News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा ६ देखि साढे ६ लाख क्रियाशील सदस्यता अद्यावधिक हुने अपेक्षा गरिएको बताएका छन् ।
- थापाका अनुसार २८ जेठसम्म अद्यावधिक कार्य सकिनेछ भने सोमबार साँझसम्म पाँच लाखभन्दा बढीले सदस्यता अद्यावधिक गरिसकेका छन् ।
- पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको थापाले जानकारी दिए ।
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अपेक्षा गरेको संख्यामा क्रियाशील सदस्यता अद्यावधिक हुने बताएका छन् ।
चितवनमा मंगलबार बिहान सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूहरूले अपेक्षा गरेको संख्यामा नै क्रियाशील सदस्यता अद्यावधिक हुने बताएका हुन् ।
‘६–साढे ६ लाख क्रियाशील सदस्यता अद्यावधिक हुन्छ,’ सभापति थापाले भने, ‘त्यो नै अनुमान गरेको, हामीले अपेक्षा गरेको नम्बर हो ।’
उनले यसअघि १५ औं महाधिवेशनका लागि ७ लाख ८० हजार क्रियाशील सदस्यता नवीकरण गरिएको पनि बताए ।
जसमध्ये सोमबारसम्म पाँच लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको सभापति थापाको भनाइ थियो ।
‘नवीकरण गर्दाको संख्या मोटामोटी ७ लाख ८० हजार जति थियो,’ उनले भने, ‘हिजो साँझसम्म हामी बैठक बस्दै गर्दा सदस्यता अद्यावधिक भइसकेको प्रक्रियाबाट र आफैंले अद्यावधिकको लागि आवेदन दिनुभएको सबै जोड्दा पाँच लाख प्लस भइसकेको छ ।’
सभापति थापालाई नवीकरण गरिएकामध्ये झण्डै एक–डेढ लाख सदस्य घट्नुको कारणबारे पनि पत्रकारले जिज्ञासा राखेका थिए ।
जवाफमा उनले भने, ‘जो साथीहरू अधिवेशनको लागि भनेर मात्रै क्रियाशील बन्नुभएको थियो वा बनाइनु भएको थियो । त्यो खालको साथीहरू नेपाली कांग्रेसको क्रियाशील सदस्य बनिराख्ने कुरा नहोस् नै भन्ने हामीले चाहेको हो ।’
कांग्रेसको क्रियाशील सदस्य बन्नको लागि आफैं सहभागी बन्नु पर्ने उनको भनाइ थियो । ‘यो पटक क्रियाशील सदस्यता कोही अर्कोले बनाइदिएर क्रियाशील बन्दैन,’ थापाले भने, ‘म क्रियाशील सदस्य बन्नको लागि म आफैं सहभागी बन्न पर्छ । अहिले हामीले गरेको अद्यावधिकाको होल कुरा भनेको यही नै हो ।’
सभापति थापाले २८ जेठसम्म अद्यावधिकको काम सम्पन्न गरेर केही दिन क्रियाशील सदस्यताको काम गरिने पनि बताए । क्रियाशील सदस्यताको काम सकिएपछि महाधिवेशनको अरू नियमित प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए ।
‘जेठ २८ सम्म क्रियाशील अद्यावधिकाको काम हामी सक्छौं । केही दिन अरू हामी क्रियाशील सदस्यताको काम गर्छौं,’ थापाले भने, ‘काम सकिएपछि महाधिवेशनको अरू नियमित प्रक्रियाहरू अगाडि बढी हाल्छ ।’
सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेका पनि बताए ।
‘अहिले पार्टीका उपसभापति विश्वप्रकाश शर्माले जो–जो नेताहरूसँग कुराकानी गर्नुपर्ने हो, उहाँले कुराकानी गरिराख्नु भएको छ,’ उनले भने, ‘हामी आफ्नो पार्टीको काम पनि अगाडि बढाइरहेका छौं । नेताहरूसँग गर्नुपर्ने संवाद पनि गरिरहेका छौं ।’ थापा चितवन हुँदै गोरखा पुगेका छन् ।
प्रतिक्रिया 4