+
+
Shares

विद्युतीय गाडीमा फेरिएको कर संरचनाले मूल्यमा कति पार्छ फरक ?

सरकारले सबै मूल्यका ईभीमा २० प्रतिशत भन्सार तोकेको छ । २.५० प्रतिशतदेखि १ सय ३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क घोषणा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नयाँ बजेटमार्फत विद्युतीय गाडीमा ब्याट्री क्षमताका आधारमा नभई भन्सार मूल्यलाई आधार मानेर कर निर्धारण गर्ने व्यवस्था गरेको छ ।
  • नयाँ व्यवस्था अनुसार सबै विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र मूल्यका आधारमा २.५० देखि १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने छ ।
  • यस नयाँ कर प्रणालीका कारण ५० लाख रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय गाडीमा कुल करको दर २२७ प्रतिशतसम्म पुगेको छ ।

१७ जेठ, काठमाडौं । सरकारले विद्युतीय गाडी (ईभी) मा परिवर्तन गरेको कर संरचनाले साविकको मूल्यमा सामान्य फेरबदल हुने भएको छ ।

सरकारले यसअघि ब्याट्री तथा इन्जिन क्षमताका आधारमा भन्सार महसुल सहित सरकारले कर असुल गर्दै आएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ईभीमा अब भन्सार मूल्य आधार मानेर कर निर्धारण गर्ने गरी बजेट ल्याएका छन् ।

सरकारले सबै मूल्यका ईभीमा २० प्रतिशत भन्सार तोकेको छ । २.५० प्रतिशतदेखि १ सय ३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क घोषणा गरिएको छ ।

यसबाहेक समान ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) कायमै छ । सरकारले ईभीमा यसअघि लाग्दै आएको अन्त:शुल्क झिकेर नयाँ कर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको हो ।

यसबाट ३ सय किलोवाटभन्दा माथि क्षमताका विद्युतीय कारमा सरकारले लिने कर कुल २ सय २७ प्रतिशत बराबर पुगेको छ । अर्थात्, ५० लाख भन्सार मूल्यको विद्युतीय सवारी किन्दा अब उपभोक्ताले २ सय २७ प्रतिशत कर राज्यलाई बुझाउनुपर्छ ।

अटोमोबाइल व्यवसायीका अनुसार यसअघि सबैभन्दा माथिल्लो तहको कर संरचना विद्युतीय कार किन्दा मूल्यमा अधिकतम २ सय २० प्रतिशत बराबर कर लाग्ने गरेको छ । यस अनुसार नयाँ कर संरचना अनुसार मूल्य ७ प्रतिशत बिन्दुले बढ्ने देखिएको छ ।

साविकको कर संरचना अनुसार ईभीमा सरकारले ३ सय किलोवाटभन्दा माथि भन्सार महसुल ८० प्रतिशत तोकिएको थियो । त्यसमा अन्त:शुल्क ५० प्रतिशत थियो । सडक विकास शूल्क ५ प्रतिशत र १३ प्रतिशत भ्याटसमेत सोही संरचनामा समावेश थियो । सोही अनुसार साविकमा ३ सय किलोवाट माथिको गाडी खरिदमा अधिकतम २ सय २९ प्रतिशतसम्म कर लाग्ने गरेको थियो ।

कार, जिपतर्फ यस वर्ष सरकारले सबैभन्दा कम २० लाखसम्मको मूल्यमा कर निर्धारण गरेको छ । यी मूल्यका कारमा अधिकतमा ४६ प्रतिशतसम्म मात्र कर लाग्ने छ । किनकि, समान २० प्रतिशत भन्सार महसुल सबै मूल्यका कारणमा राखिएको छ ।

तर, स्वच्छ पूर्वाधार लगानी शुल्क भने उक्त तहको मूल्यका गाडीमा २.५० प्रतिशतमात्र लाग्ने छ । यसबाहेक ५ प्रतिशत सडक विकास दस्तुर र १३ प्रतिशत भ्याट जोडिन्छ । यसअघि सबैभन्दा तल्लो तहको कर संरचनामा समावेश ५० किलोवाटसम्मको विद्युतीय गाडीमा ४३ प्रतिशत बराबर कर लाग्ने गरेको थियो ।

साविकमा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्त:शुल्क, ५ प्रतिशत सडक विकास दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने गरेको थियो ।

विद्युतीय कारमा लाग्ने करको तुलनात्मक विवरण

पुरानो कर संरचना अनुसार (प्रतिशत)

क्षमता भन्सार अन्तशूल्क सडक दस्तुर भ्याट मूल्यमा वास्तविक असर
५० किलोवाटसम्म १५ ५ ५ १३ ४३
५०–१०० किलोवाटसम्म २० १५ ५ १३ ६४
१००–२०० किलोवाटसम्म ३० २० ५ १३ ८५
२००–३०० किलोवाटसम्म ६० ३५ ५ १३ १५६
३०० किलोवाट माथि ८० ५० ५ १३ २२०

नयाँ कर संरचना अनुसार (प्रतिशत)

मूल्य भन्सार सीआइआइएफ सडक दस्तुर भ्याट मूल्यमा वास्तविक असर
२० लाखसम्म २० २.५० ५ १३ ४६
२०–३० लाखसम्म २० २० ५ १३ ७१
३०–४० लाखसम्म २० ३५ ५ १३ ९२
४०–५० लाखसम्म २० ९० ५ १३ १७१
५० लाख माथि २० १३० ५ १३ २२७

बस र माइक्रोमा के हुन्छ ?

अटोमोबाइल व्यवसायीका अनुसार विद्युतीय बस र माइक्रोमा भने  नयाँ कर संरचनाले मूल्यमा ठूलो अन्तर पार्ने छैन । अब २५ सिट क्षमताभन्दा माथिका ईभी बस र माइक्रोमा कुल १८.७२ प्रतिशत बराबर कर तिर्नुपर्ने छ ।

यसअघि १६.९८ प्रतिशत कर तिरे पुग्ने थियो । यसअघि मिनिबस (१५–२५ सिट) र माइक्रोबस (११–१४ सिट) मा क्रमश: १६.९८ प्रतिशत र २७.४१ प्रतिशत कर तिरे पुग्नेमा अब यी दुई सेग्मेन्ट (११–२५ सिट) का सवारीसाधनका हकमा ३०.५९ प्रतिशत हाराहारी कर लाग्ने छ ।

सरकारले नयाँ कर संरचनामा १० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ शुल्क, २.५० प्रतिशत सडक विकास दस्तुर र १३ प्रतिशत भ्याट लगाउने छ । १० सिटसम्मका सवारीसाधनमा यसअघि ४३.२७ प्रतिशतसम्म रहेको कर नयाँ संरचनामा समेत सोही लागु हुनेछ ।

व्यापारिक प्रयोजनका अन्य ईभीका हकमा दूध बोक्ने ट्यांकरको मूल्य घट्ने भएको छ । साविकमा १ प्रतिशत भन्सार लाग्ने गरेकोमा त्यस्तो महसुल नयाँ बजेटले हटाएको छ । साथै, सडक विकास दस्तुर समेत २.५ प्रतिशतमा झारिएको छ । स्वच्छ शुल्क भने ३ प्रतिशत कायम गरिएको छ । अन्य व्यापारिक प्रयोजनका सवारीको मूल्यमा समेत ठूलो अन्तर पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?