+
+
Shares

अझै २ वर्ष एकभन्दा धेरै सहकारी संस्थाको सदस्य हुन पाइने 

सहकारी महासंघ, नेफ्स्कुन, सहकारी बैंक लगायत संस्थामा सञ्चालक रहेका व्यक्ति सहकारी संस्थाहरूमा पनि सञ्चालक भएको अवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहकारी ऐन २०७४ अनुसार एक वर्षमा एक संस्थामा मात्र सदस्यता कायम गर्ने व्यवस्था २ वर्षमा विस्तार गरिएको छ।
  • सहकारी क्षेत्रको दोहोरो सदस्यता र सञ्चालक पदको समस्या अझै कायम छ र ऐनको पूर्ण कार्यान्वयन हुन सकेको छैन।
  • सरकारले सहकारी अध्यादेश २०८३ मार्फत दोहोरो सदस्यताको अवधि २ वर्ष बनाएको छ, तर दोहोरो पदको कारबाहीबारे स्पष्टता छैन।

२४ वैशाख, काठमाडौं । सहकारी संस्थाका सदस्य अझै २ वर्ष बहुसंस्थाको सदस्यता हुन पाउने भएका छन् ।

सहकारी ऐन २०७४ लागु हुँदा एक वर्ष अवधिमा एक संस्थामा सीमित हुनुपर्नेमा अझै २ वर्ष अवधि थपिएको हो ।

सहकारी ऐन २०७४ लागु हुँदा एउटै व्यक्ति धेरै सहकारी संस्थाको सदस्य भए पनि त्यसलाई नियन्त्रण गर्न एउटामा मात्रै सदस्य रहन पाउने व्यवस्था गरिएको थियो । त्यसका लागि २०७४ कात्तिकमा लागु भएको सहकारी ऐनले एक वर्षको समय दिएको थियो ।

तर, ऐन लागु भएको करिब ८ वर्षपछि पुन: बुहसंस्थामा सदस्यता भएका व्यक्तिलाई एक संस्थामा मात्र कायम गराउने अवधि २ वर्षको अवधि दिइएको हो ।

सहकारी ऐन प्रभावकारी कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्र समस्यामा परेको सहकारी अभियन्ता बताउँछन । एकभन्दा बढी संस्थामा सदस्य तथा सञ्चालक हुन नपाउने व्यवस्था सहकारी ऐनमा नै भए पनि त्यसको समेत कार्यान्वयन हुन नसकेको ती अभियन्ताको भनाइ छ ।

‘ऐन लागु भएको करिब ८ वर्ष भइसकेको छ,’ ती अभियन्ताले भने, ‘बहुसंस्थामा सदस्यता र दोहोरो सञ्चालक पद अझै पनि कायम नै छ ।’

सहकारी ऐनलाई दस्तावेजका रूपमा मात्र लिँदा समस्या जटिल बनेको उनको भनाइ छ । ऐनका सामान्यभन्दा सामान्य व्यवस्था पनि कार्यान्वयन नगरेपछि सहकारी संस्थामा सुशासनको समस्या आउनु स्वाभाविक रहेको उनको बुझाइ छ ।

ऐन लागु हुँदा नै एक वर्ष अवधि दिइएको थियो । सरकारले ल्याएको सहकारी ऐन संशोधन अध्यादेश २०८३ मा त्यो एक वर्ष अवधिलाई २ वर्ष बनाइएको छ । सरकारले २ वर्ष बनाएको बहुसंस्थमा एक व्यक्तिको सदस्यता सम्बन्धी व्यवस्थाको हकमा हो । दोहोरो पदको सन्दर्भमा अध्यादेशले केही बोलेको छैन ।

सहकारी महासंघ, नेफ्स्कुन, सहकारी बैंक लगायत संस्थामा सञ्चालक रहेका व्यक्ति सहकारी संस्थाहरूमा पनि सञ्चालक भएको अवस्था छ । सोही सन्दर्भमा सहकारी विभागले ऐन कार्यान्वयन गर्न केही समयअघि निर्देशन दिएको थियो । तर, अझै पनि त्यसको पूर्ण पालना हुन सकेको छैन ।

पहिलेदेखि नै बहुसंस्थामा सदस्य भएका व्यक्तिले कानुनमा उल्लेख गरेकै भरमा पालना नगरेको सहकारी विज्ञ डा. रमेशप्रसाद चौलागाईंले बताए ।

‘त्यो स्पष्ट नहुँदासम्म त्यसलाई कार्यान्वयन गराउन जटिल छ,’ उनले भने, ‘सदस्यताका हिसाबले नबसिदिए हुन्थ्यो, बस्न पाइँदैन भनेर भनिरहेर मात्रै हँुदैन, बसेमा के गर्ने अथवा दोहोरो बसेको फेला पारे के गर्ने भन्ने कुरा नआएसम्म त मान्छेले टेर्दैन, अहिले देखिएको समस्या त्यही नै हो ।’

दोहोरो सदस्यताको कारबाही के हुन्छ भन्ने टुङ्गो नभएकाले सहकारीकर्मीले अटेर गरेको उनको भनाइ छ । कुन–कुन सहकारीमा कुन–कुन व्यक्ति दोहोरिएका, तेहरिएका छन्, त्यसको तथ्यांक संकलन गरेर एक्सन नलिँदासम्म यस्तै रहने उनको बुझाइ छ ।

सहकारी ऐन २०७४ को दफा ३२ अनुसार एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुन सक्दैन । तर, एकै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थाको सदस्य भएको व्यक्तिले यो उपदफा प्रारम्भ भएको मितिले एक वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था ऐनमा छ ।

सरकारले सहकारी अध्यादेश मार्फत त्यसलाई पनि संशोधन गरेर २ वर्ष बनाएको छ । ऐन अनुसार कुनै कृत्रिम व्यक्ति सदस्य भएको भए पाँच वर्षभित्र सदस्यता अन्त्य गर्नुपर्ने व्यवस्था छ ।

तर, यो ऐन प्रारम्भ हुनुअघि दर्ता भएको स्वास्थ्य र शिक्षा सहकारी संस्थाका हकमा दोहोरो सदस्याता सीमा लागु नहुने ऐनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?