+
+
Shares

ग्लोबल पासपोर्ट र्‍यांकिङमा नेपाल : बलियो भयो कि अरू कमजोर ?

सरसर्ती हेर्दा नेपालको स्थान १०१ बाट ९७ मा पुगेर सुधार भएको जस्तो देखिन्छ। तर, वास्तविकतामा नेपालले एउटा देशको भिसा-फ्री पहुँच गुमाएको छ। अन्य देशहरू तलमाथि परेका कारण मात्र नेपालको र्‍यांक माथि सरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १३:२२
Photo Credit : AI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ अनुसार नेपालको राहदानी ९७औं स्थानमा उक्लिए पनि भिसाविना यात्रा गर्न मिल्ने देशको सङ्ख्या ३५ मा खुम्चिएको छ।
  • नेपाल र उत्तर कोरिया ३५ देशको भिसाविना पहुँचसहित संयुक्त रूपमा विश्वको ९७औं स्थानमा रहेका छन्।
  • यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको राहदानी विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ, जसका नागरिकले १९२ देशमा भिसाविना पहुँच पाएका छन्।

२१ जेठ, काठमाडौं । नागरिकदेखि नेताहरूसम्म, नेपालको कमजोर पासपोर्टका कारण विदेशका अध्यागमनहरूमा दुःख पाएका कुरा गरिरहन्छन् । भिसा पाउन नसक्दा सर्वसाधारण मात्र होइन, नेता, कलाकार हुँदै खेलाडीसम्मले यात्रा रोक्नुपरेका खबर पनि हामीले सुन्ने गरेका छौं ।

विगत २० वर्षदेखि संसारका १९९ पासपोर्ट र २२७ गन्तव्यहरूको जानकारी दिंदै आएको हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनअनुसार नेपालले गत वर्षभन्दा ४ स्थान माथि उक्लिएर आफ्नो ग्लोबल र्‍यांकिङमा सुधार गरेको छ तर, विश्वव्यापी पहुँचको अवस्थामा भने एक स्थान गुमाएको छ ।

गत वर्षसम्म नेपालले विश्वका ३६ देशहरूमा बिना भिसा र अनअराइभल भिसा लिएर यात्रा गर्न सक्थ्यो भने यो वर्ष नेपालले एक देश गुमाएर केवल ३५ देशहरूमा यस्तो पहुँच खुम्च्याएको छ ।

गत वर्ष (सन् २०२५ मा) ३६ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालले यस वर्षको सूचीमा केही सुधार गरेको हो। सन् २०२६ को इन्डेक्समा नेपाल ९७औं स्थानमा उक्लिएको हो।

यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) पहुँच पाएका छन्।

त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्।

नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा-फ्री स्कोर ३५ रहेको छ।

नेपालको प्रगति कि अवनति ?

उत्तर कोरियालाई विश्वकै सबैभन्दा बन्द र एक्लिएको देश मानिन्छ। शान्तिपूर्ण र खुला लोकतान्त्रिक देश भएर पनि नेपालको पासपोर्टको शक्ति उत्तर कोरियाकै स्तरमा खुम्चिनु नेपाली कूटनीतिको कमजोरी देखाउने एउटा शक्तिशाली चित्र बनेको छ ।

अघिल्लो वर्ष नेपाल १०१औं स्थानमा थियो र ३६ देशमा अनअराइभल/भिसा-फ्री पहुँच थियो। यस वर्ष नेपाल ९७औं स्थानमा उक्लिएको छ। तर, भिसाविना पहुँच पाइने देशको सङ्ख्या भने ३६ बाट घटेर ३५ पुगेको छ।

सरसर्ती हेर्दा नेपालको स्थान १०१ बाट ९७ मा पुगेर सुधार भएको जस्तो देखिन्छ। तर, वास्तविकतामा नेपालले एउटा देशको भिसा-फ्री पहुँच गुमाएको छ। अन्य देशहरू तलमाथि परेका कारण मात्र नेपालको र्‍याङ्क माथि सरेको हो ।

दक्षिण एसियामा नेपाल

दक्षिण एसियाली राष्ट्रहरूमध्ये माल्दिभ्स ९२ देशमा पहुँचसहित ५०औं र भारत ५७ देशमा पहुँचसहित ७८औं स्थानमा रहेका छन्।

त्यसपछि भुटान ८७औं (४७ देश), श्रीलंका ९४औं (३९ देश) र बंगलादेश ९६औं (३६ देश) स्थानमा छन्। नेपाल ९७औं (३५ देश) स्थानमा छ भने नेपालभन्दा तल पाकिस्तान १००औं (३० देश) र अफगानिस्तान १०३औं (२३ देश) स्थानमा मात्र छन्।

सार्क राष्ट्रहरूको तुलनात्मक अवस्था हेर्दा नेपालको अवस्था दयनीय छ। आर्थिक र राजनीतिक सङ्कट भोगेका श्रीलंका र बंगलादेशको पासपोर्ट समेत नेपालको भन्दा बलियो हुनुले नेपालको अन्तर्राष्ट्रिय साखमा प्रश्न खडा गरेको छ ।

युद्धग्रस्त र संकटग्रस्त देशहरूकै हाराहारीमा नेपाल

नेपालभन्दा लगत्तै तल सोमालिया ३२ देशमा पहुँचसहित ९८औं, ३१ देशमा पहुँचसहित यमन ९९औं, २९ देशमा पहुँचसहित इराक १०१औं र २६ देशमा पहुँचसहित सिरिया १०२औं स्थानमा रहेका छन्।

नेपाल दशकौँदेखि शान्तिपूर्ण देश हो। तर, राहदानीको शक्तिको हिसाबले नेपाल अझै पनि चरम गृहयुद्ध, आतङ्कवाद र अस्थिरता भोगेका देशहरूकै लहरमा उभिएको देखिन्छ ।

छिमेकीहरूको कूटनीतिक फड्को

भारतले ५७ देशमा भिसा-फ्री पहुँचसहित ७८औं स्थान ओगटेको छ। त्यसैगरी, चीन ८२ देशमा पहुँचसहित ५६औं स्थानमा छ। गत वर्ष चीन ६४औं स्थानमा थियो।

यसरी हाम्रा दुई ठूला छिमेकी राष्ट्रहरूले विश्वव्यापी रूपमा आफ्नो राहदानीको पहुँच विस्तार गरिरहँदा नेपाल खुम्चिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?