News Summary
Generated by OK AI. Editorially reviewed.- १०औँ शताब्दीतिर प्राचीन फारसबाट शुरू भएको \'सान्बोसाग\' नै परिमार्जित भएर आधुनिक समोसा बनेको इतिहासकारहरू बताउँछन्।
समोसा, यो शब्द सुन्नासाथ धेरैको मुखमा पानी आउँछ । तात्तातो समोसाले पेट अघाउँछ, मन अघाउँदैन । जति खायो, उति खान मन लाग्छ ।
नेपालदेखि भारत, पाकिस्तान, बंगलादेश हुँदै विश्वका विभिन्न देशमा यो परिकार लोकप्रिय छ । तर, यो परिकारको उद्गम कहाँ हो ? कसरी यो हाम्रो दैनिक खाजाको हिस्सा बन्यो ? र किन यो विश्वव्यापी रूपमा सर्वप्रिय भयो ?
मध्य एशिया र मध्यपूर्वको उपहार
समोसाको नाम मध्य पर्सियन शब्द ‘सान्बोसाग’ बाट आएको हो, जसको अर्थ ‘त्रिकोण आकारको पेस्ट्री’ हो। यो परिकार भारतको मूल निवासी होइन । यसको मूल १०औं शताब्दीको मध्यपूर्व र मध्य एशियामा पाइन्छ।
सबैभन्दा पुरानो उल्लेख अब्बासिड कालका कवि इशाक अल–मौसिलीको रचनामा भेटिन्छ । ११औं शताब्दीमा इरानी इतिहासकार अबुल–फजल बेयहाकीले आफ्नो पुस्तक तारिख–ए–बेयहाकी मा ‘सम्बोसा’को उल्लेख गरेका छन् ।
त्यतिबेला यो राजदरबारमा मासु, सुकेका फलफूल र नट्सले भरिएको पेस्ट्रीको रूपमा सेवा गरिन्थ्यो । यो मुख्य रूपमा यात्रु र व्यापारीहरूले बोक्न सजिलो हुने, लामो समयसम्म टिक्ने खानेकुराको रूपमा विकसित भएको थियो ।
सिल्क रोड को व्यापारिक मार्ग हुँदै यो परिकार विभिन्न देशमा फैलियो । मध्य एशियाली ‘सम्सा’ अरबी ‘सम्बुसक’ टर्की ‘सोम्सा’ जस्ता नामबाट यो चिनिन्थ्यो ।
भारतीय उपमहाद्वीपमा प्रवेश र रूपान्तरण
१३औं–१४औं शताब्दीमा दिल्ली सल्तनतको समयमा मध्यपूर्वी र मध्य एशियाली व्यापारी तथा शेफहरूको आगमनसँगै समोसा भारतीय उपमहाद्वीप भित्रियो । अमीर खुसरो जस्ता विद्वानहरूले पनि यसको उल्लेख गरेका छन्। मुगल साम्राज्यको समयमा यो राजदरबारको प्रिय स्न्याक बन्यो ।
भारतमा आएपछि समोसाले ठूलो रूपान्तरण गर्यो। यहाँको शाकाहारी परम्परा र स्थानीय मसालाहरूले यसलाई नयाँ स्वाद दियो। आलु, मटर, प्याज, जीरा, धनिया, बेसार जस्ता सामग्रीले भरिने चलन सुरु भयो। ब्रिटिश कालमा आलुको व्यापक प्रयोगले समोसालाई अझ लोकप्रिय बनायो।
नेपालमा यो परिकार भारत हुँदै भित्रिएको मानिन्छ। यहाँ पनि चिया पसलदेखि सडक किनारसम्म समोसा चटनीसँगको अपराजेय जोडी बनेको छ।
सांस्कृतिक र आर्थिक महत्व
समोसा केवल खानेकुरा मात्र होइन, यो सांस्कृतिक पुल हो। यसले विभिन्न जाति, धर्म र वर्गका मानिसहरूलाई एकै ठाउँमा ल्याउँछ। मुस्लिम, हिन्दू, शिख सबैले समान रूपमा रमाउँछन्।
आर्थिक रूपमा पनि यो महत्वपूर्ण छ। सानो लगानीमा सुरु गर्न सकिने व्यवसाय हो। नेपाल र भारतमा लाखौं मानिसहरू समोसा बेचेर आफ्नो परिवार पालिरहेका छन्।
स्वास्थ्य पक्षस् परम्परागत रूपमा तेलमा तारिने भएकाले उच्च क्यालोरी हुन्छ। त्यती स्वस्थ्यकर खाना मानिदैन । तर कहिले काहीँ स्वाद फेर्न समोसा खान सकिन्छ ।
समोसाको कथा सभ्यताको यात्रा हो – व्यापारिक मार्ग को व्यापार, साम्राज्यहरूको उदय–पतन, संस्कृतिहरूको मिश्रण र मानव स्वादको उत्कृष्टता । मध्यपूर्वको राजदरबारबाट सुरु भएको यो परिकार आज सर्वप्रिय स्वाद बनेको छ ।
प्रतिक्रिया 4