३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र भागवण्डाका लागि प्रतिशतको हिसाब छोड्न आग्रह गरेका छन् । पार्टीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशनको समयमा आफूहरूलाई गरेको कारबाही गरेको पनि उनले स्मरण गरे । ‘दुई महामन्त्रीलाई कारबाही गर्दा स्पष्टीकरण पनि सोध्नु नपर्ने, अनि अहिले कसैलाई उपयुुक्त जिम्मेवारी दिनुपर्दा उनैलाई नसोधेर अरु कसैलाई सोध्नुपर्ने ?,’ शर्माले भने, ‘अब ६० को ४० को कुरा छोड्नुस्, अब सबै एक भएर १०० हुनुपर्छ ।’
विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई पनि जिम्मेवारी दिइएको उपसभापति शर्माले बताए । विशेष महाधिवेशनको विरुद्धमा रहेकाहरूको पनि पार्टी भएको सुनाउँदै उपसभापति थापाले विभिन्न पदमा नियुक्तहरूको अनुहार हेर्न आग्रह गरे । ‘विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई समेट्न सुरु भएको छ,’ उनले भने ।
नीति प्रतिष्ठानले आज र भोलि पोखरामा प्रशिक्षण कार्यक्रम राखेको छ । प्रदेश स्तरीय कार्यक्रममा गण्डकीका सभापति, कार्यसम्पादन समिति सदस्य, मुख्यमन्त्री, मन्त्री, सांसद, जिल्ला सभापति, पालिका प्रमुख/उपप्रमुख सहभागी भएका छन् ।
सभापति गगन थापा सहभागी भएको दुई दिने कार्यक्रममा ६ वटा समूह विभाजन गरेर फरक ६ वटा विषयमा समूहगत छलफल हुने जानकारी गराइएको छ । उपसभापति शर्माको अनुसार यो कार्यक्रमबाट स्थानीय तहको चुनावको लागि मनोवैज्ञानिक तयारी सुरु हुनेछ ।
प्रतिक्रिया 4