+
+
Shares

किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल

‘किसानको मुस्कानमा राष्ट्रको खुुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ । तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १४:०१

१५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले किसानको मुस्कानमा राष्ट्र खुसी हुने बताएका हुन् ।

‘किसानको मुस्कानमा राष्ट्रको खुुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ ।’

मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाकारुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

‘यसको लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ’, राष्ट्रपति पौडेलले भने ।

उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।

‘युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ,’ उनले भने, ‘यसको लागि कृषकको सम्मान, कृषि पेशाको संरक्षण तथा आधुनिकिकरण आजको आवश्यकता हो ।’

राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका संवाहक कृषकहरूलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ छ । ‘कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु’,राष्ट्रपति पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?