+
+
Shares

सधैँ यौन वस्तु ठानिनेहरू …

पुरुषको मनोरञ्जन र चाहना पूर्तिको साधन बनाइएका महिलाहरूलाई समाजले कसरी बाँचुन्जेल यौन वस्तु र मरेपछि पर्यटकीय उपभोग्य वस्तु बनाउँछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्- अलास्काका ऐतिहासिक कोठीहरू ।

अमृता लम्साल अमृता लम्साल
२०८३ जेठ २१ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राज्य अलास्काको स्क्यागवेमा क्लोनडाइक गोल्ड रशकालीन 'द वर्ल्ड फेमस हिस्टोरिक ब्रदल म्युजियम'लाई पर्यटकीय सङ्ग्रहालयका रूपमा संरक्षण गरिएको छ।
  • सन् १८९६ देखि १९०० सम्म सञ्चालित सो कोठीमा यौनकर्मी महिलाले गर्भनिरोधका लागि लाइजोल प्रयोग गर्दा धेरैको ज्यान गएको इतिहास छ।
  • अलास्काकै केचिकनस्थित 'डलीज हाउस' जस्ता ऐतिहासिक कोठीहरूलाई पनि अहिले पर्यटक आकर्षित गरी आम्दानी गर्ने माध्यम बनाइएको छ।

मानिसहरूलाई के कुरा महत्त्वपूर्ण हुन्छ र के कुराको संरक्षण गर्न मन लाग्छ भन्ने कुरा पनि अचम्मै छ।

केही वर्ष अगाडि मेक्सिकोको सान मिगेल डे कोजुमेल आइल्याण्डको ‘सान गेर्भासियो आर्कियोलोजिकल साइट’मा पुग्दा देखेका पुरातात्त्विक महत्त्वका भग्नावशेषहरूमध्ये एउटा भग्नावशेष, नेपालमा पानीका लागि खनिएका इनारजस्तै देखेर गाइडसँग सोधेकी थिएँ।

गाइडले दिएको जवाफ सुनेर आङ सिरिङ्ग मात्रै भएन, महिलाहरू के-केमा मात्रै प्रयोग हुँदा रहेछन् भनेर कति दिनसम्म मनमस्तिष्कले सोचिरह्यो। त्यो इनारजस्तो ठाउँमा पानी नपरेमा पानी पार्न र धेरै पानी परेमा पानी रोक्न, युवतीहरूलाई बलि दिने गरिन्थ्यो रे !

यात्रामा हिँड्दा त्यस्ता अनेक अचम्मलाग्ने, उदेकलाग्ने, कहालीलाग्ने र सोच्न बाध्य पार्ने विषयहरू भेटिन्छन्। त्यसैले भनिएको होला, यात्रा गर्नु भनेको सिङ्गो किताब पढेर ज्ञान पाउनुभन्दा बढी हो। यसपालि अर्को यात्रामा भेटिएको महिला (युवती) हरूसँग नै सरोकार राख्ने इतिहासको चर्चा यहाँ गर्दै छु।

अमेरिकी राज्य अलास्काको सौन्दर्यले कहिले त्यहाँ पुग्न पाइएला भनेर मनैमन कल्पनाको संसारमा रमाउँदा रमाउँदै एकदिन समयले त्यहाँ पुर्‍यायो, त्यो पनि चाहेकै जसरी क्रुजको माध्यमबाट।

क्रुज लामो नै थियो, १५ दिनको। छोटो-छोटो क्रुजमा रमाउनेहरूका लागि त्यो समय अलि धेरै नै हो भन्ने पनि लाग्न सक्छ। त्यसमा पनि, पानीमा तैरेको तैर्‍यै गर्दा पट्यार लाग्छ वा ‘मोसन सिकनेस’ हुन सक्छ भनेर सोच्नेहरूलाई सजिलो हुँदैन होला।

जहाज केही दिनको अन्तरालमा कतै न कतै रोक्छ, जमिन छुने र जमिनमा टेक्ने त्यस्तै समयमा मात्रै हो। त्यो पनि, रोकेका स्थानहरूमा घुम्न जान वा केही कार्यक्रम छ भने त्यसमा भाग लिन पनि अतिरिक्त शुल्क बुझाउनुपर्दछ।

अलास्कामा क्रुजसिपहरू प्रायः करिब पाँच महिना (मे महिनाको सुरुदेखि सेप्टेम्बरको अन्तिमसम्म मात्रै) चल्छन्। कुनै-कुनैले मात्रै अप्रिलको अन्तिमदेखि अक्टोबरको सुरुसम्म चलाउँछन्।

हामी चढेको क्रुजसिपले एक दिन हामीलाई अलास्काको स्क्यागवे भन्ने ठाउँमा पुर्‍यायो। सुन्दर र सानो सहर, केवल पर्यटकहरूको भिड। जहाजबाट ओर्लिएर मानिसहरू यताउति घुम्न र हेर्न थाले, कोही किनमेल गर्न पसलभित्र छिरे।

केही पर्यटकहरू विश्व प्रसिद्ध भनिएको ‘द वर्ल्ड फेमस हिस्टोरिक ब्रदल म्युजियम एण्ड सलोन’ मा पसे। हामी पनि उत्सुकतावश त्यहाँ के, कस्तो रहेछ भनेर हेर्न छिर्‍यौँ।

‘क्लोनडाइक गोल्ड रश’ (सन् १८९६ देखि १८९८ सम्मको समय) एकदम उचाइमा पुगेको बेला, स्क्यागवेमा केही महिलाहरू (जसलाई ‘म्याडम’ भनिन्थ्यो), उनीहरूले त्यहाँ काम गर्न जाने पुरुषहरूका लागि ‘ब्रदल’ (कोठी) चलाएका रहेछन्।

स्मरणीय छ, सन् १८९६ अगस्ट १६ मा उत्तरी क्यानडाको युकोनस्थित क्लोनडाइक क्षेत्रमा सुनखानी फेला परेको खबर अमेरिकाको सियाटल र सान फ्रान्सिस्को पुगेपछि, दक्षिणपूर्वी अलास्काको डिया र स्क्यागवेको बाटो हुँदै ठुलो सङ्ख्यामा मानिसहरू सुनखानी उत्खनन गर्न बसाइँ नै सरेरसमेत त्यहाँ पुगेका थिए ।

जब पुरुषहरू त्यता पुगे, तब पुरुषहरूको यौन चाहना परिपूर्ति गर्न कोठी सुरु गरियो। इतिहास साक्षी छ, पुरुषहरूको मनोरञ्जन र चाहनास्वरूप महिलाहरूलाई विश्वका थुप्रै देशहरूमा यौन श्रमिकको रूपमा प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये कतिपयलाई जबर्जस्ती उक्त क्षेत्रमा धकेलिएको देखिन्छ भने, केही आफैँ राजीखुसीले उक्त कार्यमा सरिक भएको पनि देखिन्छ।

घुम्ने सन्दर्भमा स्क्यागवे पुग्दा, त्यहाँको म्युजियममा भएका प्रदर्शित सामग्री देख्दा र त्यहाँ कार्यरत कामदारको कुरा सुन्दा, यौनकर्मी महिलाहरूले पैसा र सामान लिएर यौनकार्य गर्ने रहेछन्; जुन उनीहरूको जीवनयापन गर्ने बाटो रहेछ।

सन् १८९८ देखि १९०० को सुरुसम्म चलाइएको उक्त कोठीको पहिलो तलामा १० वटा कोठामा साना-साना बिछ्यौना राखिएका रहेछन्। जसलाई ‘क्रिब’ (१० बाई १० साइजको, साँच्चै बच्चा मात्रै अट्नेजस्तो साँघुरो बेन्च ?) भनिन्थ्यो। ती साना कोठाहरूलाई पातलो भेनेस्टाले बारेको हुने रहेछ। पातलो बार भएकाले एउटा कोठामा बोलेको अर्को कोठामा सजिलै सुनिने।

त्यहाँ यौनेच्छा प्राप्तिका लागि जाने ग्राहकहरूलाई जानकारी दिन, तलको बार (रक्सी खाने ठाउँ) मा दस वटा पुतली राखिने रहेछ। ती पुतलीमध्ये कुनैलाई ढलाइएको छ भने ती युवती ग्राहकसँग व्यस्त छन् भन्ने सङ्केत रहेछ र उठेको अवस्थामा छन् भने उनी उपलब्ध भएको ठानिने रहेछ।

क्रिब राखेको त्यति सानो कोठामा पनि दुई या तीनवटा ढोकाहरू राखिने रहेछन्। कारण- यदि ग्राहक आक्रामक या हिंसात्मक भयो भने वा प्रहरीले रेड गर्‍यो भने युवतीहरू भाग्न सकून् र कोठामा भेन्टिलेसनको काम पनि पर्याप्त होस्।

त्यहाँ पुग्दा सबैभन्दा अचम्म लागेको कुरा त, अहिले पनि त्यो बेलाको समयको झल्को दिने परिधानमा सजिएर, ग्राहकलाई प्रभाव पार्ने शैलीमा अभिनय गर्दै उतिबेलाको यौनकार्य र स्थितिबारे बयान गरिँदो रहेछ।

त्यसो गर्ने काममा नियुक्त हुनेहरू चाहिँ अमेरिकाका अन्य राज्यमा पढ्दै गरेका युवतीहरू हुने रहेछन्, जो समर जबका लागि ‘म्याडम’ को अभिनय गर्न त्यहाँ पुग्दा रहेछन्।

एकातिर महिलाले पौडी खेल्दा लगाउने लुगामा अश्लीलता देख्ने पितृसत्तात्मक सोच, अर्कोतिर महिलाको शरीर बेचेर चलाइएका कोठीहरूलाई सङ्ग्रहालय बनाएर डलर कमाउने प्रवृत्ति आफैँमा उदेकलाग्दो छ

यहाँ फेरि गलत कुरा नबुझियोस्, त्यहाँ अहिले यौनकार्य हुँदैन। केवल सो कोठीलाई इतिहासमा जीवन्त राख्न र संरक्षणका लागि निरन्तरता दिने क्रममा, तत्कालीन बोल्ने शैली र भावभङ्गिमामा जीवन्त अभिनय गरिने रहेछ।

जसले यौनकार्यलाई आफ्नो पेसा बनाए, उनीहरू ग्राहकबाट नठगिऊन् भनेर दुईजना मानिस मुस्किलले अट्ने कोठाको एउटा कुनामा ठुलो मुख भएको तामाको ट्युब राखिने रहेछ। त्यहाँ यौनसेवा दिएबापतको पैसा कोठामा ग्राहक पुग्नेबित्तिकै लिएर खसालिने रहेछ। सो पैसा सिधै तलको काउन्टरमा पुग्ने रहेछ। काउन्टरमा पैसा खस्नेबित्तिकै बारटेन्डरले त्यहाँ राखिएको पुतलीलाई घोप्ट्याएर राखिदिने रहेछ।

ती युवतीहरूले १५ मिनेटको पाँच डलर लिने रहेछन्। अनुमान लगाउँदा, जुन रकम त्यसबेला निकै महँगो हुँदो हो ! त्यहाँ ग्राहक र अरू कसैको सामुन्ने नपर्ने ‘कामदार महिला’ लाई ‘भूत लिडिया’ नाम दिइएको रहेछ।

हाल उक्त सलोन भएको म्युजियमलाई सन् १९१४ मा सो भवनमा सारिएको रहेछ र सन् १९८० देखि फेरि खोलिएको रहेछ। उक्त म्युजियममा तत्कालीन युवती, जसलाई ‘गुड टाइम गर्ल्स’ भनेर सम्बोधन गरिन्थ्यो, उनीहरूका लुगा, त्यहाँ आउने ग्राहकले प्रयोग गरेका चुरोटका ठुटादेखि लिएर व्यक्तिगत सामानहरूसमेत प्रदर्शन गरेर राखिएको छ।

एउटा समुदाय वा स्थानीय बासिन्दाहरूले, महिलाहरूलाई प्रयोग गरिने ‘यौन मनोरञ्जन’ को इतिहासलाई पर्यटकहरूबिच प्रदर्शन गरेर पैसा कमाउने भाँडो बनाइरहेका छन् र त्यसमा स्थानीयहरूले असहज मानेको पनि देखिएन। त्यतिबेला मनमा महिलाको शरीरमाथि हुने हिंसाका विषय पनि नआएका होइनन्, तर जे देखियो त्यसमा हामीजस्तो एक दिन पुगेका पर्यटकहरूले के नै भन्न सकिन्छ र !

त्यो म्युजियममा पुग्दा मानसिक रूपमा सबैभन्दा विचलित गराएको विषय थियो- यौनकार्यमा लागेका महिलाहरू गर्भवती नहोऊन् भनेर महिलाहरूको योनीभित्र प्रयोग गरिने ‘लाइजोल’ को डुस। ग्राहकहरूसँग यौनसम्पर्क राखिसकेपछि गर्भनिरोधका लागि लाइजोल हालेर सफा गरिने रहेछ।

सन् १९२० देखि १९६० को दशकसम्म गर्भपतनमा रोक लगाइएको समयमा, त्यसरी लाइजोलबाट योनी पखाल्ने क्रममा भित्र हुने जलनका कारण धेरै महिलाहरूको मृत्युसमेत हुने रहेछ।

पुरुषहरूको यौन तृप्तिका लागि महिलालाई शारीरिक, मानसिक या यौनिक सास्ती दिनु अहिले त सामान्य देखिन्छ भने उतिबेला उनीहरूको स्वास्थ्यको ध्यान कसले दिने !

अलास्कामा कोठी देखेको त्यही मात्रै ठाउँ होइन। केचिकन, अलास्कामा पनि क्रिक स्ट्रिटको छेउमै ‘डलीज हाउस’ नामक अर्को पेसेवर यौनकर्म चलाउने कोठीलाई म्युजियम बनाएर राखिएको देखियो।

त्यहाँ त झन् युवतीहरूले काम गर्नका निमित्त निवेदन नै हाल्नुपर्ने रहेछ, यो सन् १९२० तिरको कुरा हो। डलीज हाउस २४ क्रिक स्ट्रिटमा अवस्थित छ। यो उक्त क्रिक (छहरे खोला) को सबैभन्दा प्रसिद्ध घर हो, जुन एक समय केचिकनकी सबैभन्दा प्रख्यात म्याडम ‘डली आर्थर’ को स्वामित्वमा थियो। आज त्यो घर सो युगमा समर्पित सङ्ग्रहालयको रूपमा सञ्चालनमा छ। यहाँनिर अर्को प्रसङ्ग जोड्न मन लाग्यो ।

माथि उल्लेखित सन्दर्भ सन् १९२० को थियो। तर सन् १९४६ मा महिलाहरूले पौडी खेल्दा लगाउने लुगा ’बिकिनी’ लगाउन खोजेपछि यसलाई “अश्लील” भएको भन्दै व्यापक रूपमा प्रतिबन्ध लगाइएको थियो। सन् १९४० र १९५० को दशकभरि अमेरिका र युरोपका समुद्र तटहरूमा महिलाहरूले आफ्नो नाभि देखाएकोमा जरिवाना गर्ने वा समुद्रतट निरीक्षकहरूद्वारा फिर्ता पठाउने गरेको जानकारी पनि बिकिनीको इतिहासबाट पाइन्छ ।

जब फ्रान्सेली डिजाइनर लुइस रेआर्डले बिकिनी आविष्कार गरे, त्यतिबेला सार्वजनिक स्थलमा महिलाको नाभि देखिनुलाई अश्लीलता मानिन्थ्यो। अमेरिका, इटाली र फ्रान्सजस्ता ठाउँहरूमा महिलाहरूले सार्वजनिक समुद्र तटहरूमा बिकिनी लगाउँदा निरीक्षकहरूले सक्रिय रूपमा जरिवाना गर्थे वा उनीहरूलाई त्यहाँबाट हटाउँथे ।

बिकिनीको आविष्कार हुनुभन्दा दशकौँअघि ‘स्ट्रिक्ट मोडेस्टी लज’ मार्फत महिलाहरूलाई पानीमा मोजासहित पूर्ण रूपमा शरीर ढाक्ने लुगा लगाउन अनिवार्य गरिएको थियो। सन् १९०७ मा अस्ट्रेलियाली पौडीबाज एनेट केलरम्यानलाई बोस्टनमा शरीरमा टाँसिएको स्लिभलेस स्विमसुट लगाएको कारण पक्राउ गरिएको खबरले निकै चर्चा पाएको थियो।

यसबाट पनि के देखिन्छ भने, जब पुरुषहरूलाई इच्छा लाग्छ, ‘कोठी’ जायज र जीवनको आवश्यकता हुन्छ। तर महिलाहरूले चाहेमा, पौडी खेल्ने लुगाले पनि शरीर पूरा ढाकेकै हुनुपर्छ।

फेरि केचिकनस्थित कोठीकै कुरा; हाल म्युजियमको रूपमा संरक्षण गरिएको अर्को कोठीकी सञ्चालिका (अर्कान्सासकी एक अश्वेत महिला) एनी वाटकिन्सले १९२० को दशकमा उक्त संरक्षित घर किनेकी रहिछन्। क्रिकका धेरैजसो म्याडमहरू जस्तै एनी पनि कोठीको आफ्नै हाकिम थिइन्। ती महिलाहरू दृढ इच्छाशक्ति भएका, स्वतन्त्र र व्यापारिक सोच भएका व्यक्तिहरू थिए।

तिनीहरू आफ्नै घरमा बस्थे र समुदायका सक्रिय सदस्य थिए। जब धर्मगुरुहरूले क्रिकलाई यौनकर्मीमुक्त गर्न अभियानहरू सुरु गरे, तब क्रिक स्ट्रिटका महिलाहरूको बचाउका लागि एनीले १९५६ मा ‘केचिकन डेली न्युज’ को सम्पादकलाई पत्र पठाएर प्रतिकार गरिछन्।

पत्रमा लेखिएको रहेछ, “तपाईंले क्रिक स्ट्रिटको चित्र बनाउनुभएको तस्बिर त्यति राम्रो छैन… यदि केही नागरिकहरूले आफ्नै काममा ध्यान दिएमा, सडकमा दौडधुप गर्न बन्द गरेमा र विनाकारण समस्या सिर्जना गर्न नखोजेमा… हामी मानिसहरू शान्तिमा बाँच्न सक्छौँ। हामीसँग पनि आत्मा, हृदय र भावना छ।”

एनीज् प्लेस’

सन् १९५४ मा वेश्यावृत्तिमाथि निषेधाज्ञा पारित भएपछि, एनी पनि केही महिलाहरू जस्तै आफ्नै घरमा बसिन् र प्रशासनको आँखा छलेर यौनकर्मीको पेसामै संलग्न रहिरहिन्। यो उनको व्यवसाय थियो, र नम्बर ४ क्रिक स्ट्रिट उनको घर थियो; उनले कसैसँग कुनै माफी मागिनन्।

एनी १९६६ मा आफ्नो मृत्यु नहुन्जेलसम्म सोही घरमा बसिन्। उनी अहिले आफ्नो अर्कान्सासको जराबाट टाढा रहेको बेभ्यू चिहानमा आराम गरिरहेकी छन्।

माथि उल्लेखित विवरणहरू केलाउँदा लाग्छ, महिलाहरू बाँचुन्जेल मात्रै ‘यौन वस्तु’ या ‘उपभोग्य वस्तु’ को रूपमा प्रयोग गरिने होइन रहेछ; मरेपछि पनि उनीहरूको नाममा बजारीकरण गरेर पैसा कमाउन छाडिँदैन रहेछ। यो आलेखमार्फत त्यही कथा भन्न खोजिएको हो ।

द वर्ल्ड फेमस हिस्टोरिक ब्रदल म्युजियम एण्ड सलोनमा राखिएका तस्वीरहरू :

 

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?