News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा ९.४९ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
- सरकारी वाणिज्य बैंकहरूमा निक्षेप र कर्जा वृद्धि भएका कारण सार्वजनिक संस्थानको कुल सम्पत्ति र दायित्व बढेको अर्थ मन्त्रालयले जनाएको छ ।
- गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको सञ्चित नाफा २१.५१ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
१३ जेठ, काठमाडौं । एक वर्षको अवधिमा सार्वजनिक संस्थानको कुल सम्पत्ति करिब पौने ३ खर्ब बढेको छ । सरकारी स्वामित्वमा रहेका बैंकहरूको निक्षेप तथा कर्जा बढेपछि सम्पत्ति र दायित्व बढेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ सम्म संस्थाहरूको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब पुगेको हो । यो सम्पत्ति अघिल्लो आव २०८०/८१ को तुलनामा ९.४९ प्रतिशत बढेको हो । अघिल्लो आव २०८०/८१ सम्म संस्थानहरूको कुल सम्पत्ति २९ खर्ब २८ अर्ब थियो ।
गत आर्थिक वर्षसम्म कायम संस्थानको सम्पत्ति सोही वर्षको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५१.७३ प्रतिशत बराबर हो । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब थियो ।
कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक संस्थानको कुल सम्पत्तिको अनुपात र विश्व अर्थतन्त्रमा सार्वजनिक संस्थानका सम्पत्ति अनुपात लगभग समान रहेको अर्थ मन्त्रालयले जनाएको छ । सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि हुनुको एउटा मूल कारण सरकारी वाणिज्य बैंकमा निक्षेप उल्लेख्य वृद्धि रहेको मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको स्थिर सम्पत्ति करिब ५७ अर्ब बढेको छ । संस्थानको वर्षिक स्थिति समीक्षाअनुसार स्थिर सम्पत्ति ४.४३ प्रतिशतले वृद्धि भई १३ खर्ब ५० अर्ब ९० करोड ८३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ सम्म संस्थानहरूको स्थिर सम्पत्ति १२ खर्ब ९३ अर्ब रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा चालु सम्पत्ति भने ३.५२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षसम्म संस्थानहरूको चालु सम्पत्ति ३ खर्ब ७७ अर्ब ११ करोड १८ लाख कायम भएको छ । त्यसैगरी लगानी ३२.६ प्रतिशतले वृद्धि भई २ खर्ब ७९ अर्ब ८० करोड पुगेको छ । गत आर्थिक वर्ष कर्जा लगानी ११.७९ प्रतिशतले वृद्धि भएको छ भने नगद तथा बैंक मौज्दात ३२.३९ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
पूँजी तथा दायित्वतर्फ संस्थानको कुल चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २.३८ प्रतिशतले वृद्धि भई ४ खर्ब २८ अर्ब ३३ करोड ८३ लाख पुगेको छ ।
सेयर लगानी वापतको अग्रिम भुक्तानी गत आर्थिक वर्षमा २.१६ प्रतिशतले वृद्धि भई ९ अर्ब ४६ करोड पुगेको छ । सो अवधिमा संस्थानहरूको सञ्चित नाफा २१.५१ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब ४५ करोड पुगेको छ ।
मध्यम तथा दीर्घकालीन ऋण आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा १४.२८ प्रतिशतले वृद्धि भएको छ भने अल्पकालीन तथा चालु दायित्व र निक्षेपमा १०.९२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी यी संस्थानमा गत आर्थिक वर्षमा लगानी ३२.६ प्रतिशतले वृद्धि भई २ खर्ब ७९ अर्ब ८० करोड पुगेको छ । कर्जा लगानी ११.७९ प्रतिशतले वृद्धि भएको छ भने नगद तथा बैंक मौज्दात ३२.३९ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा समग्र संस्थानको चुक्ता पूँजी, कुल सम्पत्ति र नगद तथा बैंक मौज्दातमा वृद्धि भएको छ भने चालु सम्पत्ति घटेको छ । यसरी सार्वजनिक संस्थानको एकीकृत वासलात सूचक भने सकारात्मक नै देखिन्छ ।
प्रतिक्रिया 4