनाउन सकिन्छ। लाइनमा आफ्नो पालो कुर्नु, आफ्नो काम इमानदारीपूर्वक गर्नु, अरूको अधिकार नहडप्नु, सानो फाइदाका लागि गलत बाटो नअपनाउनु, आफ्नो कामप्रति जिम्मेवार बन्नु, गलत कामलाई सामान्य नठान्नु। आफूले नगरे पनि, कम्तीमा त्यसलाई ‘ठिकै हो’ भनेर समर्थन नगर्नु। बालबालिकालाई सानैदेखि नैतिक शिक्षा दिनु, इमानदार व्यक्तिलाई सम्मान गर्नु। यी कुरा सुन्दा सामान्य लाग्छन् तर यिनै कुराले व्यक्तिको चरित्र र मजबुत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन्।

विकास, सुशासन र समृद्धिको सपना सरकारी पहलले मात्र पूरा हुँदैन; नेतृत्वसँगै नागरिकमा बलियो इमानदारी पनि आवश्यक हुन्छ।

हामीले प्राय: भ्रष्टाचारको दोष नेता, कर्मचारी वा प्रणालीलाई दिन्छौं। तर कहिल्यै आफैंलाई सोधेका छौं ? के हामी नियमको सही बाटोमा हिंडेका छौं ? सानो फाइदाका लागि नीति नियमलाई तोडमोड गर्ने, चुप लागेर गलतलाई सहने वा आफ्नो जिम्मेवारीबाट पन्छिने बानी कतै हामीमै त छैन ? एकपटक मनन गरौं। वास्तवमा समाजमा देखिने धेरै बेइमानी हाम्रो आफ्नै साना व्यवहारबाट जन्मिएका हुन्छन्।

तर प्रणाली नै बेइमानीलाई प्रोत्साहित गर्ने खालको छ भने, इमानदार व्यक्ति एक्लो पर्न सक्छ। त्यसैले, प्रणाली सुधार अत्यावश्यक हुन्छ। यसका लागि राज्यका तर्फबाट सार्वजनिक सेवाहरू डिजिटल बनाउने, प्रक्रियालाई पारदर्शी बनाउने, पुरस्कार, दण्ड र सजायलाई न्यायोचित बनाउने, न्यायको प्रत्याभूति दिलाउने, समाजमा देखिने नकारात्मक र अराजक प्रवृत्तिलाई न्यूनीकरण गर्ने, नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकारलाई सुनिश्चित गर्ने जस्ता कार्यहरू तदारुकताका साथ अगाडि बढाउनुपर्छ। पछिल्लो समय राज्यका तर्फबाट केही यस्ता सुरुवाती कदमहरू देखिएका छन्। यसलाई सबैले सकारात्मक रूपमा नै लिनुपर्छ।

अन्तत: परिवर्तन दुईतर्फी हुनुपर्छ। नागरिकले आफ्नो व्यवहार सुधार्ने र प्रणालीले इमानदारीलाई सहज बनाउने। हामीले सबै कुरा तुरुन्त बदल्न सक्दैनौं। जब गलत कामलाई सामान्य मानिन्छ, तब सही र गलत बीचको खाडल बढ्न थाल्छ। मानिसहरू आफ्नो स्वार्थलाई नै सबैभन्दा ठूलो सत्य मान्न थाल्छन्।

नागरिक स्वयंमा अनुशासन हराएको छ जसका कारण आलोचनाहरू नीति, योजना र कार्यक्रमको साटो व्यक्तिगत जीवनमाथि लक्षित देखिन्छन्।

यस्तो अवस्थामा, समाजमा मूल्य र मान्यताहरू कमजोर बन्छन्। जसले दीर्घकालीन रूपमा ठूलो संकट निम्त्याउन सक्छ अनि भ्रष्टाचार र अनियमितता सामान्य बन्छ। यथार्थ यही हो कि सानो भए पनि बेइमानीले समस्या बनाउँछ तर इमानदारीले सधैं समाधान शुरु गर्छ।

समस्या समाधान केवल दोषारोपणले हुँदैन। यदि प्रणालीमै कमजोरी छ भने त्यसलाई सुधार गर्ने जिम्मेवारी पनि हाम्रै हो। इमानदार नागरिकको सक्रियता विना असल शासन सम्भव हुँदैन। हामीले ‘अरूले के गर्‍यो ?’ भन्दा ‘म के गर्न सक्छु ?’ भन्ने सोच अपनाउनुपर्छ। किनभने, परिवर्तन सधैं आफैंबाट शुरु हुन्छ। यदि हामीले केवल आफ्नै मात्र फाइदा सोच्यौं, जिम्मेवारीबाट पन्छियौं र आलोचनामा मात्र सीमित भयौं भने विकासको बाटो कहिल्यै फराकिलो हुँदैन।

त्यसैले आलोचना गरौं तर आत्मसमीक्षा पनि गरौं। अरूबाट सुधारको अपेक्षा गर्नुअघि आफैंबाट शुरु गरौं। देश परिवर्तनको मोडमा छ। सकारात्मक भएर हरेक तह र तप्काबाट आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गरौं। निराशा होइन आशावादी बनौं।

लेखक
सीमा बन

कृषि विकास बैंकमा कार्यरत वरिष्ठ शाखा प्रमुख रहेकी सीमा बन अधिवक्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?