News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र इजरायलको संयुक्त आक्रमणमा निधन भएका इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको तीन महिनापछि औपचारिक अन्तिम संस्कार गर्ने तयारी थालिएको छ ।
- तेहरान, कोम र मशहदमा आयोजना हुने शोक यात्रा र अन्त्येष्टि समारोहमा करीब २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ ।
- खामेनीको मृत्युपछि उनका छोरा आयातोल्लाह मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता चयन भए पनि उनी हालसम्म सार्वजनिक रूपमा देखापरेका छैनन् ।
२० जेठ, काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएका इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको तीन महिनापछि औपचारिक रुपमा अन्तिम संस्कार गर्ने तयारी थालिएको छ ।
उनको गत फेब्रुअरी २८ मा आफ्नै निवासमा भएको हवाई हमलामा परी निधन भएको थियो । इस्लामिक परम्परा अनुसार सामान्यतया मृत्यु भएको केही दिनभित्रै अन्त्येष्टि गरिनुपर्ने भए पनि इरान सरकारले यसलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
मार्च महिनाको सुरुवातमै अधिकारीहरूले दिएको जानकारी अनुसार, देशको विषम परिस्थिति र सम्भावित ठूलो जनसागरलाई व्यवस्थापन गर्न आइपर्ने सुरक्षा तथा प्राविधिक चुनौतीका कारण औपचारिक अन्त्येष्टि ढिलाइ गरिएको हो ।
इरानको सरकारी मिडियाका अनुसार यो औपचारिक अन्त्येष्टि जुन महिनाको मध्यतिर हुने सम्भावना छ, यद्यपि निश्चित मिति र समय भने अझै सार्वजनिक नगरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।
तीन सहरमा शोक यात्राको तयारी
इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै तेहरानका उपमेयर मोहम्मद अमिन ताभाकोली जादेहले शवयात्रासहित ‘सुपर्द–ए–खाक’ (अन्त्येष्टि) गरिने र त्यसको तयारी विभिन्न शहरहरुमा जारी रहेको जानकारी दिएका छन् ।
उनले मंगलबार दिएको जानकारी अनुसार अन्त्येष्टिको कार्यक्रम शोक महिनाको सुरुआत (महुर्रम)मा गरिने छ । चन्द्र पात्रोका आधारमा यो कार्यक्रम मध्य जुनमा पर्नसक्ने बताइएको छ । इस्लामिक पात्रो (हिजरी क्यालेन्डर) चन्द्रमामा आधारित हुन्छ । सो पात्राको वर्षको पहिलो महिना मुहर्रम हो । मुहर्रमलाई शिया मुस्लिम समुदायमा विशेष रूपमा शोकको समय मानिन्छ ।
कतार ट्रिब्युनका अनुसार खामेनेईको शोक यात्रा राजधानी तेहरान, प्रमुख धार्मिक केन्द्र कोम र खामेनीको जन्मस्थान मसादमा निकालिने छ । इस्लामिक परम्परा अनुसार उनको पार्थिव शरीर दफनको कार्यक्रम भने मशहदस्थित प्रमुख धार्मिक केन्द्र इमाम रेजा दरगाहमा हुनेछ ।
यी तीनवटै सहरमा सर्वसाधारणका लागि ठूलो स्तरमा सार्वजनिक सभा तथा प्रार्थना कार्यक्रम आयोजना गरिनेछ । अन्त्येष्टिको सबैभन्दा ठूलो कार्यक्रम राजधानी तेहरानमा आयोजना हुनेछ । तेहरानमा मात्रै मुख्य समारोह कम्तीमा २४ घण्टासम्म निरन्तर चल्ने बताइएको छ ।
२ करोड मानिस भेला हुने अनुमान
ऐतिहासिक र भावनात्मक मानिएको यस अवसरमा राजधानीमा सुरक्षा तथा व्यवस्थापन कायम राख्नु प्रशासनका लागि ठूलो चुनौती बनेको छ ।
नगरपालिकाका अधिकारीहरूको अनुमानअनुसार आफ्ना पूर्व सर्वोच्च नेतालाई अन्तिम श्रद्धाञ्जलि दिन तेहरानमा करिब २ करोड मानिस भेला हुन सक्छन् । यति ठूलो भीडको व्यवस्थापन, आवास तथा सुरक्षाका लागि व्यापक तयारी भइरहेको छ ।
तीन दशकभन्दा बढी समय इरानको सर्वोच्च नेताका रूपमा शासन गरेका खामेनीको ८६ वर्षको उमेरमा मृत्यु भएसँगै इरानको एउटा कालखण्डको अन्त्य भएको थियो ।
उनको मृत्युपछि इरानमा फरक–फरक प्रतिक्रियाहरू देखिएका थिए; कतिपय क्षेत्रमा गहिरो शोक र अविश्वास प्रकट गरिएको थियो भने कतिपय ठाउँमा खुसीयाली समेत मनाइएको रिपोर्टहरू बाहिर आएका थिए ।
खामेनीको मृत्युपछि उनका छोरा आयातोल्लाह मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । तर, पदभार ग्रहण गरेयता उनी अहिलेसम्म सार्वजनिक रूपमा देखापरेका छैनन् । उनी पनि हवाई हमलामा परी गम्भीर रुपमा घाइते भएको बताइन्छ ।
प्रतिक्रिया 4