News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा आगामी जेठ १७ देखि २० गतेसम्म कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने भएको छ ।
- काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा आयोजना हुने सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका २४ टोलीले सहभागिता जनाउनेछन् ।
- चार दिनसम्म चल्ने सो प्रतियोगितामा कुल ४५ खेलहरू हुनेछन् भने विजेता तथा उपविजेताको पुरस्कार वितरण जेठ २२ गते गरिनेछ ।
१२ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा कर्पोरेट क्रिकेट लिग २०२६ (पाँचौं संस्करण) जेठ १७ देखि आयोजना गर्ने भएको छ । जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा लिग सञ्चालन हुने भएको छ ।
हरेक वर्षझैं यो वर्ष पनि वार्षिकोत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको बैंकले जनाएको छ । लिगमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ । ४ दिनमा कुल ४५ खेल हुने र २४० जना खेलाडी रहनेछन् । लिगमा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने छ । उक्त लिगको पुरस्कार वितरण समारोह जेठ २२ गते हुनेछ ।
आयोजित पूर्वप्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ । कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलीलाई ६ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछन् ।
खेल १० ओभर प्रति इनिङ्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी, प्राइम कमर्सियल, कुमारी, एभरेस्ट, नबिल, सानिमा, प्रभु तथा नेपाल बैंकको सहभागिता रहनेछ । त्यस्तै गरिमा, लुम्बिनी, कामना सेवा, महालक्ष्मी, ज्योति, सांग्रिला, शाइन रेसुङ्गा विकास बैंक सहभागी हुनेछन् । आईसीएफसी, श्री इन्भेष्टमेन्ट, मञ्जुश्री फाइनान्स सहभागी हुनेछन् ।
सहभागी हुने अन्य संस्थामा स्वावलम्बन लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनआइएमबी एस क्यापिटल छन् ।
प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल (युटयुब च्यानल) तथा नेवा टेलिभिजन तथा नेवा टेलिभिजनको युटयुब च्यानल मार्फत हुनेछ ।
प्रतिक्रिया 4