१२ जेठ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव बक्राहा खोला किनारमा सडेको अवस्थामा फेला परेको छ ।
सविता मृत अवस्थामा फेला परेपछि प्रहरीले उनका पति दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
सविता शनिबार बिहान ९ बजे घरबाट निस्किएकी थिइन् । उनी घरबाट निस्कनुअघि परिवारमा सामान्य विवाद भएको भनिएको छ ।
त्यसयताका ४ दिनसम्म उनी सम्पर्कविहीन थिइन् । त्यसपछि परिवारले प्रहरीलाई खबर नै नगरेको बताइएको छ ।
मंगलबार बिहान शव फेला परेपछि प्रहरीले पति दिलबहादुरमाथि आशंका गरेर अनुसन्धान थालेको जनाएको छ ।
दिलबहादुरले प्रहरीसँगको बयानमा सामान्य भनाभन भएपछि हिँडेका कारण आफैले खोजिरहेको बताएका छन् ।
प्रहरीका अनुसार आज बिहान राँगा चराउन गएका स्थानीयले बक्राहा खोला किनारको काँसघारीमा शव देखेका थिए । घोप्टो परेको अवस्थामा देखिएको शव कपडाका आधारमा सविताकै रहेको पहिचान खुलेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले शरीर पूरै सुन्निएको र सडिसकेकाले पोस्टमार्टम रिपोर्टले मात्रै घटनाको वास्तविकता खुल्ने बताए । शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ ।
सविताका माइती पक्षले पति दिलबहादुर र परिवारका सदस्यमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
प्रतिक्रिया 4