+
+
Shares

मनसुन २०८३ : मौसम विभागले सार्वजनिक गर्‍यो सरदरभन्दा कम वर्षाको प्रक्षेपण

मनसुन अवधिमा गर्मी बढ्ने

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
  • कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा वर्षा कम हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ।
  • मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद सुदर्शन हुमागाईंले जानकारी दिनुभएको छ।

२५ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।

कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

यो प्रक्षेपण आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्म अवधिको हो ।

यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ ।

मौसमविद हुमागाईंका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।

यसैगरी कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ ।

न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना स्थान विशेष अनुसार फरक-फरक छ ।

आँकलनको आधार

विभागले यो प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आकलन र दक्षिण एसियाली जलवायु फोरम (सास्कोफ)को आकलनलाई आधार मानेर गरेको जनाएको छ ।

साथै नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र एन्सो तथा हिन्द महासागरमा विकसित हुने इण्डिन ओसन डाइपल (आईओडी)को हालको अवस्थाको विश्लेषणलाई पनि आधार मानिएको छ ।

विभागका अनुसार हाल हिन्द महासागरमा एन्सो तटस्थ हुने अवस्थामा रही एल निनो अवस्थातर्फ उन्मुख छ । यसैगरी आईओडी हाल तटस्थ अवस्थामा छ । आगामाी मनसुन ऋतुको अन्त्यसम्ममा धनात्मक हुने आँकलन छ ।

गत वर्ष २०८२ सालमा विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने र मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको जनाएको थियो । धेरैजसो केन्द्रहरुमा सरदरभन्दा कमदेखि सरदर वर्षा र केही केन्द्रहरुमा सरदरभन्दा बढी वर्षा मापन गरिएको थियो ।

अधिकतम र न्यूनतम तापक्रम पूर्वानुमान गरेजस्तै अधिकांश स्थानमा सरदरभन्दा बढी मापन भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?