News Summary
Generated by OK AI. Editorially reviewed.- टेड टर्नरले सन् १९८० मा सीएनएन स्थापना गरेर २४ घण्टे लाइभ समाचारको युग सुरु गरे, जसले विश्व सञ्चारमा क्रान्ति ल्यायो।
- टर्नरको नेतृत्वमा सन् १९९१ को खाडी युद्ध पहिलो युद्ध बन्यो जसलाई विश्वले प्रत्यक्ष टेलिभिजनबाट हेर्यो।
- टर्नरले सन् १९९६ मा आफ्नो मिडिया साम्राज्य टाइम वार्नरलाई बेच्दा आफ्नो प्रभाव कम भएको स्वीकार गरे।
सन् २०२१ मा टिभी होस्ट ल्यारी किङको निधन हुँदा टेड टर्नरले भावुक हुँदै भनेका थिए, “यदि कसैले मलाई जीवनमा मेरो सबैभन्दा ठूलो करिअरका उपलब्धिहरू के के हुन् भनेर सोध्यो भने, मेरो उत्तर हुनेछ— एउटा सीएनएन स्थापना र अर्काे ल्यारी किङलाई सीएनएनमा काममा राख्नु ।”
तिनै टेड टर्नरको बुधबार ६ मे २०२६ मा अमेरिकाको फ्लोरिडामा ८७ वर्षको उमेरमा निधन भयो । टेड टर्नरले साँच्चै लेजेन्डरी लाइफ बाँचे, भन्नुपर्दा लार्जर देन लाइफ । उनले सधैं ठूलो स्केलमा सोचे, ठूलै जोखिम मोले र विश्व सञ्चारमाध्यममा सीएनएन इफेक्ट छोडेर गए ।
यो अबिच्युरी लेख्न मलाई टेड टर्नरको सीएनएन इफेक्टले इन्फ्लुएन्स गर्यो । मैले टेलिभिजन पत्रकारितालाई एउटा जब मात्र ठानिनँ, यसलाई जीवनको एउटा अनिवार्य हिस्साकै रूपमा आत्मसात् गरें । तर पत्रकारिताको गहिराइ र मिडिया अध्ययनको उत्तरार्धमा मैले बुझें– एमटीभी कल्चर र सीएनएन इफेक्टले त संसारको टेलिभिजन ग्रामर नै परिवर्तन गरिदिएका रहेछन् ।
ऐतिहासिक परिप्रेक्ष्यमा हेरौं भने सन् १९८० भन्दा अघिको विश्व एउटा सूचनाको ‘ब्ल्याक होल’ जस्तै थियो । विश्वको अर्काे कुनामा के भइरहेको छ भन्ने जान्न कि त भोलिपल्टको छापा अखबार पर्खिनुपर्थ्याे कि त राज्य नियन्त्रित सञ्चारमाध्यमले पस्किने ‘फिल्टर्ड’ सूचनामा चित्त बुझाउनुपर्थ्यो ।
तर टेड टर्नरले सीएनएन मार्फत २४ घण्टे लाइभ समाचारको युग शुरु गरे, त्यसैले सूचनाको पारिस्थितिक प्रणालीमा क्रान्ति ल्याइदियो । प्राध्यापक पियर्स रोबिन्सनले आफ्नो पुस्तक द सीएनएन इफेक्ट: द मिथ अफ न्यूज, फरेन पोलिसी एन्ड इन्टरभेन्सन मा यसैलाई एउटा निर्णायक शक्तिका रूपमा परिभाषित गरेका छन् ।
मेरो दृष्टिमा २०औं शताब्दीको अन्त्यतिर भूराजनीति र सञ्चार जगतको अन्तरसम्बन्धलाई नयाँ मानक प्रदान गर्ने सबैभन्दा शक्तिशाली ग्लोबल फेनोमेनन नै यही सीएनएन इफेक्ट हो ।
यसको अर्काे पाटोलाई पब्लिक इन्टलेक्च्युअल नोम चोम्स्कीको नजरबाट हेरौं । चोम्स्कीका अनुसार परम्परागत रूपमा सत्ता र सञ्चार गृह बीच एउटा यस्तो अघोषित सामीप्य हुन्थ्यो, जसले आम मानिसको सोच्ने र बुझ्ने दायरा पहिले नै निर्धारित गरिदिन्थ्यो । राज्यले आफ्नो स्वार्थ अनुकूलको सूचना मात्र प्रवाह गर्थ्याे, चोम्स्कीले यसैलाई म्यानुफ्याक्चरिङ कन्सेन्ट (सहमतिको निर्माण) भनेका छन् ।
तर, सन् १९८० मा टेड टर्नरले सीएनएनको स्थापना गरेपछि सञ्चारको यो रुल अफ गेम परिवर्तन भयो । २४ घण्टाको रियल टाइम प्रसारणले राज्यको औपचारिक विज्ञप्तिभन्दा धेरै छिटो घटनास्थलको लाइभ टेलिकास्ट संसारको बैठक कोठासम्म पुर्याउन थाल्यो । यसले सूचनामाथिको राज्यको मनोपोली मात्र तोडेन, सरकारी दाबीहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठाइदियो । जब सत्ताले अल इज वेल भनिरहन्थ्यो, टेलिभिजनको पर्दामा देखिने युद्धका विस्फोट र मानवीय संवेदनाका दृश्यहरूले फरक कथा भन्थे ।
एउटा उदाहरण हेरौं, सन् १९८१ मा वासिङ्टनस्थित हिल्टन होटल बाहिर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनमाथि गोली प्रहार भयो । स्थापनाको एक वर्ष मात्रै पुगेको सीएनएनले यो घटनालाई कुनै सम्पादन नगरी, विना फिल्टर, सम्पादन नगरिएका दृश्य चौबिसै घण्टा निरन्तर प्रसारण गर्यो । अस्पतालको गेटदेखि ह्वाइट हाउसको कोरिडोरसम्मका हरेक हलचललाई प्रत्यक्ष देखाएर सीएनएनले दर्शकलाई घटनाको प्रत्यक्ष साक्षी बनाइदियो ।
सीएनएनको प्रभावकारिताको बेन्चमार्क चाहिं सन् १९९१ को खाडी युद्ध बन्यो । ९ जनवरी १९९१ मा जेनेभामा भएको एउटा घटनालाई हेरौं । राष्ट्रपति जर्ज एच.डब्लु.बुश प्रशासनका विदेशमन्त्री तारिक अजिजसँगको भेटपछि कुनै कूटनीतिक घुमाउरो भाषा प्रयोग नगरी सिधै भने “इराकले कुवेतबाट आफ्ना सेना विना शर्त तुरुन्तै फिर्ता लैजानुपर्छ ।”
यस घटनाको सबैभन्दा रोचक पक्ष यसको प्रसारण शैली थियो । बेकरले यो सन्देश सीएनएनको क्यामेरा अगाडि प्रत्यक्ष रूपमा दिएका थिए । फलस्वरुप, सद्दाम हुसेनसम्म यो अल्टिमेटम आधिकारिक डिप्लोम्याटिक जोट भन्दा पहिले टेलिभिजनको पर्दामार्फत पुग्यो ।
सद्दाम हुसेनले उक्त चेतावनीलाई अस्वीकार गरेपछि १६ जनवरी १९९१ म अमेरिकी नेतृत्वमा अपरेशन डेजर्ट स्टर्म शुरु भयो । मानव इतिहासमा यो यस्तो पहिलो युद्ध थियो, जसलाई संसारभरका मानिसहरूले आफ्नो बैठक कोठामा बसेर कुनै एक्सन मुभी हेरे झैं प्रत्यक्ष टेलिभिजनबाट हेरिरहेका थिए ।
सीएनएनका पत्रकारहरूले होटलको झ्यालबाटै त्यस विस्फोटक दृश्यको प्रत्यक्ष प्रसारण गरे । यो युद्ध रेडियोको आवाज वा अखबारको पानामा मात्र सीमित रहेन । करोडौं मानिसले बगदादमाथि खसिरहेको बमहरू र एन्टी एयरक्राफ्ट गन आफ्नै आँखाले प्रत्यक्ष देखे । यसले युद्ध रिपोर्टिङको परिभाषा मात्र बदलिदिएन, मिडियालाई घटनाको दर्शकबाट उठाएर इतिहासको एउटा निर्णायक साक्षीको रूपमा स्थापित गरिदियो ।
यही भिज्युअल इफेक्टले गर्दा टर्नर एक साधारण व्यवसायीबाट विश्वकै प्रभावशाली व्यक्तित्व बने । प्रतिष्ठित टाइम म्यागजिनले उनलाई सन् १९९१ को म्यान अफ द इयर घोषणा गर्दै लेख्यो– “टर्नरले १५० भन्दा बढी देशका अर्बाैं मानिसलाई इतिहास बनिरहेकै क्षणको प्रत्यक्ष साक्षी बनाइदिए ।”
टर्नरले सन् १९८० मा सीएनएन स्थापना गर्दा उनले आफ्नो टिमलाई भनेका थिए– “संसारको अन्त्य नभएसम्म हामी समाचार प्रसारण गरिरहने छौं ।” भविष्यको सम्भावित अन्त्यलाई समेत ध्यानमा राखेर उनले केही तयारी गरेका थिए । त्यसका लागि सैन्य ब्यान्डले राष्ट्रगान बजाइरहेको भिडियो पहिले नै रेकर्ड गरेर सुरक्षित राख्न लगाएका थिए । सीएनएनको आर्काइभमा लामो समय ‘डुम्स डे भिडियो’ को रूपमा सुरक्षित राखिएको थियो ।
अर्काे प्रसंगमा, क्युबाका कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोसँगको उनको मित्रता । सन् १९८२ मा टर्नर पहिलो पटक फिडेल क्यास्ट्रो भेट्न क्युबा पुगे । त्यो भेट आइकनिक थियो । उनीहरूले सँगै समय बिताए, सिगार पिए, बेसबल हेरे, डक हन्टिङमा गए, विद्यालय भ्रमण गरे, राजनीतिक र विश्व घटनाबारे गहिरो छलफल गरे, र साँझपख नाइट क्लबसम्म पनि पुगे । क्युबाली नेता क्यास्ट्रो सीएनएनका निकै ठूला प्रशंसक थिए ।
उनले टर्नरलाई सुझाव दिंदै सीएनएन एउटा असाधारण उपलब्धि हो, यसलाई अमेरिकाको सीमाभित्र मात्र सीमित नराख्नुस्, विश्वभर फैलाउनुस् भनेका थिए । क्यास्ट्रोको यो सल्लाहलाई आत्मसात् गर्दै भ्रमणलगत्तै टर्नरले सीएनएनलाई अन्तर्राष्ट्रिय सञ्जालमा रूपान्तरण गर्ने अभियान शुरु गरे । फलस्वरुप, केही महिनामै सीएनएन एशिया पुग्यो र सन् १९८५ सम्ममा युरोप हुँदै यो विश्वव्यापी नेटवर्कमा विस्तार भयो ।
टर्नरले पछि ठट्टा गर्दै भनेका थिए, यदि फिडेललाई सीएनएन चाहिन्छ भने पूँजीवादीहरूलाई त झन् यो नभई हँुदैन । पछि टर्नरले क्यास्ट्रोसँग सीएनएनका लागि अन्तर्वार्ता पनि लिए । तर त्यो अन्तर्वार्ता अपेक्षित रूपमा प्रभावकारी नभएको मानियो र धेरैले यसलाई केही हदसम्म नीरस प्रसारणको रूपमा सम्झिन्छन् ।
वर्षौंदेखि टेड टर्नरको परिचय उनको व्यावसायिक सफलतामा मात्र सीमित रहेन, उनी आफ्नो तिखो, विवादास्पद र कहिलेकाहीं सीमा नाघ्ने अभिव्यक्तिहरूका कारण सधैं चर्चाको केन्द्रमा रहे । यिनै स्वभावका कारण उनलाई सञ्चार जगतमा ‘द माउथ अफ साउथ’ भनेर चिनिन्थ्यो ।
ब्राउन विश्वविद्यालयमा अध्ययनका क्रममा छात्रावासमा प्रेमिकासँग बस्न थालेपछि उनलाई निष्कासन गरिएको थियो । धर्म र जातबारे उनका केही कडा टिप्पणीहरूले पनि पटक–पटक विवाद जन्माए, जसका लागि उनले माफी माग्नु परेको थियो ।
टेड टर्नरको ट्रजेक्टरी कुनै फिल्मी स्क्रिप्ट भन्दा कम छैन । उनले आफ्नो सम्पत्ति, प्रतिष्ठा र भविष्यलाई नै दाउमा राखेर सीएनएनको जग बसालेका थिए । त्यतिबेला स्थापित मिडियाका हस्तीहरूले उनको यो सपनालाई असम्भव ठाने । कसैले सीएनएनलाई व्यङ्ग्य गर्दै चिकेन नुडल न्युज भने त कसैले २४ घण्टा समाचार मात्रै दिने च्यानल कहिल्यै टिक्न नसक्ने दाबी गरे ।
तर टर्नर डगमगाएनन् । उनीसँग एउटा स्पष्ट भिजन थियो । संसार बदलिंदैछ र समाचार सम्प्रेषणको शैली पनि बदलिनै पर्छ । उनको यो यात्रा एउटा तीव्र गतिको रोलर कोस्टर जस्तै रह्यो । कहिले सफलताको शिखर त कहिले संघर्ष र एक्लोपनको गहिराइ । सन् १९९६ मा टर्नरले आफ्नो विशाल मिडिया साम्राज्य सीएनएन र टिएनटी सहितका च्यानलहरूको ठूलो सेयर टाइम वार्नरलाई करिब ७.५ अर्ब डलरमा बेच्ने निर्णय गरे । सन् १९९० को दशकमा टाइम वार्नर विश्वकै सबैभन्दा शक्तिशाली मिडिया कंग्लोमेरेट मध्ये एक थियो ।
टर्नरको विश्वास थियो यो सम्झौताले उनको मिडिया महत्वाकांक्षालाई अझ व्यापक बनाउनेछ र वैश्विक सञ्चार जगतमा उनको भूमिका अझ निर्णायक हुनेछ । तर वास्तविकता उनको अपेक्षाभन्दा बिल्कुलै फरक रह्यो । यसको मूल कारण दुई तहमा देखिन्छ ।
पहिलो, टाइम वार्नरको जटिल कर्पाेरेट संस्कृति । टर्नर जस्तो विद्रोही, भिजनरी र स्वतन्त्र सोच भएका मिडिया उद्यमीका लागि त्यो संरचना स्वाभाविक प्रक्रियामार्फत अघि बढ्न थालेपछि उनको प्रत्यक्ष प्रभाव क्रमश: कमजोर हुँदै गयो । एक समयका निर्णायक शक्ति भएका टर्नर विस्तारै बोर्ड रुमका एक औपचारिक सदस्यमा सीमित हुनपुगे । टर्नरले आफ्नो सपनालाई टाइम वार्नरसँग मिसाएर स्केल त बढाउन खोजे तर उनले आफ्नो भ्वाइस गुमाए ।
दोस्रो, फक्स न्युजको उदय । त्यो बेला बेलायतको सबैभन्दा बढी बिक्री हुने ट्याबलोइड पत्रिका द सन सँगै द टाइम्स र द सन्डे टाइम्स, हङकङस्थित स्टार टीभीको मालिक रुपर्ट मर्डाेकले शुरु गरेका थिए फक्स न्युज । मर्डाेकले सीएनएनलाई लिबरल एलिटको संस्था भनेर आलोचना गर्दै आए । मर्डाेकले टेलिभिजन पत्रकारितामा एउटा नयाँ शैली जन्माए– एङ्कर वारियर । यो मोडेलमा मर्डाेकले सूचनाको एक्युरेसीलाई एक्साइटमेन्टसँग साटेर व्यावसायिक सफलता हासिल गरे ।
आजको पोस्ट ट्रूथ युगमा हामीले भोगिरहेको मिडिया वास्तवमा टर्नरको विटनेस जर्नालिज्मको अवसान र मर्डाेकको न्यारेटिभ बिल्डिङको विस्तार मात्र हो । यही मर्डाेकीय मोडेल आज दक्षिण एशियाली मिडियामा आक्रोशको व्यापार (बिजनेश अफ आउटरेज) बनेर फैलिएको छ । भारतीय न्युज च्यानलहरूमा अर्नव गोस्वामीले शुरु गरेको स्टुडियो ट्रायल र हाई डेसिबल बहस यसैको चरमोत्कर्ष हो, जहाँ सत्यको खोजीभन्दा ठूलो स्वरको जीत हुन्छ ।
नेपालमा पनि केही च्यानलहरूले कतिपय अवस्थामा यही सेन्सेसनलिज्म र एग्रेसिभ एङ्करिङको बाटोबाट न्युज च्यानलहरू बनेर छिरेका हुन् । सन् २००८ मा आएको टर्नरको आत्मकथा कल मी टेडमा आफ्नो कम्पनी टाइम वार्नरलाई बेचेको प्रसङ्ग निकै मार्मिक तरिकामा लेखेका छन् । आफ्नो पिताको आत्महत्यापछिको कठिन समय, सीएनएनको जन्म र विशेषगरी टाइम वार्नरसँगको ब्याड मर्जरको बारेमा उनले चर्चा गरेका छन् ।
उनले सीएनएनमाथिको नियन्त्रण गुमाउनुलाई आफ्नो जीवनको सबैभन्दा ठूलो गल्तीका रूपमा यसैमा स्वीकार गरेका छन् । सन् १९९१ मा गल्फ वारको समयमा सीएनएन कसरी विश्वकै नम्बर एक ब्रान्ड बन्यो र कसरी केही वर्षमै मर्डाेक र रोजर एल्सको फक्स न्यूजले त्यसलाई रेटिङमा पछि पारिदियो भन्ने कुराको इनसाइड स्टोरी पनि यसमा छ ।
मिडियाको पर्दाबाट ओझेल परेपछि टर्नरले आफ्नो बाँकी जीवन समाजसेवामा लगाए । उनले संयुक्त राष्ट्रसंघलाई एक अर्ब डलर दान दिए र वातावरण जोगाउने काममा लागे । उनले पैसा त धेरै कमाए, तर आफ्नो हातले बनाएको संस्था आफैंले चलाउन नपाउनुको पीडा भने उनले सधैं महसुस गरिरहे ।
मिडिया जगत विशेषगरी टेलिभिजन पत्रकारिता टेड टर्नर र उनको सिग्नेचर ब्रान्ड सीएनएनको योगदान कहिल्यै बिर्सन सक्दैन । उनको निधनसँगै विश्वभर नै २४ घण्टा समाचार प्रसारण गर्ने पद्धति र आधुनिक पत्रकारिताको आधारस्तम्भ निर्माण गर्ने उनको असाधारण दृष्टिलाई सम्मानका साथ स्मरण गरिएको छ ।
मेरो टेलिभिजन पत्रकारिताको सुरुआती दिनमा पनि सीएनएनको प्रभाव निकै गहिरो छ । मिडियाको कार्यशैली बुझ्न र विश्व समाचारप्रतिको मेरो दृष्टिकोणलाई फराकिलो बनाउन यस संस्थाको पनि ठूलो योगदान छ । विश्व राजनीति र मिडियाको सीएनएन इफेक्टको चर्चा गरिन्छ त्यो वास्तवमा टर्नरकै दूरदर्शी सोचको प्रत्यक्ष परिणाम हो ।
आज टेडलाई एक सफल मिडिया उद्यमीका रूपमा मात्र होइन बरु विश्वव्यापी टेलिभिजन पत्रकारिताको स्वरुप र चरित्र नै बदल्ने एउटा चेन्जमेकरका रूपमा सधैं सम्झिइनेछ । उनको लिगेसी आधुनिक मिडिया जगतमा पनि सधंै जीवित रहनेछ ।
प्रतिक्रिया 4