+
+
Shares

अब पानी होइन आवाजले नै निभाउनेछ आगो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको सोनिक फायर टेक कम्पनीले ध्वनिको प्रयोग गरेर आगो निभाउने प्रविधि विकास गरेको छ।
  • यो प्रविधिले इन्फ्रासाउन्ड तरंगमार्फत अक्सिजनलाई इन्धनबाट टाढा धकेल्छ र आगो निभाउँछ।

आगो निभाउनका लागि पानी, कार्वनडाइअक्साइड ग्यास तथा विभिन्न केमिकल प्रयोग गरिन्छ । तर अब दनदनी बलेको आगो निभाउन यस्ता कुनै चिज प्रयोग गर्नुपर्ने छैन । पानी र केमिकलले होइन आवाजले नै आगो निभाउनेछ ।

अमेरिकाको सोनिक फायर टेक नामक कम्पनीले यस्तो प्रविधि विकास गरेको दाबी गरेको छ । जसमा ध्वनिको प्रयोग गरेर आगो निभाउन सकिनेछ।

यसमा पानी वा रासायनिक पदार्थको सट्टा इन्फ्रासाउन्डको प्रयोग हुनेछ ।

अमेरिकी अन्तरिक्ष संस्था नासामा थर्मल ऊर्जा रूपान्तरणबारे अनुसन्धान गरेका एयरोस्पेस इन्जिनियर जिओफ ब्रुडरले उक्त कम्पनीको स्थापना गरेका हुन् ।

विज्ञान अनुसार आगो लाग्नका लागि तीन तत्व चाहिन्छः ताप, इन्धन र अक्सिजन । यीमध्ये कुनै एउटा हटाइयो भने दहन प्रक्रिया रोकिन्छ ।

सोनिक फायर टेक कम्पनीले विकास गरेको यो प्रविधिले इन्फ्रासाउन्ड तरंगमार्फत अक्सिजनका अणुहरूलाई इन्धनबाट टाढा धकेल्छ । जसले गर्दा आगोले आवश्यक अक्सिजन पाउन सक्दैन र निभ्छ ।

जिओफ ब्रुडरका अनुसार यो प्रविधिले अक्सिजनलाई इन्धनले प्रयोग गर्न सक्नेभन्दा छिटो कम्पन गराउँछ र त्यसबाट रासायनिक प्रतिक्रिया रोकिन्छ ।

रोचक कुरा के छ भने ध्वनिको प्रयोग गरेर आगो निभाउने अवधारणा पहिलोपटक विकास भएको होइन ।

आगोमा ध्वनिको प्रभावबारे यसअघि पनि अध्ययन भइसकेको छ । अमेरिकाको डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीले सन् २००० को दशकमा यस विषयमा वर्षौंसम्म अनुसन्धान गरेको थियो । साथै शैक्षिक अनुसन्धानकर्ताहरूले पनि दशकौँदेखि यसमा प्रयोग गरिरहेका छन् ।

वैज्ञानिकका अनुसार आगोमा ध्वनिको प्रभाव दहन विज्ञानमा राम्रैसँग पहिचान भइसकेको कुरा हो। तर यस्तो प्रविधिलाई ठूलो स्तरमा प्रयोग गर्दा हानिकारक ध्वनि उत्पन्न नहुने कुराको सुनिश्चतता गर्नु आवश्यक हुन्छ ।

सोनिक फायर टेकले यो इन्फ्रासाउन्ड प्रयोग गरेर यस्तो अधिक ध्वनि उत्पन्न हुने समस्याको समाधान गरेको बताएको छ । सो प्रविधिले २० हर्ज वा त्यसभन्दा कम फ्रिक्वेन्सीका ध्वनि तरंग उत्पादन गर्छ, जुन मानिसले सुन्न सक्दैन । तर त्यो ध्वनि आगो नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।

यद्यपि अहिलेका लागि यो प्रविधि सानो स्तरको आगो निभाउने काममा मात्र प्रभावकारी देखिएको छ । त्यसैले निकट भविष्यमा वनडढेलो वा ठूलो स्तरका आगो नियन्त्रणमा यसलाई उपयोग गर्न थप अनुसन्धान र प्रयोग आवश्यक हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?