१४ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी ८ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।
ऐन संशोधन गर्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको भागबन्डाका आधारमा बोर्डका पदाधिकारी र सदस्य नियुक्त गरिएको हो ।
तत्कालीन सदस्यसचिव पर्शुराम बस्नेतको पदावधि सकिएपछि बोर्ड नेतृत्वविहीन बन्दा प्रदेशका खेलकुद गतिविधि सुस्त थियो ।
बुधबार राति सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बोर्डमा दुई उपाध्यक्ष र सदस्यसचिवसहित ११ जना सदस्य नियुक्त गरे । नियुक्ति गर्दा एक जना उपाध्यक्ष र सदस्यसहित सचिव एमालेबाट ५ सदस्य नियुक्त भए । कांग्रेसबाट उपाध्यक्षसहित ६ जनाले नियुक्ति पाए ।
दुई दलबीच भागबण्डाका लागि ३० वैशाखमा प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश–२०८१ जारी गरिएको थियो । ऐनमा उपाध्यक्ष र सदस्यसचिवसहित सदस्यको संख्या १५ जना रहने व्यवस्था थियो । अध्यादेशमार्फत संशोधन गरी एक जना उपाध्यक्ष थपिएको थियो । सदस्यको संख्या २५ पुर्याइएको थियो ।
बोर्डको सदस्यसचिवमा एमाले कोटामा इनरुवाका विप्लव घोष नियुक्त भएका छन् । महिला उपाध्यक्षमा एमाले नेतृ विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भइन् ।
पुरुष उपाध्यक्ष भने नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेस कोटामा पूर्वखेलाडी वसन्त अर्याल उपाध्यक्ष नियुक्त भएका छन् ।
बोर्डको सदस्यमा विराटनगरकी बीना बस्नेत, केशव भट्टराई र किशोरविक्रम साह, टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन् । पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ ।
प्रतिक्रिया 4