News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका छन् ।
- प्रस्तुत बजेटले मधेश प्रदेशका पूर्वाधार, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन तथा खानेपानी क्षेत्रका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखेको छ ।
- बजेटमा जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने र तराईमा आर्सेनिक मुक्त अभियान सञ्चालन गर्ने उल्लेख छ ।
१५ जेठ, सिरहा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटले मधेश प्रदेशका पूर्वाधार, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन तथा खानेपानीलाई प्राथमिकतामा राखिएको छ । मधेशका जिल्लामा रेल, रंगशाला, अस्पताल, सिँचाइ तथा पर्यटन प्रवर्द्धनका योजनालाई उच्च प्राथमिकतामा राखिएको मन्त्री वाग्लेले बताए ।
सरकारले बर्दिबास–काठमाडौं द्रुतमार्ग जोड्ने रेलमार्ग विस्तारको काम अघि बढाउने घोषणा गरेको छ । निर्माणाधीन बर्दिबास–विराटनगर रेलमार्गका लागि बजेट सुनिश्चित गरिएको छ भने जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्नसमेत आवश्यक बजेट विनियोजन गरिएको छ ।
खेलकुद पूर्वाधारतर्फ सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । मधेश प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार निर्माण गरिने भएको छ ।
आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने बजेटमा उल्लेख छ ।
त्यसैगरी विराटनगर, लहान, काठमाडौं, पोखरा, सुर्खेत तथा धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमता भएका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने सरकारको घोषणा छ । प्रमुख ८ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य पनि बजेटमा समेटिएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ मधेश प्रदेशस्थित नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइने भएको छ ।
मधेश प्रदेशमै मिर्गौला रोग उपचार केन्द्र तथा ट्रमा सेन्टर निर्माण सुरु गरिने सरकारले जनाएको छ । साथै सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने घोषणा पनि गरिएको छ ।
कृषितर्फ सिरहा–सप्तरीको आँप तथा सर्लाहीको गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । सतह सिँचाइ नपुगेका तराई–मधेशका ३ हजार ९८० हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिँचाइ सेवा विस्तार गर्न १ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सर्लाही र धनुषामा स्मार्ट प्रविधिमार्फत भूमिगत सिँचाइ सेवा विस्तार गरिने जनाइएको छ ।
तराई–मधेशको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण, पोखरी निर्माण, पहिरो नियन्त्रण तथा तटबन्ध निर्माणका कार्यक्रम सञ्चालन गर्न करिब १ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
खानेपानीतर्फ सुख्खा याममा हुने चरम अभाव समाधान गर्न सामुदायिक स्तरमा डिप बोरिङसहित खानेपानी आयोजना विस्तार गरिने जनाइएको छ । ‘आर्सेनिक मुक्त तराई अभियान’ सञ्चालन गरिने सरकारले जनाएको छ । अधुरा रहेका २८० वटा खानेपानी आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पर्यटन तथा सांस्कृतिक क्षेत्रतर्फ जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइने भएको छ । जनकपुरलाई ‘विवाह गन्तव्य’ का रूपमा विकास तथा ब्रान्डिङ गरिने सरकारको योजना छ । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागिसमेत बजेट छुट्याइएको अर्थमन्त्री वाग्लेले बताए ।
यस्तै, सप्तरीको सखडा, धनुषाधाम तथा गढीमाई क्षेत्रलाई प्रादेशिक करिडोरका रूपमा विकास गरिने बजेटमा उल्लेख छ । मधेशका दलित तथा विपन्न बस्तीलाई लक्षित गर्दै नमुना होमस्टे सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।
प्रतिक्रिया 4