२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू लगायत कांग्रेसका सबै नेताले सम्पत्ति जाँचबुझ आयोगलाई विवरण बुझाउने बताएका छन् ।
बिहीबार एक कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले हरेक पटकका राजनीतिक आन्दोलनको प्रमुख विषय सार्वजनिक जिम्मेवारीमा बसेकाहरूको निजी सम्पत्तिको विषय भएकाले अहिले यो टुंगिनुपर्ने बताएका हुन् ।
‘नेपाली कांग्रेसको तर्फबाट म पनि, मेरो पार्टीका सबै साथीहरूले आआफ्नो सम्पत्ति विवरण बुझाउनुहुन्छ,’ सभापति थापाले भने, ‘हामी बुझाउँछौं र यो प्रक्रिया टुंगिनुपर्छ भन्ने ठान्छौं ।’
नेपालका हरेक राजनीतिक आन्दोलनको प्रमुख विषय पनि यही मुद्दा हुने गरेको उनले बताए । कांग्रेसको निर्वाचन प्रतीज्ञापत्रमा पनि सरकारको जिम्मेवारी पाए एउटा आयोग सशक्त आयोग बनाएर छानबिन गर्ने विषय उल्लेख भएको उनले बताए ।
‘अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, उहाँहरूले एउटा आयोग बनाउनुभएको छ । यसमा हाम्रो सहयोग हुन्छ,’ सभापति थापाले भने ।
यसबारे बाहिर केही बहस चलिरहे पनि त्यसमा आफ्नो केही टिप्पणी नरहेको उनले बताए ।
‘हामीले बाहिर केही बहसहरू सुनिरहेका छौं, जहाँ केही पूर्वन्यायमूर्तिहरूले हामी विवरण बुझाउँदैनौं भन्नुभएको छ, उहाँहरूको केसमा केही आफ्ना तर्क होलान्,’ उनले अगाडि भने, ‘केही राजनीतिक दलका राजकीय जिम्मेवारी लिएका नेताहरूले पनि हामी विवरण बुझाउँदैनौं भन्नुभएको छ । त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन ।’
आयोगबारे सरकारसँग कांग्रेसका दुई आग्रह रहेको सभापति थापाले बताए । जसमा पहिलो आयोगको निष्पक्षता, स्वच्छता र पारदर्शिता रहेको उनले बताए । ‘यसको फेयरनेस, यसले गर्ने कामको स्वच्छतामा र पारदर्शितामा प्रश्न नआओस् । यसमा यथेष्ट ध्यान पुगेको छैन, पुगोस्,’ उनले भने ।
अर्को सरकारले यत्रो सम्पत्ति छानबिनको काम गर्दैगर्दा अहिले राजनीतिक जिम्मेवारीमा भएका नेताहरू पनि दायरामा अटाउनुपर्ने उनले बताए ।
उनले भने, ‘हामी यसमा सहयोग नै गर्छौं, तर अहिले जिम्मेवारीमा रहेका साथीहरू पनि छानबिनमा अटाउनुपर्छ । हामी पनि तयारै छौं भनेर साथीहरू आइदिनुपर्यो ।’
प्रतिक्रिया 4