News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक विधेयकमार्फत बिजुली र राइड सेयरिङ सेवामा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर तोक्दै पहिलोपटक भ्याटमा बहुदर प्रणाली शुरू गरेको छ ।
- नयाँ व्यवस्थाअनुसार ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने ग्राहक र राइड सेयरिङ सेवा प्रयोगकर्ताले पाँच प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ ।
- करविज्ञहरूले भने पूर्ण रूपमा विद्युतीय प्रणाली नभएको अवस्थामा बहुदर प्रणाली कार्यान्वयन गर्दा कर असुलीमा थप जटिलता आउने बताएका छन् ।
१५ जेठ, काठमाडौं । सरकारले यसै वर्षबाट मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदरको कार्यान्वयन सुरु गरेको छ । सरकारले आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐनमा संशोधन गरी बिजुली र राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर लाग्ने घोषणा गरेका थिए । त्यसअनुसार मूल्य अभिवृद्धि कर ऐनको दफा ७ को उपदफा १ पछि उपदफा (१क) र (१ख) थप गरी भ्याटमा दोहोरो कर सुरुआत गरेको हो ।
जबकि, अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने दोहोरो दरको भ्याटबारे अध्ययन गर्ने घोषणा गरेका थिए । सो घोषणाविपरीत उनले आर्थिक विधेयकमार्फत् भ्याटमा बहुदर सुरु नै गरेका हुन् ।
थपिएको (१क) मा ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) बमोजिम करको दरमा नबढ्ने गरी बहुदर कायम गर्न र सो बमोजिम कर लाग्ने वस्तु तथा सेवा तोक्न सक्नेछ,’ भन्ने उल्लेख छ ।
त्यति मात्रै होइन, सोही दफाको उपदफा १ख मा राइड सेयरिङ र विद्युत् सेवामा पाँच प्रतिको मूल्य अभिवृद्धि कर लागू हुने उल्लेख छ ।
‘बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर )बाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले कर लाग्ने मूल्यमा पाँच प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नु पर्नेछ,’ सो उपदफा १ख मा उल्लेख छ ।

यसअघि मूल्य अभिवृद्धि कर लाग्ने सबै वस्तु तथा सेवामा १३ प्रतिशतका दरले भ्याट लाग्दै आएकोमा अर्थमन्त्री स्वर्णिम वाग्लेले पहिलोपटक दोहोरो कर सुरु गरेका हुन् । २०५४ मा भ्याट लाग्दा १० प्रतिशत दर रहेकोमा २०६१ बाट यसलाई बढाएर १३ प्रतिशत पुर्याइएको थियो ।
भ्याट शुरु भएको तीन दशकपछि सरकारले दोहोरो दरमा भ्याट सुरु गरेको हो ।
कर विज्ञहरुले भने दोहोरो दरमा भ्याट लगाउनुलाई गलत भनेका छन् । ‘नेपालको परिवेशमा दोहोरो दर लागु गर्दा त्यो प्रत्युत्पादक हुनसक्छ । यसले कर क्रेडिटदेखि करफिर्तासम्म हाम्रो कर कार्यान्वयनमा धेरै नै जटिलता ल्याउँछ,’ वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले भने ।
अन्तिम उपभोक्तालाई विद्युत् बेच्दा मात्रै भ्याट संकलन गर्ने बजेटको व्यवस्थाका कारण विद्युत् प्राधिकरणले उत्पादकसँग विद्युत् खरिद गर्दा भ्याट तिर्नु नपर्ने तर उपभोक्तासँग मात्रै उठाउने परिस्थिति सिजना भएको उनले बताए । ‘यसरी इन्पुटमा कर नलाग्ने कारणले गर्दा सरकारले लगाएको ५ प्रतिशत कर पूर्ण रुपमा उपभोक्ताको मूल्यमा थपिन्छ,’ उनले भने ।
छिमेकी देश भारतमै भ्याटका धेरै दरहरु लागु गरिएकोमा त्यस्ता स्लाब घटाउँदा सकारात्मक असर परेको उनले बताए । पूर्णरुपमा विद्युतीय प्रणालीमा गइसकेको अवस्थामा मात्रै त्यसबेला मात्रै दोहोरो दरको भ्याट उचित हुने उनी बताउँछन् ।
‘अहिले हामी म्यानुअल एकाउन्टिङको कुरा गरिरहेका छौं, थ्रेसहोल्डको कुरा गरिरहेका छौं, त्यस्तो अवस्थामा दोहोरो दर प्रयोग गर्नु प्रत्युत्पादक हुनसक्छ ।’
प्रतिक्रिया 4