२६ जेठ, काठमाडौं । अर्थतन्त्र र भू-राजनीतिमा केन्द्रित रहेर काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुने भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिने सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना तथा दक्षिण एशियामा विकसित हुँदै गएको भू-राजनीतिक परिवेशमा चीनको भूमिकाबारे नेपाली र विदेशी विज्ञहरूबीच प्यालन छलफल हुने सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले जानकारी दिए । विदेशी १६ जना स्कलरहरू पनि सहभागी हुनेछन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सेसिफले बोधि संवादलाई आर्थिक, राजनीतिक तथा भू-राजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्न लागेको जनाएको छ ।
विश्वव्यापी रूपमा शक्ति सन्तुलन, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको अवस्थामा यस्ता विषयहरूको अर्थ, प्रभाव र सम्भावित दिशामाथि गहन विमर्श आवश्यक रहेको आयोजकले जनाएको छ।

चार दिनसम्म चल्ने सम्मेलनमा मंगलबार र बुधबार ‘नेपालको आर्थिक विकासको सम्भावना’ विषयमा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन् भने बिहीबार र शुक्रबार ‘दक्षिण एशियामा भू-राजनीतिक परिवर्तन र चीनको भूमिका’ विषयमा छलफल हुनेछ ।
आर्थिक विकाससम्बन्धी सत्रहरूमा सुशासन, पारदर्शिता, लगानीमैत्री वातावरण, बहुराष्ट्रिय कम्पनीहरूको लगानी चुनौती, ऊर्जा तथा पूर्वाधार विकास, श्रम बजार सुधार, शिक्षा र सीप विकास, डिजिटल रूपान्तरण तथा दीर्घकालीन आर्थिक समृद्धिको मार्गचित्रजस्ता विषयमा बहस हुनेछ। यसका लागि राजनीतिक नेतृत्व, नीति निर्माता, अर्थशास्त्री, निजी क्षेत्रका प्रतिनिधि, विकास साझेदार, अनुसन्धानकर्ता तथा युवा नेतृत्वलाई एकै मञ्चमा ल्याइने आयोजकले जनाएको छ।
त्यसैगरी, दक्षिण एशियाको बदलिँदो भू-राजनीतिक अवस्थाबारे केन्द्रित दोस्रो धारामा चीनको बढ्दो आर्थिक, कूटनीतिक, प्राविधिक तथा रणनीतिक प्रभावको समीक्षा गरिनेछ। दक्षिण एशियाली मुलुकहरूले परिवर्तनशील अन्तर्राष्ट्रिय शक्ति संरचनाबीच आफ्नो राष्ट्रिय हित र रणनीतिक स्वायत्तता कसरी सुनिश्चित गर्न सक्छन् भन्ने विषयमा समेत छलफल हुनेछ ।
प्रतिक्रिया 4